दमौलीमा चलिरहेको आठौं तनहुँ महोत्सवको आज आठौं दिन नै हो । “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक, सामाजिक विकासको पूर्वाधार” भन्ने नाराका साथ चैत्र १० गतेदेखि चलेको महोत्वसले उद्घाटन भाषणमा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेझैं अर्थव्यवस्थालाई चलायमान बनाउने छ ।
अवश्य पनि महोत्सवका धेरै सकारात्मक पक्षहरु छन् । खासगरी ग्रामिण क्षेत्रका नागरिकको खल्तीमा रहेको पोखरीमा जमेको पानी जस्तो पैसा महोत्सवको टिकट खरिद, गाडी भाडा, पिङ, खाजा, कपडा, भाँडाकुँडा वा अन्य उपभोग्य वस्तु खरिद वा मनोरञ्जनका नाममा खर्च हुन्छ । अझ भनौं रकम चलायमान हुन्छ, पोखरीको पानी कुलो मार्फत खेतमा लगेर सिँचाई गरेजस्तो । महोत्सवले कुलोको काम गर्न सक्छ । महोत्सवकै अवसर पारेर स्थानीय कृषि उत्पादनको प्रवद्र्धन हुनेछ भने राष्ट्रिय तथा स्थानीय कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्ने मौका पाएका छन् । यतिमात्र होइन, कतिपय विद्यालयका विद्यार्थीलाई आम दर्शकमाझ आफ्नो प्रतिभा प्रस्तुत गर्दै आत्मविश्वास आर्जन गर्ने मौका तथा परिचित हुने मौका महोत्सवले प्रदान गर्नेछ । यस्ता थुप्रै सकारात्मक पक्षहरु छन्, महोत्सवका ।
महोत्सव आयोजकहरुले वेवास्ता गरेको वा गर्न चाहेको तर वेवास्ता गर्नै नहुन पक्षहरु पनि थुप्रै छन् । जसले महोत्सवका बारेमा आम मानिसमा अझ सकारात्मक भावको सञ्चार गर्नेछ र आर्कषण बढ्नेछ । जसको सकारात्मक प्रभाव आयोजकलाई नै पर्ने हो । खासगरी महोत्सव स्थलमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न भनि राखिएका विभिन्न साधनहरुमा गैर नेपाली नागरिकको वाहुल्य छ र अझ महत्वपूर्ण तथ्य त्यसको टिकट दर महंगो छ । हाम्रा तथ्याङ्कहरु भन्छन्, नेपाली नागरिकले विभिन्न रोजगारी मार्फत भारतबाट नेपाल ल्याउने रकमको कयौं गुणा बढी भारतिय नागरिकले नेपालबाट त्यता लैजान्छन् । सम्भवतः मेला महोत्सवको रकम पनि त्यहाँ जोडिएको होला । सम्झँदा यस्तो लाग्छ, मेला महोत्सवले पोखरीमा जमेको पानीजस्तो मानिसको गोजीमा भएको पैैसा बाहिर त निकाल्यो तर कतै पोखरीको पानी आफ्नो भूमि सिंञ्चित गर्न नलगेर पराई भूमि रसिलो बनाउन त लगिरहेका छैनौं हामीले ?
छिमेकी चितवनले महोत्सवमा पराईको खेत सिंञ्चित गर्ने खालका पक्षहरु केही वर्ष अगाडिबाट हटाएको सुन्नमा आएको थियो । त्यसको निरन्तरताको कामना । हाम्रा बुबा आमा तथा दाजु दिदीहरु, भाइ बहिनीहरु दुःख भुलेर एकछिन भएपनि रमाउन महोत्सव आउनु हुन्छ । त्यहाँ पिङ हुनुपर्छ, रेल हुनुपर्छ अनि यस्तै अन्य थुप्रै मनोरञ्जनका साधन हुनुपर्छ । तर महोत्सव आयोजकसंग हाम्रो आग्रह यस्ता व्यवसायमा हाम्रै नेपाली दाजुभाईहरुले अवसर पाउन् । टिकटको नाममा चर्काे मुल्य असुल्ने अवसर कसैले नपाओस् ।
आयोजकसंग आग्रह-सम्पादकीय
previous post