यतिबेला सहिद सप्ताह चलिरहेको छ । नेपालमा हरेक वर्ष माघ १० देखि १६ सम्मलाई सहिद सप्ताहको रुपमा मनाईन्छ र देशका लागि प्राण उत्सर्ग गर्ने नेपाल आमाका ति सपूतहरुको सम्झना गरिन्छ । व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्तिलाई हामी सहिद भन्ने गर्दछौं । नेपालको आर्थिक, सामाजिक तथा राजनैतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनहरुका थुप्रै नेपाली आमाका सपूतहरुले आफ्नो प्राण उत्सर्ग गरेका छन् र तिनै सपूतको सम्झना गर्दै उनीहरुको योगदानको स्मरण र सम्मान गर्न सहिद सप्ताह मनाउने गरिएको हो ।
नेपालको कुरा गर्ने हो भने पछिल्लो समय हिंसाको राजनीतिकरण हुन थालेपछि सहिदको परिभाषा बदलिएको छ । तर सहिद त्यो व्यक्ति हो जसले विना स्वार्थ देशको मुक्ति, जनताको मुक्ति, प्रजातन्त्रको प्राप्ती तथा आर्थिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएर ज्यान गुमाउँछ वा प्राण उत्सर्ग गर्छ । नेपालमा सहादतको इतिहास हेर्ने हो भने प्रमाणिक रूपमा लखन थापालाई पहिलो सहिद मानिन्छ । पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरको विरुद्धमा प्रचारवाजी गरेको आरोपमा वि.सं. १९३३ सालमा गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो । त्यहाँबाट सुरु भएको सहादतको इतिहास राणा शासनको अन्त्यका लागि भएका आन्दोलनहरुमा उत्कर्षमा पुग्यो ।
जहानिया राणा शासनको अन्त्यका लागि भएको आन्दोलनमा नेपाली जनताको मुक्तिका लागि हाँसी हाँसी आफुलाई बलिबेदीमा चढाउने चार बीर नेपाली तथा अन्य सपूतको सम्झना र सम्मानमा माघ १६ गते सहिद दिवस मनाउने गरिएको हो । यस दिन धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । उनीहरुको शालीकमा माल्यार्पण गरिन्छ । उनीहरुको योगदानको स्मरण गरिन्छ ।
सहिद दिवसको अवसर पारेर म प्रथम सहिद लखन थापा सहित ति प्रमुख चार सहिदको स्मरण गर्न चाहन्छु । उनीहरुमात्र होइन त्यसपछिको पटक पटकका स्वतन्त्रता प्राप्तीको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सबै नेपाल आमाका सन्तानको सपना अनि के तिनका सपनालाई आकार दिने गरी हामीले काम गरिरहेका छौ ? भन्ने विषयमा चर्चा गर्न चाहन्छु ।
पहिलो पटक जय नेपालको प्रयोग गर्ने शुक्रराज शास्त्रीलाई राजद्रोहको अभियोगमा १९९७ साल माघ १० गते मध्यरात टेकु पचली स्थित खारीको बोटमा झण्ड्याएर मारिएको थियो । चार मध्येका सबैभन्दा जेठा तर पहिलो सहिद शास्त्रीको जन्म १९५० साउन १८ गते काठमाण्डौमा भएको थियो । सोही १२ गते मध्यरात सिफलको बकाइनाको रुखमा भुण्ड्याएर मारिएका धर्मभक्त माथेमालाई पनि राजद्रोहको अभियोग थियो । १९६५ असोज ९ गते काठमाण्डौंमा जन्मेका माथेमा तत्कालिन राजा त्रिभुवनका व्यायाम गुरु समेत थिए ।
दुइ दिनपछि माघ १४ मध्यरात नरशमसेरले गोली हानेर मारेका दशरथ चन्दको जन्म पश्चिमको बैतडीमा भएको
थियो । राजद्रोहको अभियोग लगाइएका चन्दलाई शोभा भगवतीमा लगेर गोली हानिएको थियो । यसैगरी चार मध्येका सबैभन्दा कान्छा गंगालाल श्रेष्ठलाई पनि शोभाभगतीमा लगेर गोली हानिएको थियो । १९७५ सालमा रामेछापमा जन्मेका श्रेष्ठलाई टुँडीखेलमा राणाशासन मुर्दावाद भनेर भाषण गरेको तथा राणा शासन विरुद्ध पर्चा छरेको अभियोगमा गोली हानी हत्या गरिएको थियो ।
त्यसपछि पनि विभिन्न समयमा भएका आन्दोलनमा थुप्रै नेपाल आमाका सन्तानले सहादत प्राप्त गरेका छन् । २०१७ सालमा प्रजातन्त्रको अपहरण पश्चात तीस वर्षे पञ्चायती कालरात्रीमा होस् अथवा २०४६ को प्रथम जनआन्दोलनमा होस् या माओवादी सशस्त्र विद्रोहका क्रममा होस् अनि गणतन्त्र प्राप्तीका लागि भएको २०६२।०६३ को आन्दोलनका क्रममा । ति प्रातः स्मरणिय सहिदहरुको बलिदानका कारण हामीले स्वतन्त्रताको स्वाद चाख्न पाएका छौं ।
तर ति हजारौं बीर बीराङ्गनाले किन आफ्नो ज्यानको आहुती दिए भन्ने विषयमा भने वर्तमान राजनैतिक नेतृत्व बेखबर नै भएजस्तो प्रतित हुँदैछ । वर्षमा एकदिन उनीहरुको सालिकमा फूलमाला चढाउने र उनीहरुको योगदानको चर्चा गर्दै ओेठे प्रतिवद्धता जनाउने बाहेक पछिल्लो समय केही हुन सकेको छैन । २०४६ तथा २०६२०६३ कोे आन्दोलन जन आन्दोलन थियो कि धन आन्दोलन भन्ने प्रश्न आम नागरिकले गर्न थालेका छन् । अनि माओवादीले भन्ने गरेको १० वर्षे जनयुद्ध जनयुद्ध नभई धनयुद्ध रहेछ भन्ने निष्कर्षमा पनि सर्वसाधारण पुग्न थालेका छन् ।
३० वर्ष अगाडि ख्याउटे अनुहार लिएर अनि भक्कु चप्पल लगाएर काठमाण्डौं छिरेका कांग्रेस एमाले लगाएतका दलका नेताहरुको आम्दानीका अन्य श्रोत देखिँदैनन् तर उनीहरुका अहिले आलिसान महलमा बन्ने र महँगा गाडी चढ्ने भएका छन् । अरुको त के कुरा जनताको मुक्तिको लागि आन्दोलन गरेको भनेका माओवादी नेताहरु नयाँ भर्सन आउनासाथ नयाँ आइफोन बोक्ने, लाखौंको घडी लगाउने, आलिसान महलमा वस्नेमात्र भएका छैनन हामीले भर्खरै देख्यौं सर्वहाराका नेता झण्डै दुइ करोड भाडा तिरेर जहाज रिजर्भ गरेर हिँड्न सक्ने अवस्थामा पुगेका रहेछन् । तर आम नागरिकको अवस्थामा भने कुनै परिवर्तन आएको छैन । बरु धनी र गरिबबीचको खाडल झन बढ्दै गएको छ । जनआन्दोलनका घाइतेहरु उपचार नपाएर रोइरहँदा नेताहरु भने रुघाखोकी लाग्दा पनि विदेश उपचारमा जाने गरेका दृष्य हाम्रा सामु छ । नागरिक सिटामोल नपाएर मर्ने अवस्थामा छन् ।
अब प्रश्न छ ? के सहिद भएकाहरुले यस्तै अवस्थाको कल्पना गरेका भए आफ्नो प्राण उत्सर्ग गर्न तयार हुन्थे होला ? सहिदको सपनामाथि खेलवाड गर्ने काम अबचाहीँ बन्द गर्नुपर्छ । नागरिकलाई निर्वल सम्झेर मनपरी गर्ने आफु, आफ्नो परिवार र आसेपासेले मात्र सुख सुविधा भोग्ने तर आम नागरिकको दुःख सुखका बारेमा कुनै सरोकार नराख्ने प्रवृत्तिको अन्त्य अब हुनैपर्छ । सहिदको चाहनापनि सबै नेपाली सुखी होउन् भन्ने नै हो ।