कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा चितुवा गतिमा बढेको छ । कोरोनाको दोसो भेरियण्ट डेल्टा संक्रमणको उच्च अवस्था हाम्रोमा गत वैशाखमा पुगेको थियो । बैशाख अन्तिम साता ९ हजार २ सयजना संक्रमित भएका थिए र त्यसपछि संक्रमण ओरालो लागेको थियो । यस पटकको संक्रमण दर भने अलि डरलाग्दो छ । पुस अन्तिम सातासम्म सामान्य रहेको संक्रमणको अवस्था माघ पहिलो साता आईपुग्दा कूल परिक्षणको झण्डै ५० प्रतिशत पुगेको छ ।
तथ्याङ्कलाई नै हेर्ने हो भने पनि गत विहिबार नमूना परिक्षणको २३ प्रतिशत रहेकोमा हिजो बुधबार बढ्दै गएर ४८.४९ प्रतिशत पुगेको छ । परिक्षणको दायरालाई बढाउने हो भने संक्रमणको दर बढेको नदेखिए पनि संक्रमितको संख्या बढने सहजै अनुमान लगाउन सकिन्छ । यहि रुपमा परिक्षण हुने हो भने पनि दैनिक संक्रमित हुनेको संख्या २४/२५ हजार पुग्न सक्ने स्वास्थ्य विज्ञहरुको अनुमानले अवस्था असहज हुने देखाउँछ । तर स्वास्थ्य सावधानी अपनाउने मामिलामा हामी अलि संवेदनशील हुन नसकेको यथार्थ हामीसंगै छ ।
मृत्युदर कम भएको तथा ओमिक्रोनले मृत्यु नै गराईहाल्ने जोखिम नभएको भन्ने तथ्यहरुलाई पछ्याउँदै हामीले सावधानी अपनाउने कुरामा वेवास्ता गरेका हुनसक्छौं तर कोरोना भाईरसको संक्रमणपछि तत्कालका लागि निको भएपनि दीर्घकालिन स्वास्थ्य समस्या देखिने समाचारहरु पनि संगै आइरहेका तिर हामीले ध्यान दिनु जरुरी छ । विश्वका १० करोडभन्दा बढी मानिस कोरोना संक्रमण पछि दीर्घकालिन स्वास्थ्य समस्यामा रहेको भन्ने तथ्याङ्क तफै पनि ध्यान दिने हो कि ?
घाँटी तथा टाउको दुख्ने, थकान महसुस हुने, शरीरका मांशपेशीहरु दुख्ने, नाकबाट पानी आउने तथा हल्का शरीर तातेको महसुस हुने जस्ता लक्षण देखिएमा ओमिक्रोनको संक्रमण भएको हुनसक्ने जनस्वास्थ्य विज्ञहरुको भनाइ छ । यसलाई आत्मसाथ गर्दै ओमिक्रोन संक्रामण हुन नदिन आवश्यक स्वास्थ्य सावधानी अपनाउनु र ओमिक्रोन संक्राण भइहालेमा तुरुन्त उपचार प्रक्रिया प्रारम्भ गर्नु पर्दछ । यसो भएमा हामी दीर्घकालिन स्वास्थ्य समस्याबाट समेत मुक्त हुन सक्छौं ।
हामो स्वास्थ्यसंग भविष्यका अरु थुप्रै कुराहरु जोडिएर आएका हुन्छन्, त्यसैले अहिलेलाई ओमिक्रोन संक्रमणबाट बच्ने र पछि आउन सक्ने स्वास्थ्य समस्याहरुबाट पनि बच्ने तर्फ ध्यान दिऊँ । हाम्रो साझा प्रयत्नले अवश्य ओमिक्रोन हामीबाट भाग्नेछ ।