पृष्ठभूमिः
हामीले सामान्य बुझाईमा जस्ले छोरा जन्माएन उस्को अपुताली पर्छ भनेर बुझिन्थ्यो । त्यो परिभाषा अहिले बदलिएको छ । सामान्य बुझाईमा जस्को मृत्यू भएपछि ऋण र धन सम्पत्ती व्यहोर्ने, खाने हकवाला को हो भनेर खोजी गर्नुपर्ने अवस्था आउँछ, त्यति बेला अपुताली परेको मानिन्छ । यसका सम्बन्धमा हाम्रो कानुनले के व्यवस्था गरेको छ ? हामी सबैको सरोकारको विषय हो ।
अपुताली भनेको के हो ?
अपुताली भन्नाले मृतकको ऋण, धन र सम्पत्ति सम्बन्धी दायित्व र अधिकार कानुन बमोजिम हकवालामा सर्ने कार्य सम्झनु पर्दछ भनेर संहिताले भनेको छ ।
हकवाला को हो ?
हकवाला को हो ? हामी सबैले जान्छौं कि नजिकको नातेदार हकवाला हो । पतिको नजिकको पत्नि र पत्निको नजिक पति हो । कानुनले नौवटा प्राथमिकता क्रम तोकेको छ । सगोलको पति पत्नि भएसम्म अरुले अपुताली पाउँदैन । सगोलको छोरा छोरी, विधवा बुहारी दोस्रो चरणको हकवाला हो । सगोलको बाबु, आमा, सौतेनी आमा, छोरा, छोरी तर्फका नाति, नातिनी र नातिनी बुहारी तेस्रो चरणको हकवाला हुन् । चौथो हकवालामा भिन्न भएका पति, पत्नि, छोरा, बुहारी, बाबु, आमा, सौतेनी आमा रहेका छन् । पाँचौ तहमा भिन्न भएका छोरा तर्फका नाति, नातिनी भनेको छ । भिन्न भएका बाजे, बज्यैलाई छैटौं चरणको हकवालाको प्राथमिकताक्रममा राखेको छ । सातौ प्राथमिकताक्रममा परेको छ, सगोलका जिजुबाजे, जिजुबज्यै, दाजू, भाइ, दिदी बहिनी, विधवा भाउजु वा भाई बुहारी । सगोलको काका, काकी, भतिजा, भतिजीलाई आठौं प्राथमिकताक्रममा राखेको छ । नवौं प्राथमिकताक्रममा रहेको छ भिन्न भएका दाजू, भाई, दिदी, बहिनी, विधवा भाउजु, वा भाई बुहारी ।
स्याहार गर्नेले
अपुताली खानेः
कुनै व्यक्तिलाई नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार सम्भार गरेको छ भने त्यस्तो मृतकको अपुताली स्याहार सम्भार गर्नेले खान पाउने कानुनी व्यवस्था छ । यो व्यवस्था कार्यान्वयनमा तहमा जानका लागि सहज भने छैन । पालेको देखिने कागज बनाउन सक्नु पर्दछ । त्यो पनि सरकारी मान्यता प्राप्त कागज हुनुपर्दछ । अर्थात मालपोतबाट रजिष्ट्रेशन पास नभएको लिखतबाट कमै स्याहार सम्भार गर्नेले अपुताली हात पार्न सक्लान् । यो कानुन व्यवहारिक प्रयोगमा ल्याउन कठिन छ ।
अपुताली नपाउनेः
अपुताली खानका लागि कसैको ज्यान लिएको वा लिन लगाएको पुष्टि भएमा त्यस्तो व्यक्तिले अपुताली खान पाउँदैन ।
निष्कर्षः
नवौं प्राथमिकता क्रम वा स्याहार सम्भार गर्नेले अपुताली खान पाउने व्यवस्था कानुनले गरेको छ । प्राथमिकताक्रम अनुसार अपुतालीको हक कार्यान्वयन गर्न त सहज हुने नै भयो । तर स्याहार सम्भार गर्नेले अपुताली खानका लागि व्याख्या नै चाहिन्छ । कि त रजिष्ट्रशन भएको लिखत आवश्यक पर्छ ।
संहिताले गरेको अपुतालीको व्यवस्था
previous post