
झण्डै ८ बजिसकेको थियो, पशुपतिनगर नाकामा दार्जीलिङ भ्रमणको सामान्य प्रक्रिया मिलाउँदा । भ्रमण दलका हामी सबै दुइवटा जीपमा बाँडिएर बसे पछि यात्रा सुरु भयो, पहाडहरुकी रानी भनिने पर्यटकिय नगरी दार्जीलिङको । म सवार जिपका चालक राम्रो नेपाली बोल्दा रहेछन् । कुराकानी कै क्रममा मैले उनलाई नागरिकताले कुन देशको नागरिक ? भनेर साधें । उनको सहज उत्तर थियो, म भारतीय नागरिक तर मसंग दुबै देशको नागरिकता छ । भारतसंग सिमाना जोडिएका सबैजसो नेपाली भूभागका नेपाली नागरिकले भोग्नु पर्ने समस्या भनेको नागरिकताको समस्या हो । कतिपयले नेपाली भएर पनि नागरिकता पाएको छैनन् । नागरिकता नपाउँदा राज्यबाट प्राप्त गर्ने कुनैपनि सेवा सुविधा उनीहरुले पाएका छैनन् । तर एउटा भारतीय नागरिक सहजै भन्छ, मसंग नेपालको नागरिकता छ । नागरिकता जस्तो संवेदनशील विषयमा हाम्रो राज्यको यो हदको लापरवाही सम्झेर मन अमिलो भयो । नेपाली भएरपनि नेपाली नागरिकता नपाएर रोजगारी लगाएतका सुविधाबाट बञ्चित हुनु परेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीको पिडा सम्झँदा अनि राज्यको नालायकी सम्झँदा मन नअमिलिने कुरै थिएन ।
केही क्षणमा हामी चढेको जिप केही चिया तथा खाजा पसल र उनी कपडाका पसल भएको अस्थायी बजार जस्तो देखिने स्थानमा गएर रोकियो । दार्जीलङ भ्रमणमा जाने हरेक पर्यटकलाई सिमाना भ्यु प्वाइन्ट भनेर उक्त स्थानमा केही क्षणका लागी रोक्ने रहेछन् । नेपाल भारत सीमानाको सानो बजार मानेभञ्ज्याङ र कञ्चनजंघा हिमालको दृश्यावलोकन गर्न सकिने उक्त स्थानमा अरु उल्लेख्य केही थिएन । तर जाडो भएकाले चिया पिउन र फोटो खिच्न भने हामीले छुटाएनौं । दोस्रो भ्यू प्वाइन्ट जोर पोखरी रहेछ । ति पोखरी पर्यटक अकर्षित गर्न बनाइएका हुन भन्ने निश्चित जस्तै थियो । मैले हाम्रो टुर गाईडको समेत काम गरेका जीप चालकलाई त्यसका बारेमा जिज्ञासा राखें तर आफुलाई पढेलेखेको बताउने उनले त्यसका बारेमा आफुलाई खास थाहा नभएको बताए । जोर पोखरी वरपर रहेका सल्लाका बोटहरुले भने वातावरणलाई मनमोहक बनाइरहेका थिए । त्यहाँ पनि चिया खान छुटाएनौं हामीले, फाटो खिच्न छुटाउने त झन कुरै भएन् । आजकलका भ्रमण हुन् वा अन्य कुनै धार्मीक, सांस्कृतिक कार्यक्रम मुख्य काममा भन्दा फोटो खिच्नमा बढी समय खर्च हुने गरेको यथार्थसंग त हामी परिचित नै थियौं र त्यसैमा अभ्यस्त भैसकेका पनि ।
अबको हाम्रो गन्तव्य थियो, तेन्जिङ रक । हामी त्यतै लाग्यौं । कोइलाले चल्ने सानो रेल ढाड मर्काइ मर्काइ धुवाँ फाल्दै कछुवा गतिमा गुडेको दृष्य हाम्रा लागि नयाँ थियो । सम्पूर्ण भारतभर यो एउटा मात्र कोइलाले चल्ने रेल बाँकी रहेको र पर्यटकको आकर्षणका लागि यो जोगाएर राखिएको जानकारी जिप चालकले हामीलाई गराए । उनका अनुसार उक्त रेलमा १६ किमी यात्रा गरेको प्रति यात्रु भारु १६ सय रुपैयाँ नै लाग्छ । मुस्किलले दुइवटा गाडी वारपार हुने साँघुरो सडकमा जीप भित्र बसेर दार्जीलिङको यात्रा हाम्रालागि उत्साह दिने भन्दा अत्यास लाग्ने खालको भयो । बाटोमै पूर्व राजा विरेन्द्रले विद्यालय शिक्षा ग्रहण गरेको विद्यालय हेर्ने मौका मिल्यो सडकबाटै । निकै चित्ताकर्षक रहेछ विद्यालय भवन र परिसर ।
लामो जाम छिचोलेर तेन्जिङ रक पुग्यौं । सडक सञ्जाल मार्फत दार्जीलिङलाई सिक्किमसंग जोडने क्रममा पहाड काट्दा छेउमा पर्न गएको भीमकाय ढुङ्गोलाई विश्वको सर्वाेच्च शिखर सगरमाथका प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाको नामबाट तेन्जिङ रक नाम दिएर जसरी त्यहाँका वासिन्दाले विश्वभरका पर्यटकलाई तानिरहेका छन्, सयौं तेन्जिङ रक भएका हामीले त्यसबाट सिकेर पर्यटन विकासका अनन्त सम्भावनाको खोजी गर्न सक्छौं । दृष्टि विहिनलाई ऐना बेच्ने दार्जीलिङका नेपाली भाषी भारतीयको खुबी हाम्रो पर्यटन प्रवद्र्धनमा पनि काम लाग्न सक्छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखान हाम्रा पुर्खाले त्यसै बनाएका होइन रहेछन् ।
दार्जीलिङको चिया प्रवद्र्धनका लागि चित्रे लगेर छोड्यो जिपले हामीलाई । कुनै निश्चित स्टलमा मात्र चिया किन्नु पर्ने सिन्डिकेट मन परेन तर चिया भने निकै मिठो खुवाए चित्रेका चिया पसलेले । चित्रे, भ्यू प्वाईन्ट भन्दापनि चिया प्रवद्र्धन थलो रहेछ । अब हामीलाई जानु थियो, पद्मजा नायडु हिमालयन जुलोजिकल पार्क तथा हिमालयन माउन्टिनियरिङ इन्स्टिच्यूट । जानु थियो पनि के भन्नु र जिप चालकले जहाँ लगेर यो भ्यू प्वाईन्ट हो भन्छ, त्यही झर्नु र डुल्नु हाम्रो काम थियो । पार्क भित्र पस्न प्रतिव्यक्ति भारु ६० को टिकट लिनु पर्ने त छँदै थियो, मास्क लगाउने पनि अनिवार्य रहेछ । पार्कमा प्रवेश गर्नासाथै एउटा अजंगको भालु सेल्फी खिच्नेहरुको तालमा ताल मिलाउन फरकफरक मुखाकृति बनाएर सेल्फी खिच्ने तर्फ फकिएको दृष्यले तान्यो । शायद भालुपनि सेल्फी प्रेमी भएछ । नहोस् पनि कसरी, जमाना जो सेल्फीको छ ।