पृष्ठभूमिः
मुलुकी अपराध संहिताले परिच्छेद २ मा फौजदारी न्यायका सामान्य सिद्धान्तहरुको व्यवस्था गर्दा निजी रक्षाको लागि गरेको काम कसूर नहुने व्यवस्था गरेको छ । निजी रक्षाको कार्य र कसूर नमानिने अवस्था कानुन मै प्रष्ट छ । यो हामी सबैले बु्झ्न जान्नै पर्ने कानुन पनि हो ।
निजी रक्षाः
प्रत्येक व्यक्तिलाई आफ्नो वा अरु कसैको जिऊ, ज्यान वा सम्पत्तिलाइ कुनै गैरकानुनी क्षतिबाट बचाउने अधिकार हुनेछ । कानुनले व्यक्तिलाई प्रदान गरेको यो अधिकारलाई निजी रक्षाको अधिकार भनिएको छ । यस्तो काम कानुनको नजरमा कसूर भएपनि कसूर नमानिने गरी कानुनले उन्मुक्ति दिएको छ ।
निजी रक्षाको अधिकार प्रयोग गर्ने अवस्थाः
निजी रक्षाको अधिकार सबै अवस्थामा प्रयोग गर्न पाईदैन । तत्काल कुनै काम नगरेमा आफ्नो वा अरु कसैको जीउ, ज्यान वा सम्पत्तिलाइ कुनै गैरकानुनी क्षतिबाट बचाउन नसकिने कुनै मनासिब आधार र कारण भएमा वा विश्वास गर्नु पर्ने मनासिब कारण भएमा निजी रक्षाको अधिकार प्रयोग गर्न सकिन्छ ।
निजी रक्षाको अधिकारमा बन्देजः
तत्काल सार्वजनिक अधिकारको संरक्षण वा मद्दत उपलब्ध हुने वा हुन सक्ने अवस्थामा निजी रक्षाको अधिकार प्रयोग हुन सक्दैन । क्षति पु¥याउन उत्तेजित पार्ने व्यक्तिले निजी रक्षाको अधिकार प्रयोग गर्न सक्दैन । अदालतको फैसला वा आदेश अनुसार कुनै राष्ट्र सेवकले असल नियतले कुनै काम गरेको अवस्थामा पनि निजी रक्षाको अधिकार प्रयोग हुन नसक्ने कानुन छ । त्यस्तै गरी राष्ट्र सेवकले असल नियतले दिएको निर्देशन बमोजिम भएको काम कारवाहीका विरुद्धका पनि निजी रक्षाको अधिकार प्रयोग गर्न बन्देज लगाइएको छ ।
राष्ट्र सेवकको कर्तव्यः
निजी रक्षाको अधिकारमा बन्देज लाग्नका लागि राष्ट्रसेवकले आफ्नो कर्तब्य निर्वाह गर्नु पर्दछ । आफू राष्ट्रसेवक कर्मचारी भएको, अदालतको आदेश वा फैसला बमोजिम आफूले कार्य गर्न लागेको कुरा विश्वास गर्न सकिने गरी राष्ट्रसेवकले सम्बद्ध पक्षलाई जानकारी दिनु पर्दछ । राष्ट्रसेवकको हैसियतले निर्वाह गर्ने भूमिका वा कार्य विश्वास गर्नुपर्ने मनासिक आधार र कारण दिनु पर्दछ । गर्न लागेको कुनै काम राष्ट्र सेवकको निर्देशनमा गरिरहेको हो भन्ने कुराको जानकारी हुने वा विश्वास गर्नुपर्ने मनासिब कारण सहितको अख्तियारी पत्र देखाउन सक्नु पर्दछ । यो हरेक राष्ट्र सेवकको कर्तब्य हो ।
ज्यान लिने अधिकार ?
सामान्यतः कसैलाई पनि कसैको ज्यान लिने अधिकार हुने छैन । तर आवश्यकता, बाद्यता र परिवन्दमा गरिएको निजी रक्षा गर्नै पर्ने कार्यबाट कसैको ज्यान गएमा त्यस्तो कार्यलाई कसूर मानिदैन । अर्थात ज्यान मारेको कसूरमा सजाय हुँदैन ।
निष्कर्षः
निजी रक्षाको अधिकारको प्रयोग गर्न कठिन छ । यो अधिकार प्रयोग गर्ने आधार तयार भएर गरिने कार्य होइन । परिस्थितिजन्य आधारमा गरिएको कार्यलाई निजी रक्षाको अधिकारको सीमाभित्र प्रबेश गराउन मात्र सकिन्छ ।