भनिन्छ यो सिङ्गो विश्व एउटा किताब हो । विश्वका देशहरु किताबका पानाहरु हुन् । ती देशका विभिन्न ठाउँहरु ती पानाका अनुच्छेदहरु, वाक्यहरु र शब्दहरु हुन् । जसरी केबल एउटा अनुच्छेद वा एउटा पाना मात्र पढेर सिङ्गो किताबको रसपान गर्न सकिदैन त्यसरी नै केवल एउटै ठाउँमा बसेर मात्र संसारको वस्तुस्थििति बुझ्न सकिदैन । ज्ञान आर्जन र नयाँ अनुभव बटुल्नको लागि भ्रमणको कति महत्व छ भन्ने कुरा यहिबाट पनि बुझ्न सकिन्छ । हुन त संसारको सबै कुनाकुना घुमेर हिड्ने अर्बपति व्यक्तिहरुलाई पनि सायद सम्भाव नहोला त्यो दृष्टिकोणबाट हेर्दा आम नागरीकको लागि भ्रमण गर्नु चुनौतीकै कुरा पनि हुन्छः आर्थिक र समय व्यवस्थापन दुवैको हिसाबबाट । झन् विहान कमाएर साँझ खाने वर्गको निम्ति त नयाँ ठाउँ घुम्न एउटा सुनौलो सपना मात्र हो । यद्यपी मैले यहाँ जोड्न चाहेको कुरा चाहिँ के मात्र हो भने जीवनलाई फराकिलो ढङ्गबाट बुझ्नको लागि समय समयमा नयाँ ठाउँको भ्रमण गर्नु अति आवश्यक र फाइदाजनक छ ।
भ्रमण नयाँ ज्ञान र अनुभव बटुल्नको लागि मात्र होइन निरन्तर काम गराईबाट हुने शारीरिक र मानसिक थकान मेटाउनको लागि पनि उत्तिकै सहायक सिद्ध छ । त्यसैले पनि जुनसुकै पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुको लागि समय समयमा भ्रमण गर्नु उत्तिकै आवश्यक छ ।
शिक्षण वास्तवमै एउटा जिम्मेवार पेशा हो । के विश्वास गरिन्छ भने शिक्षक दौड्यो भने विद्यार्थी हिड्छ, शिक्षक हिड्यो भने विद्यार्थी घिस्रन्छ, शिक्षक घिस्रियो भने विद्यार्थी सुत्छ र यदि शिक्षक नै सुत्यो भने विद्यार्थी मर्छ । यहीबाट हामी विचार गर्न सक्दछौं शिक्षण कति जिम्मेवार पेशा हो । त्यसैले पनि एउटा शिक्षकलाई हरदम शारीरिक र मानसिक रुपले तन्दुरुस्त हुनुको साथै समयाअनुकूल आफूलाई परिवर्तन गर्दै लैजानु उत्तिकै आवश्यक छ । त्यसैले पनि शिक्षक बर्गले भ्रमण गरिरहनु अति आवश्यक छ । यही कुरालाई आत्मसात गर्दै हाम्रो विद्यालयको शिक्षक साथीहरु पनि यो बर्ष शैक्षिक अवलोकन भ्रमणमा निस्कने निर्णय ग¥यौं । हाम्रो भ्रमण चारदिनको लागि तय भएको थियो । पुस १, २, ३ र ४ गतेका लागि र हाम्रो गन्तब्य थियो, इलाम र दार्जलिङ्ग ।
चार दिनको हाम्रो भ्रमण दुई दिन त आउन र जानमै वित्यो । बीचको दुई दिन घुम्ने कार्यक्रम भयो । पहिलो दिन दार्जलिङ, दोस्रो दिन इलाम । मानिसले हेर्ने दृष्टिकोण र बुझ्ने तरिका आ–आफ्नै हुन्छ । भ्रमण दलका अन्य शिक्षक साथीहरुले यो चार दिनको घुमाईलाई के कसरी बुझ्नु भयो, त्यो साथीहरुको कुरा । म आफूलाई भने मनमा अलि लागेको दुईचार ओटा कुराहरु यो आलेखमा व्यक्त गर्ने जमर्को गर्दैछु ।
कुराको सुरुवात गरौं, तेन्जिङ रकबाट । तेन्जिङ रक दार्जलिङ्गमा पर्यटकहरुले घुम्ने पोईन्टहरु मध्येको एक रहेछ । नपुगेसम्म तेन्जिङ्ग रकको जुन दृष्य मानस पटलमा थियो, पुगेपछि त्यो सपना त पुरा भएन । तेन्जिङ्ग रकको नाममा एउटा ठूलो ढुङ्गो भन्दा बाहेक अरु केही रहेनछ । शुरुमा त ढुङ्गै हेर्न यहाँसम्म आईछ भनेर बैराग पनि लाग्यो । तर दार्जलिङ्गवासीहरुको एउटा गजबको काईदा देखेर रमाईलो पनि लाग्यो । कुरा के भने– यति कुरा त सतप्रतिशत सही हो कि तेन्जिङ्ग नोर्गे सेर्पाको त्यो ढुङ्गासंग दूरदूरसम्म केही नाता छैन । सायद उनले त्यो ढुङ्गासम्म पनि देखेको हुँदो हो या नाही तर उनिहरुले एउटा सामान्य ढुङ्गालाई पनि सगरमाथाको प्रथम आरोहीको नाम दिएर व्यापारीक स्थल बनाएका रहेछन् । एउटा नामको भरमा दैनिक हजारौं, लाखौं स्वदेशी तथा विदेशी मुद्रा आर्जन गरिरहेका छन् । तेन्जिङ्ग नोर्गे सेर्पा नेपाली हुन् वास्तवमा र पनि हामीले उनको नामको फाईदा किन उठाउन सकेनौं खै ?
अब कुरा गरौं दार्जलिङ्गको चिया बगानको । अहिले भने म दार्जलिङ्ग र इलामको चिया बगानको तुलनात्मक कुरा गर्न चाहन्छु । दार्जलिङ्गको चिया बगान कन्यामको चिया बगानको अगाडि केही पनि होइन । कन्यामको चिया बगानको समुद्र हो भने दार्जलिङ्गको चिया बगान एउटा सानो पोखरी मात्रै हो । तर पनि कति कुराहरुमा फरक । दार्जलिङ्गमा उत्रने वित्तिकै ल हजुर दार्जलिङ्गको चिया पिउनुस् है भन्दै सानो प्लाष्टिकको कममा चिया दिएर पर्यटकलाई स्वागत गर्दा रहेछन् ।
चिनो लैजानुस् हजार, आफन्तलाई दार्जलिङ्गको चिया कोशेली लैजानुस् भन्दै चियाको विक्री गर्दा रहेछन् । त्यति सानो बगान छ, त्यहाँ बेचिरहेको चिया, सबै त्यही बगानको हो या होइन, त्यो त उनिहरुलाई नै थाहा होला । तर चियाको व्यापार गर्ने यो काईदा चाही गजवकै हो । पाँच रुपयाँ निःशुल्क दियो, पाँच सयको चिया विक्री ग¥यो । पर्यटकहरुले पनि लिई हेरौं न भन्दै लिई हाल्ने रहेछन् । तर इलाममा भने इलामको चिया खोज्दा पनि भेटिएन । कन्यमको चिया बगानमा गएर प्याकेटको कफि खाइयो तर कन्यामकै चियाको स्वाद लिन पाईएन । झापाको पसलहरुमा पाईने इलामको चिया कन्यमकै बगानमा किन पाईएन कुन्नि ? दार्जलिङ्गमा जति सक्दो आत्मीयता बढाउन चाहने चिया व्यापारीहरु भेटिए । त्यस्तै मिनसार व्यापारीहरु आफ्नै नेपालमा पाउन किन गाह्रो भयो खै ? दार्जलिङ्गको चिया बगान वरपर दार्जलिङ्गे चिया भन्दा बाहेक अरु खास केही पाईन तर कन्याममा सबै कुरा पाइयो, पाइर्एन त केबल इलामको कन्यामको चिया । कन्यामको थुम्कोमा बसेर कन्यामकै चियाको स्वाद लिन चाहनेहरुलाई भने अलि भरिदो रहेनछ । उता छिमेकीहरुले दिनप्रतिदिन प्रगति गर्दैछन् । तर यता भने कन्यामको थुम्कोमा फरफराई रहेको राष्ट्रिय झण्डा समेत विना झण्डाको डण्डी मात्रै ठिङ्ग उभिई रहेको छ । नेपालमा पर्यटन व्यापारको अपार सम्भावना छ । कन्यामको चिया बगान नेपालको प्रमुख पर्यटकीयस्थलहरु मध्ये एक हो । तर हामीले किन दार्जलिङ्गवासीहरुबाट केही सिक्ने चेष्टा गरिरहेका छैनौं । दार्जलिङ्ग र इलाम दुवै ठाउँ पुगेपछि यस्तै खालको प्रश्न मनमा आयो । यो वास्तविकता हो या मेरो अधुरो ज्ञान, बुझ्ने कोशिश जारी छ ।
दार्जलिङ्गमा पनि प्राकृतिक दृष्याबलोकन गर्ने भ्यू प्वाईन्ट, भिरमा अवस्थित दार्जलिङ्ग बजार भन्दा खास ज्यादा केही पनि त्यस्तो रहेनछ । तर मानिसहरु मरिहत्य गरेर दार्जलिङ्ग जाँदा रहेछन् । जसरी हामी पनि गयौं । आखिर किन हो, कारण एउटै छ, मार्केटिङ्ग र ब्राण्ड ।
दार्जलिङ्गवासीहरुले दार्जलिङ्गको यसरी मार्केटिङ्ग गरिरहेका छन् कि दार्जलिङ्ग एउटा ब्राण्ड बनिसकेको छ । मानिसलाई दार्जलिङ्गको पानी देखि चिया हरेक कुरा विशेष लाग्छ, यो उनिहरुको विशेषता हो । हामीसंग दार्जलिङ्गसंग भन्दा धेरै कुराहरु छ । चाहे त्यो प्राकृतिक होस् या सांस्कृतिक र पनि हामी किन अपेक्षाकृत प्रगति गर्न सकिरहेका छैनांै त ? किन भने हामीले विश्व बजारमा नेपालको मार्केटिङ्ग गर्न सकेका छैनौं । नेपाललाई टूरिजम हबको रुपमा विकास गर्न सकिरहेका छैनौं । पर्यटनको क्षेत्रमा नेपाललाई ब्राण्डको रुपमा स्थापित गर्न सकेका छैनौं ।
तनहुँकै हकमा कुरा गर्ने हो भने पनि दार्जलिङ्गवासीले एउटा ढुङ्गालाई तेन्जिङ्गको नाम दिएर व्यापार गरिहेका छन् । तर अन्तिम सेन राजाले राज गरेको तनहूँसुरको टाकूरो, लथालिङ्ग अवस्थामा छ । दार्जलिङ्ग वासीले सानो थुम्कोलाई पनि भ्यू प्वाईन्ट बनाएर पर्यटकलाई झुक्याई रहेका छन् । तर तनहुँकै अग्लो छिम्केश्वरी डाँडोमा अझै पनि पर्यटकलाई आउन जान सहज छैन । हामीले सँधै एउटा कुरा चाही दोहो¥याई रह्यौं कि नेपालमा पर्यटकको अपार सम्भावना छ । तर आफूसंग भएको कुराको प्रसस्त बजारीकरण र सुव्यवस्थित गर्न भने चुकी रह्यौं । सायद त्यसैले होला, सम्भावना भएर पनि हामीसंधै पछाडि परेको । तसर्थ अविलम्ब नेपालको टुरिज्मलाई विश्व बजारमा प्रभावकारी तरिकाले मार्केटिङ्ग गर्नु अतिआवश्यक भैसकेको छ ।