इन्द्रेणी वा इन्द्रधनुष भन्नासाथ हाम्रो आखामा आकाशमा बन्ने अर्धवृत्ताकार आकर्षक आकृतिको तस्विर आउँछ ।
इन्द्रेणी वा इन्द्रधनुष प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ । जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ। फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृताकार प्रकाशीय आकृति उत्पन्न हुन्छ। यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ ।
इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रंग र अर्को छेउमा बैजनी रंग देखिन्छ ।
तर यो आलेखमा मैले इन्द्रेणीको बारेमा थप चर्चा गर्न खोजेको भने होइन् । अघिल्लो अंक तनहुँ आवाज साप्ताहिक प्रकाशन भए यताको एक हप्तामा हाम्रो महत्वपूर्ण पर्व विजया दशमी त मनायौं नै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस समेत मनाउन भ्यायौं । ति फरक–फरक दिवसहरुको बारेमा चर्चामा तिनका आवश्यकता र महत्वको कुरा गर्दा इन्द्रेणीका झैं रङ्ग देखिने भएकाले मात्र मैले सुरुमा इन्द्रेणीको प्रसंङ्ग उठाएको हुँ ।
विजया दशमीकै दिनमा संसारभर र हामीले अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनायौं । संसारले सन् २००८ अक्टोबर १५ बाट मनाउन थालेको यो दिवस नेपालमा भने विसं २०७० सालबाट मनाउन थालिएको हो । अनुत्पादक ठानिने ग्रामीण महिलाका चुलोचौकोका कामको गणना गर्ने तथा उनीहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाईन्छ । ग्रामीण महिलाहरूलाई घरको कामबाहेक आयआर्जनमूलक काममा सहभागिता गराई गरिबी न्युनीकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को महत्वपूर्ण उद्देश्य हो । ग्रामीण महिलाको कुरा गर्दा हाम्रो देशमा उनीहरुको सम्पत्तिमा हक छैन । संविधान प्रदत्त कतिपय अन्य हकहरुको निर्वाध उपभोग गर्ने वातावरण सहरी महिलालाई समेत नभएको हाम्रो परिवेशमा ग्रामीण महिलामा झन हुने कुरै भएन ।
ग्रामीण अर्थतन्त्रको विकासमा महिलाहरुको महत्वपूर्ण योगदान रहेको तथ्यलाई हामीले विर्सनु हुँदैन । अर्काे भुल्न नहुने कुरा के हो भने महिला पुरुषबीचको विद्यमान सामाजिक असमानता, आर्थिक तथा सांस्कृतिक विभेदहरू नहटेसम्म अनि महिला र पुरुषको समतामूलक सहभागिताविना राष्ट्रको सन्तुलित तथा दिगो विकास सम्भव छैन । यदि हामीले हाम्रो दीगो विकास चाहेका हौं भने लंङ्गिक समानता कायम गर्नु जरुरी छ भने खासगरी ग्रामीण महिलाको सशक्तीकरण आवश्यक छ । अनि यसलाई पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति, सम्पत्ती र राज्यका हरेक निकायमा महिला त्यसमा विशेषगरी ग्रामीण महिलाहरूको पहुँच समान रूपमा सुनिश्चत हुनु अत्यावश्यक छ ।
अब सोही दिन मनाइएको विश्व हात धुने दिवसको चर्चा गरौं । विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडा–पखालाले औसतमा संक्रमण हुने गरको तथ्याङ्क छ भने झाडा पखालाका कारण प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु हुने गरको दुःखद यथार्थ पनि हामीसंग छ । र हात धुने हाम्रो चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके ति मध्ये कतिपय बालबालिकाको ज्यान जोगिन सक्छ ।
खाना खान हामी हातको प्रयोग गर्छौं र हात फोहर हुँदा त्यहाँ भएका हानिकारक विषाणु हाम्रो मुख हुँदै पेटसम्म पुग्छन अनि हामीलाई झाडा पखालाका अतिरिक्त अन्य थुप्रै रोगहरु लाग्न सक्छ । र यथार्थ विश्वभर फोहर हातका कारण विभिन्न संक्रमण हुने र सोही कारण मृत्युवरण गर्नेको संख्या लाखौंमा छ ।
त्यसैले शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि, पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामीहरूलाई भेट्नुअघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैँचामा काम गरेपछि, जनावरहरूलाई छोएपछि साबुन पानीले मज्जाले मिचीमिची हात धुने बानी बच्चैदेखि बसाल्नु जरुरी छ । यसो गर्न सकेमा स्वास्थ्य उपचारमा हुने खर्च कम त हुन्छ नै अकालमा ज्यान जानबाट पनि बच्न सकिन्छ ।
विजया दशमीको भोलिपल्ट अर्थात अक्टोबर १६ मा विश्वभर विश्व खाद्यान्न दिवस मनाईयो । “हाम्रो कदमहरु नै हाम्रो भविष्य हो ” भन्ने नारका साथ यो वर्ष मनाइएको दिवसको उद्देश्य विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभई लड्नु हो । खाए मकै नखाए भोकै हुने हाम्रा थुप्रै परिवारहरु छन् । अनि अर्काे तिर खाना फाल्नेहरु पनि । खाना फाल्नेहरुले सोच्नु पर्ने के हो भने आफुले फालेको खानाले कसैको एक पेट भर्न सक्छ ।
त्यसैले खाना खाँदा पनि हामीले आफुलाई आवश्यक मात्र लिने बानी बसाल्नु पर्ने भएको छ । हाम्रा अग्रजहरु भन्नुहुन्छ, अन्न फाल्यो भने त्यसले श्राप दिन्छ, त्यसैले फाल्नु हुँदैन । अन्नले नै श्राप नदिए पनि भोको पेट बस्नु पर्नेहरुको आँसुले भने हामीलाई कुनै दिन अवश्य पोल्छ । तसर्थ खाद्यान्नको सुरक्षा र सहि प्रयोग गरेर आफु बाँच्ने र अरुलाई पनि बचाउनु हाम्रालागि हितकर हुनेछ ।
आइतबार अक्टोबर १७ मा विश्व गरिबी निवारण दिवस मनाइयो । कोरोनाका कारण विश्वभर झण्डै १२ करोड गरिबीको चपेटामा परेका मानिस थपिएको तथ्याङ्कले निश्चय पनि विश्व मानव समुदायको मन दुःखाएको छ । ‘सबै जनासँगै मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने नारा सहित मनाइएको वर्ष २०२१ को गरिबी निवारण दिवसले आधुनिक हतियार र शक्तिशाली बम तथा बारुदमा खर्च गर्न नडराउने तर गरिबी निवारणका कार्यक्रममा खर्च गर्न संकोच मान्ने विश्व समुदायलाई साच्चै सबै मानिसलाई स–सम्मान बाँच्ने वातावरण निमार्ण गर्ने सद्वुद्धि प्राप्त होस् । यही कामना ।