छविदीप आले [email protected]
आज डाँडाघरे सुवेदारको घरमा छुट्टै चटारो छ । छर छिमेकका सबै भेला भै सकेका छन् । केटाकेटीहरु प्रफुल्लित मुद्रामा सुवेदारको आँगनमा खेलिरहेका छन् । सुवेदार बा र सुवेदारनी आमा पनि खुसी देखिन्छन् । सबै आ–आफ्नो काममा व्यस्त छन् । सर्लक्क परको जीउ, गोरो वर्ण, रेशमी कपाल वा भनौं सौन्दर्यकी पर्याय सल्मा सुवेदारकी कान्छीी बुहारी पनि आफ्नै सुरमा काम गरिरहेकी छिन्, भावशून्य मुहार लिएर । ठ्याक्कै दुइ वर्ष भयो उनको मुहारबाट त्यो चमक हराएको जुन चमक उनी सुवेदारकी कान्छी बुहारी अर्थात सुवेदारबाको कान्छो छोरा नरबहादुरको जीवन साथी भएर भित्रंदा थियो । यत्तिकैमा पाँच वर्षको रामु उसको नजिकै आएर सोध्छ “आन्टी ! आज हाम्रो बाबाले आमा ल्याउने रे हो ? ”
सुवेदार बा रिटायर्ड ब्रिटिस पेन्सनर, गाउँमा केही जाने सुनेको, हक्की र समाजसेवी स्वभावको व्यक्ति । गाउँमा सुवेदार बाको छुट्टै सान छ, मान छ, सम्मान छ जसका कारण उनमा थोरै अभिमान छ । जवानीका साथी भाइको लहै लहैमा उनीपनि लाहुर छिरेका थिए । लाहुर गए, देश खाएर शेष भए, ब्रिटिस पेन्सनर भए, अहिले आफ्नो जीवनलाई फर्केर हेर्दा उनी सन्तुष्ट छन् ।
घर परिवार छ, धन सम्पत्ती छ, मान सम्मान छ । जेठो छोरा बले गाउँको स्कुलमा मास्टर भएको छ । माइलोले पनि विदेशमा राम्रै कमाई गरको छ । कान्छो नरेलाई त उनी आफैले लाहुरे बनाएका । कहिले काही उनी यस्तै कुराहरु सोच्छन, खुसी हुन्छन् अनि एक्लै मुस्कुराउँछन् । आजपनि खानापछि उनी एक्लै सोचमग्न भए अनि मुस्कुराउँदै भने “ ए बलेकी आमा मेरो दौरा सुरवाल र कोट निकाल, त ! पल्ला गाउँसम्म जानु छ ।” हुक्को अन्तिम सर्काेसंगै बडो प्रफुल्लित मुद्रामा उठे उनी । “ए बल्या आमा अझै झिक्या छैनस् लुगा ?
खरीबोटे क्याप्टेनलाई भेट्न आज सुवेदार बा पल्लो गाउँतिर जान लाग्या छन्, केही विशेष कामले । उनी मनमनै आफैसंग भन्दैछन्, जेठाले घर गरी खाएकै छ । माइलाको पनि छोरो त्यत्रो भइसक्यो । अब कान्छाको पनि घरजम गरिदिन पाए मर्ने बाटो खुल्थ्यो । माइलीलाई पनि हात सघाउने मान्छे हुन्थ्यो । बरु क्याप्टेन बाको के विचार छ खै ? हुन त मेरो नरेपनि के कम छ र ? हेर्दा खाइलाग्दो छ, रुप परेकै हो । अर्काे महिना त तालिम पनि सकेर कसम खान्छ । पोहोरै त्यसको मामाल कम्ति हत्ते ग¥या हैन र ? यसो खुट्टा टेक्न जानेसी गरोस् भनेर मैले नै नमान्या त
हो ।
बेलुका सुत्ने बेलामा सुवेदार बाले भने–ए बलेकी आमा ! पल्लो गामको सल्मालाई चिन्याछस् ? “को सल्मा ? ”सुवेदारनी आमाले प्रश्नसूचक दृष्टिले सुवेदारलाई
हेरिन् । त्यै क्या खरीबोटे क्याप्टेनकी छोरी। क्याप्टेन बा पनि राजी
छन् । अब नरे छुट्टीमा आउँदा त्यस्को नि कुरा छिन्दिनु पर्छ । के भन्छेस् तँ ? “ मैले के भनुम र कुरो मिले राम्रै भो नरेको पनि अब त बेला भाकै हो ।”
नरबहादुर थापा, सुबेदार बाको कान्छो छोरो । सानैदेखि राम्रै रुपको पनि र बानीको पनि । पढ्न पनि त्यस्तै थियो । ठूलो दाइ खुट्टाको कारणले भर्ती हुन सकेनन् । माइलो बजार बसेर पढ्दा पढ्दै विदेशियो । बाउको कुरा काट्न नसकेर १८ वर्ष पुग्ने वित्तिकै लाहुरेमा नापिन गएको थियो, नरे । कस्तो भाग्य,पहलो चोटी मै पास । गाउँमा नरे फुर्तिलो केटाहरुकै लाइनमा आउँथ्यो ।
नरेले भलिबलमा सट हान्दा ताली बजाउने जहिल्यै गाउँका केटीहरु हुन्थे । नरबहादुर नुहाएका बखत उसको चौडा छाती र सलक्क परेको जीउ देखेर गाउँका तरुनीहरु मात्र होइन, उसैका दामलीहरु पनि लोभिन्थे । त्यसो त घाँस काट्न जाँदा घाँस झारी दिएर धेरै केटीहरुलाई गुन लगाएकै हो । तर उसले गुनको पैंचो कहिल्यै खोजेन । चाहेको भए धेरै कुरा पाउन सक्थ्यो उसले, के कमी थियो र ? राम्रो थियो, फुर्तीफार्ती गथ्र्याे, पढ्नमा पनि टाठो र सबैभन्दा ठूलो कुरा त सुबेदार बाको कान्छो छोरा । तर उसले कहिल्यै पैंचो चाहेन । मनको सफा थियो नरे । इमानको पक्का ।
गाउँ भरीका केटीहरुको ढुकढुकी नरे लाहुरे भएकोपनि निकै समय भएछ । तालिम सकिवरी कसम खाएर
आइसक्यो । त्यही नरे आज विहानै देखि चिटिक्क छ । सुबेदार बा र नरे अनि दुइ चार जना बुढापाका जाँदैछन् आज खरीबोटे क्याप्टेनकी छोरी सल्माको हात माग्न । घरमा राम्रै तामझाम छ । सबै जना बुहारी भित्र्याउने तरखरमा लागेका
छन् । नरेका दामली साथीहरु पनि विहानै देखि आइसक्याछन् । केटाहरु नरेलाई जिस्क्याउँदै छन्,केटीहरु पनि के कम जिस्क्याउँदै छन् नरेलाई तर उनीहरुको जिस्क्याइमा कताकता ईष्र्या मिसिएको छ ।
खरीबोटे क्याप्टेनकी एक्ली छोरी सल्मा, कहिँ कतै खोट लगाउन नमिल्ने । धपक्क बलेको मुहार, रेशमी कपाल, मिलेको जिउडाल, खुलेका आँखा । नरबहादुर र सल्माको खुब चढ्दो उमेर, भरिँदो बैंस । सुहाएको
जोडी । घरमा सबै दङ्ग, माइलीपनि दङ्ग छिन् । देउरानी पाएको खुसीमा या काम सघाउने कोही पाएको खुसीमा । जे होस्, सबै जना खुसी छन् । गाउँको रिती अनुसार बुहारी भित्र्याउने काम सम्पन्न भयो । खानपान र नाचगान पनि भयो आधारात सम्म ।
समय जान बेरै नलाग्ने रहेछ । छुट्टीमा आएको नरे पल्टनमा फर्कने बेला भइसकेछ । पर्सी त उ पल्टन जाने दिन, परिवारसंग टाढा भएर । सबैभन्दा बढी त आफुले भर्खर बिहे गरेकी प्यारी श्रीमती छाडेर । अहो कस्तो विडम्बना । उसलाई अझै केहिदिन सल्मासंगै घाँस–दाउरा, मेला–पात गर्न मन हुँदो हो । धारामा दुबै जना मिलेर गफिंदै संगै लुगा धुने मन हुँदो हो । राती एक अर्काको अंगालोमा बेरिएर सुन्दर भविष्यको कल्पना गर्दै हराउन अझै बाँकी हुँदो हो । तर अफसोच सबै थाँती राखेर जानै पर्ने । कति सम्झिँदो होला उस्ले सल्मालाई । कति सम्झदीँ हो सल्माले उसलाई । नरे जाने दिनमापनि सल्माको आँखा विहानै देखि रसिला थिए, अन्तिम समयसम्म पनि । माइलीले भन्दै थिई, पिर नगर के बाबु छुट्टीमा आइहाल्नु हुन्छ नि, संधैका लागि जान लाग्या हैन । घरमा फुपु, पुसैं छ, म छु । पहिला पहिला मलाई पनि साह्रै न्यास्रो लाग्थ्यो रामुका बा विदेश जाने बेला, आजकल बानी भैसक्यो । सल्मा ले अलि कुरो बुझे जस्तो अनुहार गरिन्, सायद देखाउन कै लागि होला । नरबहादुर केही बोलीरहेको थिएन, सायद हिजो रातभरी उसले सल्मालाई यही कुरा सम्झाउने प्रयास गरको थियो । दिनहरु राम्रैसंग कट्दै थिए । जेठानी देउरानी घाँस(दाउरा, मेलापात संगसंगै गर्थे । ठूला छोरा बुहारी छुट्टै बसेका भएपनि परिवारमा राम्रै मिल्ती थियो । यताको उता, उताको यता भैरहन्थ्यो । सुवेदारनी आमाले घर राम्रोसंग चलाईरहेकी थिईन । सुबेदार बा पनि आफ्नो काममा व्यस्तै थिए । यसबीच नरेपनि दुइपटक छुट्टीमा आएर गईसकेको थियो । अब सल्मा पनि नरे जाँदा त्यति साह्रो दुःखी हुन्नथी । फोनमा पनि गफ भैरहन्थ्यो । माइलो पनि विदेशबाट भर फर्किसकेको
थियो । सबै कुरा राम्रो भइरहेको थियो । सबै खुसी थिए । भगवानले खुसीको वर्षा नै गरिदिएका थिए, डाँडाघरे सुवेदार बाको घरमा ।
“ए माइला, अब त कान्छाको पनि टिका फुकाई दिए कसो
होला ? ” सुबेदार बाले माइलो छोराको राय बुझ्न चाहे ।
“कुरा ठिकै हो बा, एक पटक गर्नै पर्ने कुरो किन ढिला गर्नु । क्याप्टेन बासंग सल्लाह गर्दै गरम, कान्छो छुट्टीमा आउँदा फुकाईदिम्ला । अर्काे महिना तिर छुट्टी मिल्छ होला भन्दै थियो । ”
बाँकी अर्काे अंकमा