परिचयः
दुर्घटना कहिले कहाँ, कसरी र कसलाई पर्न सक्छ भनेर कसैले पूर्वअनुमान गर्न सकिँदैन। दुर्घटना भइसकेपछि पश्चाताप गर्नु भन्दा पूर्व तयारी रहनु नै बुद्धिमानी हुन्छ । प्राथमिक उपचारको सीप सिकेर अर्थात तालिम लिएर दुर्घटनाबाट आफू, परिवार, छिमेकी र भैपरी आउने बेला दुर्घटनाबाट बच्न बचाउन गरिने कार्यको पूर्व तयारी रहन अत्यावश्यक हुन्छ । नेपाल जस्तो भौगोलिक अवस्था भएको मुलुकमा सबै ठाउँमा स्वास्थ्य सुविधाको सर्वसुलभता छैन । जसको कारण प्राथमिक उपचार नै घाइते वा बिरामीको जीवन बचाउने एकमात्र विकल्प पनि हुनसक्छ ।
घाइतेको जीवन बचाउन, अवस्थामा सुधार ल्याउन र घाइतेको अवस्था झन्झन् बिग्रन नदिन प्राथमिक उपचार गरिन्छ ।
महामानव जाँ हेनरी ड्युना ले पनि युद्धका घाइते सैनिकहरूको प्राथमिक उपचार गरेर मानवीय कार्य गरेका
थिए । त्यही मानवीय सेवाको विस्तार बाट नै प्राथमिक उपचारको बलियो अवधारणा अघि बढ्दै आएको छ । प्राथमिक उपचारसम्बन्धी ज्ञान, सीप, त्यस सम्बन्धी तालिम लिएर मात्रै हासिल गर्न सकिन्छ । जसका लागि विश्वभरि नै रेडक्रसका विभिन्न अंगहरुको अग्रणी भूमिका रहेको छ । नेपालमा पनि नेपाल रेडक्रस सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै प्राथमिक उपचार सम्बन्धित विभिन्न तालिम तथा भैपरी आएको अवस्थामा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।
विश्वभर स्वीकृत रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले समेत स्वीकृति प्रदान गरेको छ । त्यही स्वीकृत पाठ्यक्रम अनुसार नै नेपाल रेडक्रसले आपत्कालीन प्राथमिक उपचार (EFA), सामुदायिक प्राथमिक उपचार(CBHFA), प्राथमिक उपचार
(FA), अग्रवर्ती प्राथमिक उपचार (Advance FA) र व्यवसायिक प्राथमिक उपचार जस्ता तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।
नेपालजस्तो भौगोलिक अवस्था, सामाजिक अन्धविश्वास , दक्ष चिकित्सकको अभाव रहेको मुलुकमा प्राथमिक उपचारसम्बन्धी ज्ञान, सीप हरेक नागरिकले नै जान्नै पर्ने कुरामा कसैको विमति नहोला । प्राथमिक उपचार जान्नु भनेको जीवन दान दिन सक्ने कला सिक्नु हो । यस कारण प्राथमिक उपचारको सीप सामाजिक कार्यकर्ता, शिक्षक र सम्भव भएसम्म हरेक नागरिकहरूले जान्नै पर्ने हुन्छ ।
उद्देश्यः
विभिन्न पेशागत समूह तथा सर्वसाधारण र यससम्बन्धी चासो राख्ने सबैलाई प्राथमिक उपचारको ज्ञान तथा सीप प्रदान गरी सम्भावित दुर्घटना एवं प्रकोपको बेलामा सहयोग गर्न तथा तयार रहनका लागि सक्षम बनाउन सहयोग गर्नु प्राथमिक उपचार तालिमको उद्देश्य रहेको छ ।
–प्राथमिक उपचारको उद्देश्य, सिद्धान्त र प्रक्रियाको बारेमा सैद्धान्तिक एवम् प्रयोगात्मक सीप प्रदान गर्ने ।
–प्राथमिक उपचारको महत्व र घाइते तथा बिरामीलाई अवस्था अनुसार गर्न हुने र गर्न नहुने कार्यहरु बारेमा अवगत
गराउने ।
–स्थानीय साधन र स्रोतहरुको प्रयोग गरी घाइते तथा बिरामीहरुलाई प्राथमिक उपचार गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्ने ।
सहभागिताः
प्राथमिक उपचार तालिम सबैका लागि खुल्ला
हुन्छ । जुनसुकै पेशागत समूह, साक्षर, निरक्षर, महिला, पुरुष तथा विद्यार्थीहरु जोसुकै पनि तालिमका लागि योग्य ठहरिन्छन् । यस तालिममा सहभागी हुन समान स्तर भएका समूह बनाएर तालिम सञ्चालन गर्दा बढी प्रभावकारी हुन्छ । प्राथमिक उपचार तालिम विशेष गरेर विद्यार्थी, शिक्षक, रेडक्रसका उपशाखा पदाधिकारीहरु, यातायात तथा औद्योगिक कलकारखानाको कर्मचारी, कामदारहरु, संकटग्रस्त क्षेत्रका बासिन्दाहरुलाई लक्षित गरेर सञ्चालन गर्नु गराउनु उपयुक्त हुन्छ ।
तालिम अवधिः
सामान्यतया नेपाल रेडक्रस सोसाइटीले आफ्नो सञ्जाल बाहेकका अन्य निकायहरूलाई उपलब्ध गराउने तालिम आधारभुत प्राथमिक उपचार तालिम नै हो। यो तालिम जम्मा २४ घण्टाको हुन्छ । जसलाई आवश्यकता अनुसार कुल समय नघटाई चार दिनमा पूरा गर्न सकिन्छ ।
प्राथमिक उपचार तालिममा समेटिने विषयवस्तुहरुः
१) आधारभूत सिद्धान्तहरु
–प्राथमिक उपचार र यसका सिद्धान्त
–प्राथमिक उपचारका मुख्य चरणहरु
२) आपतकालीन अवस्थाहरु
–बेहोसी
–गला लाग्नु
–ठूलो रक्तश्राव र क्षोम
–विष सेवन गर्नु
३) घाउ चोटपटकहरु
–छालाको खुल्ला घाउ वा काटिनु
–पोलाई
–किरा तथा जनावरको टोकाइ
–मांसपेशी तथा हाडजोर्नीको चोटपटकहरु
–टाउको गर्दन तथा मेरुदण्डको चोटपटक
–नाक, कान को रक्तस्राव
४) रोगहरु
–झाडापखाला
–ज्वरो
५) वातावरणीय समस्या
–लेक लाग्नु
–हिउँले खानु
६) विविध
–घाइते तथा बिरामीको ओसार पसार
–पट्टी हरु
तालिम विधिः
प्राथमिक उपचार तालिम विशेषगरी सहभागितात्मक विधिद्वारा सञ्चालन गरिन्छ । यस तालिममा अपनाइने प्रमुख शिक्षण विधिहरुमा समूह छलफल, मस्तिष्क मन्थन, प्रदर्शन अभ्यास, खेल, प्रश्नतोर, कथावाचन, र स्नोबलिङ आदि रहन्छन् । तालिममा सैद्धान्तिक र सँगसँगै प्रयोगात्मक अभ्यास पनि हुने हुनाले शारीरिक र मानसिक दुवै रूपमा सक्रिय सहभागिता अनिवार्य रहन्छ ।
कार्यनीतिः
प्राथमिक उपचार नितान्त ज्ञानमा आधारित मात्र नभएर क्षमतामा आधारित सीपमूलक तालिम हो । तसर्थ यस तालिमलाई उपलब्धिमूलक रुपमा सफल पार्न निम्नानुसारको कार्यनीतिहरु अवलम्बन गर्नु पर्दछ ।
–सहभागीहरूको प्राथमिक उपचारसम्बन्धी ज्ञानको परीक्षण गर्नका लागि तालिमको सुरू र अन्त्यमा पूर्व तथा अन्तिम सैद्धान्तिक मूल्याङ्कनको
व्यवस्था ।
–सहभागिमा प्राथमिक उपचार सम्बन्धी सीप अभिबृद्धिका लागि प्रत्येक सैद्धान्तिक कक्षा पश्च्यात आवश्यकता अनुरूप प्रयोगात्मक अभ्यासको ब्यबस्था ।
–सहभागीहरूको ज्ञान, सीप र अवधारणाको जाँचको लागि विभिन्न मूल्यांकनहरू गर्ने ।
–सहभागीहरूको सिकाइको परीक्षणका लागि सहभागीले तालिमको अन्तिम दिन अन्तिम परीक्षामा सहभागी हुनु पर्नेछ । जसमा सैद्धान्तिक र प्रयोगात्मक दुवै परिक्षणहरु समावेश गरिनेछ ।
–सहभागीहरूको सिकाइलाई प्रभावकारी बनाउन साथै प्रतिस्पर्धाका लागि विभिन्न समूह विभाजन गरी समूह कार्यहरु गर्ने गराउने ।
–सहभागीहरुले प्राप्त गरेको अङ्कको आधारमा सफल सहभागीहरुलाई मात्र प्राथमिक उपचारको प्रमाणपत्र प्रदान गर्ने। यो प्रमाणपत्र प्राप्त गरेको हरेक दुई वर्षपछि पुनः नवीकरणको लागि पुनर्ताजगी तालिम लिनुपर्ने ।
अन्तमा प्राथमिक उपचारको महत्व र यसको आवश्यकताको बारेमा कसैको विमति रहने छैन । जुनसुकै समयमा होस् जब कुनै पनि दुर्घटनाको कारणले मानिस जोखिममा पर्छन् त्यस समयमा पहिलो उपचार भनेको घटनास्थलमा गरिने उपचार हो । जुन उपचार दक्ष चिकित्सक कहाँ नपुर्याउँदासम्म प्राथमिक उपचारकले मात्र गर्दछ । यसर्थ सम्भव भएसम्म हरेक कारखाना, समुदाय, युवा, जुनियर सर्कलमा पर्याप्त मात्रमा तालिम प्राप्त प्राथमिक उपचारकहरूको उपलब्धता हुनु अति आवश्यक देखिन्छ । यसको भावना बुझेर संघसंस्था, विद्यालय तथा सरोकारवाला हरूको दीर्घकालीन सहयोग अति आवश्यक छ ।
विश्व प्राथमिक उपचार दिवस २०२० को अवसरमा आम पाठकलाई प्राथमिक उपचार तालिमको बारेमा सामान्य जानकारी होस् भन्ने उद्देश्यले तयार गरिएको लेख ।
प्राथमिक उपचार सबैको सरोकार
previous post