दक्षिण एशियामा नै पहिलो पटक विपद् व्यवस्थापन सम्बन्धी कानून बनाउने नेपाल अझैपनि यसमा कच्चा नै रहेको छ । यो आरोप होइन, यथार्थ हो जुन हामीले भोग्दै र देख्दै आएका छौ । यसका केही उदाहरण प्रस्तुत गर्ने र हाम्रा कच्चापनका बारेमा यो आलेखमा चर्चा गर्ने जमर्काे गरेको छु । त्यस भन्दा पहिले म विपद् व्यवस्थापनमा कस्तो दृष्टिकोण वा योजना आवश्यक र तयारी चाहिन्छ भन्ने विषयमा बुझ्न सजिलो हुने एउटा छोटो ऐतिहाशिक कथा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
हिन्दीमा भएको उक्त कथामा रामा भन्ने एउटा पात्र छ, जो आफ्नो जीवनमा आउने हरेक समस्यालाई बडो सुझबुझ पूर्ण ढंगले समाधान गर्छ, चाहे समस्या अत्यन्तै कठिन किन नहोस् । कथा यस प्रकार छ ।
रामालाई एउटा चुनौती आइलाग्छ कि सय गज जमिन माथी गएर कुनै प्रश्नको उत्तर खोज्नु पर्ने । दरवारमा सल्लाहकारको रुपमा रहेका उसलाई महारानी र प्रधानमन्त्री पटक्कै रुचाउँदैनन । यसैको षड्यन्त्र स्वरुप उसलाई जमिन माथि सय गज गएर प्रश्नको उत्तर खोजी गर्न भनिएको हुन्छ । कसरी आफुलाई लगाइएको काम गर्ने भनेर उ चिन्तामा थियो त्यस्तैमा एउटा बालक गुलेली लिएर उ भए ठाउँ आउँछ र गुलेली देखाउँदै भन्छ ‘हजुरले भने झै मन लगाएर पढेकाले मलाई बुबाले दिनु भएको पुरस्कार हो यो ।’
तिक्ष्ण बुद्धिको उसलाई गुलेली देख्नासाथ आकाशमा उड्ने जुक्ती फुर्छ र आफुलाई मट्याङ्ग्रालाई जसरी उडाउन सक्ने गुलेली तयार पार्छ । अनि आफु आकाशबाट खस्ने ठाउँमा बाक्लो लुगाहरु विछ्याउँछ । तर उसलाई के थाहा छ भने रानी र प्रधानमन्त्री आफ्नो विपक्षमा छन् र उनीहरुले आफ्ना विरुद्ध कुनै षड्यन्त्र गर्न सक्छन् । तसर्थ उसले झोलामा प्यारासुटको रुपमा प्रयोग गर्न मिल्ने कपडा पनि राख्छ । जब उ गुलेलीको सहायताले आकाशमा पुग्छ तब देख्छ, आफुले बाक्लो लुगा विछ्याएको ठाउँमा त तिखा भालाहरु गाडेर राखिएका छन् । तुरुन्त झोलाबाट कपडा झिक्छ र त्यसको दुई छेउमा हातले समाएर आरामले सुरक्षित जमिनमा ओर्लन्छ ।
कथा अरुपनि छ तर मैले यहाँ प्रस्तुत गर्न खोजेको सन्दर्भमा कथाको यही अंश पर्याप्त छ । संकट व्यवस्थापनमा गर्नुपर्ने पूर्व तयारी र देखाउनु पर्ने चातुर्यको शायद सबैभन्दा सटिक सन्देश यो कथाले बोकेको छ । खस्ने ठाउँमा बाक्ला कपडा विछ्याएको छु भनेर बैकल्पिक व्यवस्था नगरेको भए उसको जीवनलिला त्यहीँ समाप्त हुन्थ्यो । तर उसले सम्भाव्य जोखिम जुन रानी र प्रधानमन्त्रीका कारण उसलाई थियो, त्यसको आँकलन गरेर बैकल्पिक व्यवस्था गर्न सक्दा आफुलाई मात्र बचाएको छैन कथामा राज्यको अस्तित्व नै बचाएको छ । तर हाम्रो राजनैतिक र प्रशासनिक नेतृत्वमा यस्तो दुरदृष्टि र चातुर्यको अभाव हुँदा हामी नेपालीले संधै दुःख र हण्डर खाएका छौं । सयौं नेपाली नागरिकले वर्षेनी अनाहकमा ज्यान गुमाउनु परेको छ । कति आमा बाबुको कोख रित्तिएको
छ । कति महिलाको सिंदुर पुुछिएको छ । कति बालबालिका टुहुरा भएका छन् अनि कति नागरिक घरबार विहिन भएका छन् । एउटा सामान्य नागरिकको रुपमा मलाई प्रश्न गर्न मन लागेको छ, आखिर हाम्रो राजनैतिक र प्रशासनिक नेतृत्व संकट व्यवस्थापनमा सधैं अपरिपक्व किन ? किन कहिल्यै हामीले पहिले भोगका विभिन्न खालका संकट र विपद्हरुबाट सिक्न नसकेको र त्यसबाट पार पाउनका लागि आवश्यक पूर्व तयारी गर्न नसकेको ?
संकट समाधानका विभिन्न उपायहरु हुन सक्छन् र संकटको व्यवस्थापनमा कुनै एक मात्र उपायको पखाईमा बस्ने वा त्यसको मात्र अवलम्बन गर्ने हो भने हामीले संकटबाट पार नपाउन सक्छौं भन्ने कुरा हामीले कहिले सिक्ने होला ? हाम्रा पुर्खाहरुले बनाएको आगो लागेपछि कुवा खन्ने भन्ने उखानलाई चरितार्थ गर्न खालको राजनैतिक तथा प्रशासनिक नेतृत्वले आमनागरिकलाई दिने भनेकोे त हण्डर र ठक्कर नै हो जुन हामीले खाइरहेका छौं । कोभिड–१९ को संक्रमण चीनमा देखिए पछि कै कुरा गरौं न । चीनमा संक्रमणले भयावह रुप लिइसकेको थियो र युरोप तथा अमेरिकामा पनि फाट्टफुट्ट देखिन थालेको थियो । नेपालमा केही सांसद तथा अन्य बुद्धिजीवि र आमसर्वसाधारणले आवश्यक सावधानी अपनाउन तथा पर्याप्त मात्रामा स्वास्थ्य सामग्रिको जोहो गर्न सरकारलाई आग्रह गरे । तर हाम्रा स्वास्थ्य मन्त्री भने नेपालमा कोरोना आउनै नसक्ने भनेर आमअग्रह माथि मजाक गरिरहेका थिए । न त कोरोना परिक्षणका लागि आवश्यक हुने स्वास्थ्य सामग्रि जोहो गर्ने तर्फ सरकार लाग्यो नत आवश्यक सावधानी अपनाउने तिर । बरु चीन लगाएत विश्वले कोरोना महामारीबाट वच्न सावधानीका उपाए अपनाउन थालेको भन्नेहरुलाई मन्त्रीले जवाफ फर्काउन थाले, ‘चीनमा पानी प¥यो भन्दैमा नेपालमा छाता ओढ्नु पर्छ भन्ने मानसिकता
राम्रो होइन ।’ उनको आशय थियो, हामीले कोरोनासंग डराउनु पर्ने र सावधानी अपनाउनु पर्ने आवश्यकता छैन । पर्यटनमन्त्री भन्दै थिए, नेपाल कोरोना फ्रि जोन हो । कोरोना संक्रमण पछि पनि मन्त्रीको बचकना तर्क सकिएको थिएन, उनी भन्दै थिए नेपालमा कोरोना संक्रमित दुइसय भन्दा बढी हुन दिइने छैन । आजका मितिमा कोरोना संक्रमितको संख्या कति पुगेको छ, त्यो हेरेपुग्छ, मन्त्रीको बचकनापन ।
त्यसैले न त उनले आवश्यक मात्रामा स्वास्थ्य सामग्रि जम्मा पारे न त समयमा नै । घरमा आगो लागेपछि कुवा खन्ने उखान राम्रैसंग चरितार्थ गरे उनले । कोरोनाको प्रभाव अरु धेरै पर्नसक्छ, त्यसैले पर्याप्त स्वास्थ्य सामग्रि जोहो गरिराख्नु पर्छ भन्ने कुराको ज्ञान नै भएन सायद सरकार र यसका मन्त्रीलाई । आवश्यक स्वास्थ्य सामग्रि ल्याउने कुरा त छोडौ ल्याइएका पनि प्रयोग गर्न नमिल्ने ल्याए भने बजार मूल्य भन्दा अत्यन्त महंगो ल्याएर संकटलाई कमाउने अवसरको रुपमा लिए । बचकना तर्क र व्यवहारको परिणाम के भयो अहिले हामीले देखिरहेका र भोगि रहेका छौं ।
सलह नेपालमा आउनै सक्दैन भनेर एकथरी विज्ञ भनाउँदाहरुले घोषणा गरे । तर त्यसको केही दिनमै नेपालमा सलह आतंक सुरु भएको छ । यी र यस्ता संकट व्यवस्थापनमा हाम्रो नेतृत्वले विवेक पु¥याउन नसकेका धेरै उदाहरण छन् । आखिर हामी कहिलेसम्म यस्तो काममा अपरिपक्व र उदासिन रहने ?