विरोध, यो यस्तो नेपाली शब्द हो, जुन प्रायः व्यक्ति अरुको विचार र कार्यप्रति गर्दछ र गर्न चाहन्छ । तर आफूप्रति अरुले नगरोस् भन्ने चाहन्छ । समाजको हरेक क्षेत्रमा विरोधको आवाजहरु सुन्न पाईन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने सबैभन्दा बढी विरोधको आभाष र अनुभव गर्न राजनीतिक बृत्तमा पाईन्छ । एउटाले अर्कोको विरोध गर्नु र उछितो काट्नु नेपाली राजनीतिको परम्परा नै हो, संस्कार नै हो । विरोध एउटा यस्तो सहज र सर्वसुलभ हतियार हो जुन जो कसैले पनि जो कसैको विरुद्धमा पनि प्रयोग गर्न सक्दछ । नेपाली राजनीतिमा अरुले विरोध नगर्ने नेता सायद छैनन् होला र वास्तविकता त के पनि हो भने अरुको विरोध गर्न नसक्ने नेता राजनीतिमा लामो दौडको घोडा बन्न पनि सक्दैन । तर हाम्रो देशमा एक जना यस्ता राष्ट्रवादी नेता हुनुहुन्छ जसलाई विरोध देखि डर लाग्दैन, उहाँ विरोधकै विरुद्ध विरोध गर्दिनु हुन्छ, उहाँ ुहुनुहुन्छ, हाम्रो वर्तमान सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओली ।
हाम्रा वर्तमान प्रधानमन्त्री ज्यू नेपाली राजनीतिको एउटा अचम्मको व्यक्तित्व हुनु हुन्छ । राजनीतिमा प्रवेश गर्दैगर्दा देखि नेपाली प्रधानमन्त्री हुँदासम्म उहाँले कसैको विरोध गर्नुभयो ? भएन ? गरेको भए के कसरी गर्नु भयो ? कुन हदसम्म गर्नुभयो ? त्यहो उहाँलाई नै थाहा होला । पंक्तिकारलाई चाही कतिसम्म थाहा छ भने उहाँलाई अरुले आफ्नो विरोध गरेको मन पर्थेन । फिटिक्कै मन पर्दैन । मन नपर्नु पनि एक हिसाबले ठीकै हो । दुई तिहाई बहूमत पाएको सरकारको प्रधानमन्त्रीको पनि विरोध गर्ने ? वाइयात कुरा । पहिला आफै भोट हाली हाली जिताएर पठाउने, अहिले चाही जे गर्दा नि विरोध गर्दिनी ? अबुझ जनताहरु । प्रतिपक्षको विरोध त झन मन पर्ने कुरै भएन । प्रतिपक्षको कामै विरोध गर्ने हो, तिनका कुरा सुनेर नि हुन्छ, दुई तिहाईवाला प्रधानमन्त्रीले । तिनलाई त दुई चारवटा उखान टुक्का सुनाएरै ठाउँमा ल्याउने हो । धन्न एमसीसीका बारेमा चाही प्रतिपक्षका सभापतिले विरोध गरेनन् । ओली जीको टुक्का सुन्नु पर्दछ भनेर हो कि कति विरोध मात्र गर्नु भन्ने लागेर हो, दिलो ज्यान दिएर एमसीसीको समर्थन गर्दैछन् देउवा जी । प्रधानमन्त्री ज्यूको विरोधमा अब चुईक्क पनि नहोस् भनेर कम कोशिस गर्नु भा हो त ! विचरा वास्कोटा जीले । अबुझ जनताले त्यसको पनि विरोध गर्दिए । कस्तो आपत । हैन नेपाली जनता पनि के साह्रो टिमुर्किएका भन्या ? जे मा पनि विरोध ? यसो हक अधिकारमा अंकुस लगाउन खोज्यो विरोधै ग¥याछ । भ्रष्टाचार ग¥यो विरोध ग¥याछ । महंगी बढायो विरोध ग¥याछ । सीमा मिच्यो विरोधै ग¥याछ । गाडी किन्यो विरोधै ग¥याछ । राष्ट्रपति कार्यालयमा गलैंचा फेर्न लाग्यो विरोधै ग¥या छ । मन्त्री निवासमा जीम खाना बनाउन लाग्यो विरोधै ग¥याछ । यति बलियो सरकारको प्रधानमन्त्री भएको विरोध सुन्नका लागि मात्र हो त ? त्यसैले मौका मिल्यो कि प्रधानमन्त्री ज्यूले आफ्नो विरोधको विरोध गरिहाल्नु हुन्छ । किनभने उहाँलाई विरोध मन पर्दैन । उहाँलाई लाग्छ उहाँको विरोध गरिनु हुन्न ।
केही समय पहिले महामइम राष्ट्रपतिको कार्यालय शितलनिवासमा गलैजा फेर्ने कुराले नेपाली राजनीति खुब तरंगित भयो । उक्त कुराको चौतर्फि आलोचना र विरोध भयो । सम्माननीय प्रधानमन्त्री ज्यूलाई उक्त विरोध आफू माथिको विरोध भन्दा पनि ठूलो लागेछ । त्यसैले त गलैंचा फेर्ने कुराको विरोधीहरुलाई उहाँले ‘गणतन्त्रको विरोधी’ भनेर विल्ला लगाई दिनु भयो । तर प्रधानमन्त्री ज्यू पंक्तिकारलाई के लाग्छ भने त्यो विरोध गणतन्त्रको विरोध होइन, बरु गणतन्त्रलाई अझ परिपक्व र बलियो बनाउन आम नेपालीले गराएको सतर्कता हो । करोडौं नेपाली जनताले आफ्नो अमूल्य मत दिएर तपाई र तपाईको पार्टीलाई सरकारमा पु¥याएको हो । उनिहरुको तपाईप्रति सद्भाव र धेरै आशा पनि छन् । उनिहरु चाहँदैनन् कि तपाईको नेतृत्व कालमा नेपालमा गणतन्त्र असफल होस् । त्यसैले आफ्नो मतदाताको आवाजलाई खाली विरोधकै दृष्टिकोणले मात्र भन्दा पनि आफूलाई सजग गराएको भन्ने दृष्टिकोणले पनि बुझिलिंदा कस्तो होला ? गलैंचा काण्डकै कुरा गर्दा प्रधानमन्त्री ज्यूले भन्नु भएको एउटा कुरा चाही पंक्तिकारले अल्लि भेऊ पाएन । उहाँले भन्नुभयो, गलैंचा फेर्ने काम सरकारको हो । राष्ट्रपतिलाई यस बारे थाहै हुँदैन । किन यसमा यसमा राष्ट्रपतिलाई जोडेर विरोध गरेको । मैले नबुझेको कुरा चाहि निर्णय चाहि सरकारले गर्ने भए पनि काम सरकारले गर्ने भए पनि राष्ट्रपतिलाई पूर्व जानकारी हुन्छ होला नि सरकारले यस्तो गर्दैछ भनेर । कि हुँदैन ? यदि हुँदैन भने देशमा हाहाकार मच्चिरहेको बेला आफ्नै निवासमा करौंडाको गलैजा फेरिदै छ भन्नेसम्म पनि थाहा नहुने राष्ट्रपतिलाई देशको बारेमा अरु के थाहा हुन्छ ? यदि पूर्व जानकारी हुन्छ भने राष्ट्रपतिले भैगो यस्तो बेला गलैंचा नफेरौं । बरु औषधी उपचारमै त्यो पैसा खर्च होस् भनेर किन सरकारलाई भन्न सक्नु भएन ? प्रधानमन्त्री प्रश्न यही हो । अब यसलाई तपाई राष्ट्रपतिको विरोध भन्नुस् या गणतन्त्रको ।
प्रतिपक्षका नेता गगन थापाले संसदमा कोरोनाका लागि खर्च भएको भनिएको दश अर्बको हिसाब माग्दा प्रधानमन्त्री ज्यूले हिसाब दिनुको सट्टा अहिले हिसाब माग्ने बेला होइन भन्नु भएको छ । त्यसो भए कहिले हो त बेला ? पछि हिसाब माग्दा त्यतिबेलै माग्नु पर्दैन ? प्रतिपक्षमा बसेर नि के हेरिराथ्यौं ? उहिले कुरा खुईले भनेर उखान सुनाउनु भयो भने ? यदि सरकारसंग सबै कुराको स्पष्ट विवरण छ भने जवाफ होइन, हिसाब देखाउने हिम्मत गर्नुहोस् । कि त्यसमा पनि बील मिलाउन बाँकी छ ?
प्रधानमन्त्री ज्यू या त गल्ति नै गर्न हुँदैन । या त विरोधको सामना गर्ने साहस चाहिन्छ । आमनेपालीको विरोध सुन्न सक्नु हुन्न, जिज्ञासा मेटाउन सक्नु हुन्न भने तपाईमा नेपाली जनताको प्रधानमन्त्री ुहुने हैसियत र नैतिकता दुवै छैन । हामी लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौं । हिजो जनताले बोल्न पाएनन्, नागरिकको आवाज दवाईयो, तसर्थ यो शासन व्यवस्था फाल्नु पर्दछ भनेर राणा शासन र राजतन्त्र कालमा अग्रपंक्तिमा उभिने तपाईहरु पनि होइन र ! नागरिकले बोल्न पाउन, नागरिकको आवाज नदवाईयोस् भनेरै गणतन्त्र ल्याएका होइनौं र हामीले ? अब नागरिकले बोल्न नपाउने, प्रश्न गर्न नपाउने, विरोध गर्न नपाउने हो भने नागरिकको लागि के राणा शासन, के राजतन्त्र, के प्रजातन्त्र के गणतन्त्र ? सबै उस्तै भएन र ? यो त कौवालाई बेल पाक्यो हर्स न विस्मात भने झै भएन र प्रधानमन्त्री ज्यू ? प्रधानमन्त्री ज्यू आजको लागि तपाईसंग अन्तिम प्रश्न । उखान टुक्का हालि हालि यति लयबद्ध र मिठोसंग बोल्ने तपाईलाई किन अरुको बोली सँधै नमिठो र तितो लाग्दछ हँ ? किन जनताको बोलीलाई तपाई खाली विरोधकै नजरले हेर्नु हुन्छ ? उत्तरको प्रतिक्षामा रहनेछु ।
विरोध
previous post