- रजिनलाल श्रेष्ठ
म त मलामी हिँडेको
हजुर, मलामि, झण्डाको मलामी
ती शहीदहरुको रगत पोतिएको
त्यो गौरवशाली झण्डाको मलामी
जुन झण्डा बाकेर, उहाँलाई मतपत्रको माला लगाएर अघि अघि
गाउँगाउँबाट चारभञ्ज्याङ भित्र छिरेथ्यौं पछिपछि, हामी ।
हिजोसम्म त
शहीदको रगतले धड्कन दिन्थ्यो क्यार
झण्डाको नि ज्यान थियो,
त्यो न्यानो झण्डाको ओज
समय नै संक्रमित यो क्षणमा
निस्पृह रंगको पत्रु टालो बनेछ, आज
हजुर त्यहि भएर झण्डाको शवयात्रामा
पैदल मलामी चारभञ्ज्याङ्ग कटदैछु म, आज ।
उहाँ ? उहाँ त, खै कता हो ता नेपथ्यमा
मतपत्रको माला लाएर धपक्क
तरवारको पर्खालभित्र दरवारमा हराउनु भो
निस्केसि त आम्मै झण्डालाई चिन्नै डराउनु भो
अनि त गाडिमा अर्कै झण्डा पो हल्लाएर हिँडे गमक्क ।
म त केही होइन, केवल लिस्नो रहेछु
यत्ति बुझेसि, यो भूँइया त, मूल ढोकामै अक्क न बक्क ।
के के जाति कोरोना भित्रियो लौ लौडाउन छ अहिले,
सबै घरभित्रै बस्नु है रे
घर भित्रै बस भन्छन, म कहाँ बसुँ हजुर ?
त्यो घरले नि चिन्दैन मलाई, जुन घर मैले
मेरो पसिनामा सिमेण्ट र बालुवा घोलेको
मसलाले ढलान गरेर दुइ छाक जुटाएथे,
त्यो घरमा नि अटाइन म,
जुन घरको भुँइ र भित्ताभरिका
मार्बल र प्लाष्टरमा मैले घुँडाको हाड घोटेको गन्ध
अझैपनि वरिपरि आउँछ
के गरुँ हजुर, म
शहराँ त मर्स्या भएँ, पहाडि पाखे भएँ म
त्यो राहतले नि सकेन, चिन्न मलाई
नाथे एक मुठी राहत किन्न
अहिले कसरी ल्याउँ मेरो नागरिकता हजुर ?
नागरिकता त मेरो, उहिल्यै गाउँमा साहुको सन्दुकमा
साहुलाई ब्याजको चल्ला कोरल्न ओथारो बसेको छ ।
खै लोकलाई शासन चलाउने यन्त्र हो कि
लोकले शासन चलाउने तन्त्र हो ?
चिन्न नसकेर मृततुल्य झण्डै झण्डाको पोको पुन्तुरो काँधमा बोकेर
झण्डाको शवयात्राको लस्करमा मलामि मिसिदै छु हजुर ।