विश्वव्यापी महामारी कोभिड–१९, कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि सरकारले सुरु गरेको लक डाउनको दोस्रो चरण पूरा भएको पनि आज दुइ दिन भएको छ । कोरोना भाइरसको कारणले शक्तिशाली भनिएका धेरै राष्ट्रहरुमा समेत मृत्युले तण्डब मच्चाइरहेको छ । राष्ट्रिय अर्थतन्त्रपनि धराशायी बनाइरहेको छ । यसर्थ यसको नियन्त्रणको लागि लक डाउन एउटा अपरिहार्य कदम हो भन्ने कुरा अहिले जो कसैले पनि महसुस गर्न सक्छन् । लक डाउनको कारणले नेपाल जस्तो गरीब र विकाशोन्मुख राष्ट्रको राष्ट्रिय अर्थतन्त्रमा त असर पर्ने नै भयो, त्यो भन्दा पनि अप्ठेरो अवस्था सृजना भएको छ दैनिक जिविकोपार्जनको, विशेषगरी सहरी क्षेत्रमा दैनिक रुपमा ज्याला मजदुरी गर्ने श्रमिक वर्गहरुमा । यदि यसैगरी अझ १÷२ महिना लक डाउनको समयावधी थपिने हो भने नेपालको प्रायः हर नागरिकलाई दैनिक गुजारा टार्ने समस्या हुने निश्चित प्रायः छ । तर आजको मितिसम्म लक डाउनको कारणले हात मुख जोर्ने समस्या परेको कोहि छन् भने ति दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु नै हुन् । देशको यहि परिस्थितीलाई मध्यनजर गर्दै सरकारले राहतको कार्यक्रम ल्यायो । जुन आफैमा एउटा प्रशंसनिय कार्य हो र विपत्तिको बेला एउटा जिम्मेबार अभिभावको दायित्व पनि । अहिले स्थानीय तहको नेतृत्वमा नेपालभरी राहत वितरण कार्य भइरहेको छ । नेपाल सरकारले वितरण गरेको राहत बाहेक कतिपय आमा समूह, क्लब, संघ संस्थाहरु या व्यक्ति विशेषबाट पनि राहत बाँडने काम भईरहेको छ । जुन मानवता र आपसी सहयोगको एउटा राम्रो उदाहरण हो र एउटा सह्रानिय कार्य पनि हो । नेपालमा कोरोना संक्रमणको अवस्था र विश्व परिदृश्यलाई मध्यनजर गर्दै लक डाउन अझ कति समय थप्ने, राहत वितरणको अवस्था के कस्तो रह्यो, दोस्रो चरणमा राहत वितरण आवश्यक छ/छैन, यस्ता विषयहरुमा सम्बन्धित निकायको राय सल्लाह बमोजिम नेपाल सरकारले पक्कैपनि समयमै सहि निर्णय लिनेछ । त्यस कारण यो आलेखमा म त्यतापट्टि मोडिन चाहिन । यस पटक मलाई चर्चा चाहिँ त्यो दृश्यको गर्न मन लागिरहेको छ, जुन राहत वितरणको समयमा देखियो ।
दैनिक ज्याला मजदुरी गर्ने श्रमजिवी वर्गलाई लक्षित गरी ल्याइएको राहत वितरण कार्यक्रममा दुइवटा ज्यादै उराठ लाग्दो दृश्यहरु देखिन पुगे । एउटा राहत लिनेको, अर्काे राहत वितरण गर्नेको । राहत कार्यक्रमको घोषणासंगै सामाजिक सञ्जालहरुका राहत वितरण गरिएका तस्विरहरु देखिन थाले । सामाजिक र राम्रो कामको प्रचार हुनु गलत होइन तर केहि दिन यता यसरी तस्विरहरु देखिन थाले मानौं फेसबुकमा राहत वितरणको फोटो पोष्ट गर्ने प्रतियोगिता चलिरहेको छ । यदि कोही व्यक्ति विशेषले आफ्नो निजी खर्चमा राहत वितरण गर्छ भने त्यस्ता तस्विरहरुसम्म पाच्य हुन सक्छन् किनभने उसले आफ्नो मेहनत र पसिनाको कमाइ दिँदैछ । तर सरकारी कोषबाट आएको राहत वितरण गर्नु छ अनि यसरी तस्विरहरु खिचिँदै छन् र सामाजिक सञ्जालमा पोष्ट गरिँदैछन् मानौं उसले आफ्नो गास काटेर दिएको होस् । राहत वितरण गरेका तस्विर खिचिनु नै हुँदैन भन्ने मेरो तर्क होइन तर तस्विर कसरी खिचिएको छ भन्ने कुराले धेरै अर्थ र महत्व राख्दो रहेछ । लिने लिँदैछन्, दिने दिँदैछन् यहि अवस्थामा कुनै तेस्रो पक्षले तस्विर लिइदिन्छ भने त्यो स्वाभाविक हुन्छ, एउटा हेर्न लायकको तस्विर । तर यहाँ त मानिसहरु राज्यकोषबाट खरिद गरिएको राहत वितरण गर्दा यसरी सल्फी खिचिरहेका छन् मानौं उ भन्दा ठूलो समाजसेवी र दानवीर अरु कोही छैन । तेस्रो पक्षले लिइदिएको तस्विर र भिडियोहरुमा पनि राहत बाँडनेहरुलाई राहत हातमा प¥यो परेन भन्ने भन्दा तस्विर भिडियोमा आफ्नो अनुहार प्रष्टसंग आए नआएको कुराले पिरलो परेको सहजै अनुमान गर्न सकिन्छ । आफ्नो कामको प्रशंसा अरुले गरिदिँदा राम्रो हो । यसरी आँफै आफ्नो प्रशंसा र प्रचार गर्न तल्लिन हुनुलाई कसरी बुझ्ने खोई ?
राहत शब्दले आफैमा बाध्यतालाई बुझाउँछ । राहतको सामान लिनु बाध्यता हो, रहर होइन । तर यसरी तस्विरहरु खिचिन थालेका छन् जसले गर्दा मानिसहरुलाई राहत लिनै अप्ठ्यारो महसुस भएको छ । तस्विरहरु सामाजिक सञ्जालमा यसरी पोष्ट हुँदैछन्, मानौं उभन्दा दुःखी, गरीब र दरिद्र समाजमै कोही छैन । उनीहरु फोटोमा आफ्नो मुहार बचाउँदै गरेको प्रष्ट देखिन्छ मानौं उसले राहत लिएर कुनै ठूलै अपराध गरेको होस् । हरेक व्यक्तिको व्यक्तिगत स्वाभिमान र आत्मसम्मान हुन्छ । चाहे त्यो सडकमा मागेर एक छाक खाने होस् या चाहे तारे होटलमा चौरासी व्यञ्जन खाने होस् । तसर्थ दृश्यहरु क्यामेराको क्यानभासमा कैद गर्दै गर्दा कसैको आत्मसम्मान र स्वाभिमानमा ठेस नपुगोस् भन्ने तर्फ पनि हामीले ध्यान पु¥याउनु जरुरी छ कि ?
अर्काे उदेकलाग्दो दृश्य देखियो राहत लिनेहरुको । प्रष्ट रुपमा भन्दा सरकारले राहतको कार्यक्रम ल्याएको ति श्रमजिबी वर्गहरुको लागि हो जो दिनभर कमाएर बेलुकाको सांगा टार्छन । तर समाजमा आफुलाई सम्पन्न भन्न रुचाउनेहरुको पनि राम्रै उपस्थिती देखियो, राहत लिनेको लाइनमा । घाँटीमा साँङ्लो जत्रो सुनको सिक्री लगाएका कतिले त राहत पाउनेको नाममा आफ्नो नाम नपारिदिएकोमा गुनासो गर्न भ्याए, आक्रोष पोख्न भ्याए । जनप्रतिनिधिहरु पनि आ–आफ्नो मान्छेलाई मात्र सिफारिस गरेको भनेर दोषा दोष गर्न उत्रिय कतिपय ठाउँमा । यहि दृश्यले सोच्न बाध्य बनाउँछ, के हामी नागरिकहरुमा पनि मानवता र नैतिकता अनि लाज सरम हराएकै हो ? हामी सधैं सरकारलाई दोष दिन्छौं, सरकारले यसो गरेन÷त्यसो गरेन, यो गलत ग¥यो ÷त्यो गलत ग¥यो । तर हामी आफै चाहीँ नागरिक दायित्व र जिम्मेबारीप्रति कति सचेत छौं त ? सरकारले वास्तवमै अप्ठ्यारोमा परेका श्रमजिवी निमुखा वर्गका लागि भनेर ल्याएको राहतमा हुनेखानेहरुले पनि भाग खोज्नु यो हाम्रो कस्तो नैतिकता हो ? हातमा १५/२० हजार पर्ने मोवाइल सेट बोकेर, छपक्कै सुनका गहना लगाएर १० केजी चामलको लागि लाइनमा बस्ने ? राज्यकोषको भनेपछि केही छाड्नै नहुने ? भलै त्यसको आवश्यकता अरुलाई किन नहोस र मानविय दृष्टिले हेर्दा हकदार अर्के किन नहोस् । के यहि हो हाम्रो नागरिक दायित्व ? हिन्दी भाषामा एउटा व्यङ्यात्मक भनाइ छ, “फ्रिमे मिली तो भाइ अलकत्रा भी पिली” कतै हामी पनि त्यस्तै त भइरहेका छैनौं ? एक पटक आफ्नै आत्मालाई साछी राखेर सोच्ने हो कि ?
एउटा राज्य सफल हुन नेतृत्व मात्र राम्रो भएर हुँदैन उक्त राज्यका नागरिक पनि त्यत्तिकै जिम्मेबार हुन आवश्यक छ । हामी फलानो नेताले यति खायो, ढिस्कानाले यति खायो भनेर विरोध गर्ने अनि आफै पनि राज्यकोषको पाए कौडीसम्म पनि नछोड्ने ? यदि हामी साँच्चै राष्ट्रको सचेत, जिम्मेबार र देशभक्त नागरिक हौं भने हामीले नेतृत्वलाई खवरदारी गर्ने मात्र होइन स्वयम आफुमा पनि सुधार ल्याउनु जरुरी छ । हामी भित्र रहेको लोभ, लालच, इष्र्या जस्ता कुविचार, कुसंस्कृतिको आफैबाट अन्त्य गर्नु जरुरी छ । खैर २०७६ साल पनि अब केही दिनमात्र शेष छ । नयाँवर्षले हामी सबैमा यस्ता कुविचार र कुसंस्कृतिको अन्त्य गराओस् र हामीमा साँच्चै नै एउटा जिम्मेबार र नैतिक नागरिक बन्न सक्ने क्षमताको विकास गरोस् । विश्वव्यापी माहामारीको अन्त्य गरी ०७७ साल एउटा सुखद समाचारसंगै आगमन होस् । सबैमा नयाँ वर्ष २०७७ को अग्रिम शुभ कामना ।
राहत वितरणमा जे देखियो
previous post