रमेश विकल
नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सरकार बनेका शनिबार दुइवर्ष पूरा भएको छ । गत आम निर्वाचनमा तत्कालिन नेकपा(एमाले) र माओवादी केन्द्रकोे संयुक्त गठबन्धनले संघिय संसदमा बहुमत प्राप्त गरे संगै २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।
शनिबार नै प्रधानमन्त्री अोलीले संघीय संसदमा २१ पृष्ठ लामो लिखित सम्बोधन गर्दै स्थीर सरकार बन्नु सफलता भएको उल्लेख गरे । यो सरकार स्थीर भएकाले दीर्घकालिन सोचका साथ काम गरेको बताएका ओलीले विकास खर्च बढ्न नसकेको र साधारण खर्चमा नियन्त्रण गर्न नसकेकोमा भने चित्त बुझ्दो जवाफ दिन सकेनन् ।
यस अघिका सबै जसो भाषणहरुमा बडो फुर्तिला र आत्मविश्वासी देखिने प्रधानमन्त्री ओलीलाई यस पटक काँचको पर्दा अगाडी बसेर नियालेका दर्शकले उत्साहहिन र उदास पाए । न त प्रधानमन्त्रीको हाउभाउमा उत्साह थियो न बोलिमा न त मुहारमा नै । दोस्रो पटक सरकारको नेतृत्व गर्दै गर्दा युवा जोशका देखिने ओली यस पटक थकित र गलित देखिन्थे । बिहान भर्खर जोत्न मेलामा पुग्दा पाको गोरुलाई ढिलो हिडेको भनेर खिसिट्युरी गर्ने बहर गोरु एक छिनमा थाकेर पाकोको भरमा हिँडिरेहेको जस्तो हाउभाउ थियो, ओलीको ।
उनले सरकारको दास्रो वर्षलाई विकासको आधार वर्षको रुपमा परिभाषित गर्दै भने, पानी जहाज, रेल, रंगशाला र एयरपोर्ट जस्ता संरचना तत्काल बन्ने होइन । जबकि प्रधानमन्त्री बनेका केही दिनमा एपि वान टीभीलाई दिएको अन्र्तवार्तामा उनले दुइ वर्षमा रेल र पानी जहाज ल्याउने उल्लेख गरेका थिए । गत पुष १६ लाई मिति नै तोकेर पानी जहाजको टिकट काट्न बोलाएका ओलीको बोलीमा शुक्रबार आएको परिवर्तन शायद नेकपाका कार्यकर्ताका लागि पनि विष्मयकारी थियो ।
भष्टाचार, बेथितीलाई विरासतको रुपमा आफ्नो सरकारलाई प्राप्त भएको उल्लेख गरेका ओलीले दशकौं अगाडि सुरु भएका बहुवर्षै योजना पूर्ण भएको कुरालाई भने आफ्नो सरकारको महत्वपूर्ण उपलब्धी भन्न भ्याए । अझ भर्नादर बढ्नु र विद्यालय छाडेने दर घट्नुलाई पनि उनले सरकारको दुइवर्षे उपलब्धीका रुपमा चर्चा गर्न भ्याए ।
जबकी यो अभियान चलेको वर्षाै भयो र यी दुवैकाम निरन्तर हुँदै आएका थिए । एमसिसीका सन्दर्भमा आवश्यक अध्ययन गर्न कार्यदल बनाउने पार्टी निर्णयको वेवास्ता गर्दै संसदमा प्रस्तुत हुनासाथ पास हुने उल्लेख गरेका उनले सधैंझै जनस्तरबाट व्यक्त असन्तुष्टिलाई भने खिसिट्युरी गरे । ललिता निवास जग्गा प्रकरणमा महासचिव विष्णु पौडेललाई बचाउन लागि परेका उनले अख्तियारको नियतमाथि शंका गर्नेहरुलाई ड्रागन प्रेमी युवा जस्तो भनेर व्यङ्ग गर्न पनि भ्याए ।
निर्मला पन्तको हत्यारा अब कानुनी कठघरामा आउने उल्लेख गरेका प्रधानमन्त्रीले झण्डै सवा घण्टा लगाएर पढेको लिखित भाषणमा जे भनिएको भएपनि सरकारका काम कारवाहीबाट आम नागरिक भने सन्तुष्ट छैनन् । वाइडबडी, ३३ केजी सुन, मेलम्ची खानेपानी, एनसेलको कर,यति होल्डिङ्गलाई दिइएको जग्गा ,गुठि विधेयक जस्ता थुप्रै विषयमा प्रधानमन्त्रीले आम नागरिकको चित्त बुझ्ने सम्बोधन गर्न सकेनन् ।
विपक्षी कांग्रेसलाई होच्याउँदै गर्दा टीभी अगाडि रहेका नेकपाको कार्यकर्तालाई एकछिन आनन्द त आयो होला तर झण्डै दुइतिहाइको समर्थन सहितको सरकारले जुन अनुपातमा जन सरोकारका विषयमा काम गर्छ भन्ने आशा कार्यकर्ता पङ्तिमा थियो, त्यसमा भने तुषारापात भएको कुरा उनीहरुको आत्माले अवश्य स्वीकारेको हुनुपर्छ ।