–जति उपचार गरेपनि छोरो निको नहुने देखेपछि बाबुले त्यो बिरामी छोरालाई रेल चढाएर दक्षिण भारतको एक रेल स्टेशनमा लगेछन् । त्यहाँबाट पनि गाउँतिर जाने एउटा छोटी स्टेशनमा पु¥याएछन् । त्यस्तो ठाउँमा लगेर स्टेशनमै गम्छा ओछ्याएर बसाएर विस्कुट र एक दुई रुपयाँ राखिदिएछन् । त्यसपछि एक छिन बस है भनेर उसलाई छोडेर फर्केछन् । (छोराको मायाँ मारेपछि पृष्ठ ३१)
–तपाईलाई किन लुकाउने, संसार यस्तै हो, चल्नु पर्ने, तपाईलाई थाहा छ, छोराले सम्पर्क नै गर्दैन, रगत आफ्नै हो, व्यवहारिक कारणले मैले स्वीकारें भनिन् । (ससुराको बाद्यता पृष्ठ ८३)
–सभ्य मानिसलाई पनि साइकियाट्रिष्टहरुले विरामी भन्दछन्, दिमाग परिवर्तन गर्नलाई औषधी ख्वाउँछन् । (मानिसहरुको स्वार्थीपन पृष्ठ ३२९)
–दिनेश डिसी र डा. विश्ववन्धु मिलेर मेरो लोग्नेलाई जबरजस्ती भर्ना गरी मेरो लोग्नेको नाममा जथाभावि पैसा उठाएर खाए । (मानिसहरुको स्वार्थीपन पृष्ठ ३३२)
माथि उल्लेख गरिएका भनाई र प्रसंगहरु बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वन्धु शर्माको पुस्तक मान्छेको मनबाट उद्धरण गरिएको हो । जसलाई मञ्जरी पब्लिेकेशनले प्रकाशन गरेको हो । लेखकले समग्र पुस्तकलाई तीन खण्डमा बाँड्नु भएको छ । मेरो अनुभवमा मानसिक रोग, मैले भोगेको जीवन र मनका कुरा । मानसिक स्वास्थ्यको क्षेत्रमा चार दशक लामो अनुभव संगाली सकेपछि तयार भएको पुस्तक जसको विषयवस्तु र क्षेत्रसंग पंक्तिकारको कोषौंकोष न कुनै सम्बन्ध छ, न कुनै अध्ययन । यस्तो पुस्तकको समिक्षा गर्नु लेखन कार्यमा वामेसर्न सिक्दै गरेको पंक्तिकारको क्षमताले भ्याउँदैन । र पनि संयोगवस पुस्तक पढ्ने साईत जुरेपछि शुरुदेखि अन्त्यसम्म पढें र पुस्तक पढेपछि आफूमा उब्जेका भावना र अनुभवलाई व्यक्त नगरिरहन सकिन । यो आलेखको साईत यसरी जुरेको हो । तसर्थ यसलाई पुस्तक समिक्षा भन्दा पनि पंक्तिकारको व्यक्तिगत भावना र बुझाईका रुपमा लिईदिनु होला ।
डा. शर्मा आफैमा एक बरिष्ठ मानसिक रोग विशेषज्ञ हुनुहुन्छ र यो पुस्तकमा उहाँले मानसिक समस्याका प्रकार, कारण, प्रभाव आदिको बारेमा खुलाएर व्यक्त गर्नुभएको छ । यो पुस्तकको अध्ययन गरेपछि हामी स्पष्ट हुन सक्दछौं, मानसिक स्वास्थ्यको कुरालाई लिएर हामी कति भ्रमित छौं, हामी कति अनजान छौं । कतिकुराहरु रहेछन् हामीले जान्नै पर्ने, बुझ्नै पर्ने, तर नजानेको नबुझेको । नेपाली समाजमा आजको दिनमा पनि मानसिक समस्या भनेपछि कसरी लिईन्छ ? हिजोका दिनमा शिक्षा र स्वास्थ्य सेवाको कमि हुँदा झन समाजको अवस्था कति दर्दनाक थियो भन्ने कुराको स्पष्ट चित्रण पाईन्छ, मान्छेको मनमा मानसिक स्वास्थ्यको बारेमा खुलेर बोल्न डराउने र हच्किने शिक्षित जमातको पनि राम्रैसंग उल्लेख भएको छ, पुस्तकमा ।
पुस्तकमा मानसिक स्वास्थ्य के हो भन्ने कुरा मात्र नभएर कतिपय डाक्टरका जीवन भोगाईका कुराहरु अनि कतिपय नीजि जीवनका कुरा पनि छन् । आफ्नो सेवा अवधिमा डाक्टरले भोग्नु परेका, झेल्नु परेका विभिन्न केशहरुले मानसिक समस्याको चित्रण मात्रै गर्दैन, हिजोदेखि आजसम्मको नेपाली समाज र सोचाईको पनि चित्रण गर्दछन् । चाहे त्यो मानसिक स्वास्थ्यसंग सम्बन्धित क्षेत्र होस् या चाहे अन्य कुनै क्षेत्र । पंक्तिकारले आलेखको शुरुवातमा उल्लेख गरेका परिदृष्यहरु नेपाली समाजलाई प्रतिविम्वित गर्ने दृष्यहरु हुन् । पहिलो सन्दर्भले मानसिक समस्याले घर परिवारमा उत्पन्न गर्ने समस्यालाई देखाएको छ । कसरी एउटा बुवाले आचित भएर आफ्नै छोरालाई अलपत्र पारी फर्कन्छन् । दोस्रो सन्दर्भले त्यो नेपाली समाजलाई चिनाउँदछ । जहाँ बंश चलाउन छोरा तर्फकै सन्तान चाहिने मान्यता आजको मितिसम्म पनि छ । अझ विशेष गरी शिक्षित र धनाढ्य घरपरिवारमा वंश चलाउनका लागि मान्छेले के के सम्म गर्दछ भन्ने थाहा पाउन पृष्ठ ८१ बाट शुरु हुने “ससुराको बाध्यता” पढेर जान्न सक्दछौं । आजको समयमा मान्छेहरु कति स्वार्थी भएका छन् भन्ने बुझ्न पृष्ठ ३२९ र ३३२ को घटनालाई अध्ययन गरे पुग्दछ । मान्छेको मनमा यस्ता धेरै घटना र प्रसंगहरुको उल्लेख छ, जहाँ हामी हाम्रो समाजको चित्र पाउँछौं, अध्यारो चित्र । तर कतिपय यस्ता प्रसंग र घटनाहरु पनि जस्लाई पढ्दा खुशी र प्रसन्नताले आँखा आफै रसाउँछन् ।
मान्छेको मनले मानसिक समस्या र नेपाली समाजलाई मात्रै होइन, नेपालको विगतको राजनीति र कर्मचारी तन्त्रलाई पनि केलाएको छ । डा. शर्माले अध्ययन पश्चात जागिरको लागि गरेको संघर्ष पढ्दा आजको समयको बेरोजगारी पनि झल्झली मष्तिष्कमा घुम्दछ । केही नयाँ गरौं भन्ने प्रयासमा सरकारले सहयोग नगरेको देख्दा खै कताबाट हो, महाविर पुन पनि स्मृतिमा आउन थाले । समय फेरिएपनि राज्य हिजो पनि त्यस्तै रहेछ, आज पनि त्यस्तै छ । आफ्नो अध्ययन खर्च उठाउनका लागि डाक्टरहरुले माल प्राक्टिस गर्ने कुरा स्वयम् एउटा डाक्टरको भोगाई र बुझाईबाट थाहा पाउँदा हामी यो मान्न बाध्य हुन्छौं कि सरकार मेडिकल माफियासंग डराएकै हो । पक्का हो ।
मान्छेको मनमा उल्लेख भएका स्वास्थ्य सम्बन्धी प्रसंग र नेपाली समाजको चित्रण मात्रै होइन, लेखकको स्वयम् कतिपय व्यक्तिगत भोगाई र नीजि प्रसंगहरु पनि चाख लाग्दा र उत्प्रेरित गर्ने खालका छन् । अध्ययन र मेहनतले कसरी हामीले बुझ्ने गरेको लद्दु विद्यार्थी पनि एउटा सफल डाक्टर बन्न सक्दछ भनेर बुझ्न प्रत्येक अभिभावकले पनि पढ्नै पर्दछ– ‘मान्छेको मन’ । आज शिक्षामा सहज पहुँच भएर पनि क्लास बङ्क गर्दै हिड्ने विद्यार्थीहरुले पढ्न जरुरी छ । त्यो समयमा डा. शर्मा लगायतले कसरी कोठमा बास बसी स्कूल पढ्थे भनेर थाहा पाउन । नेपालमा केही छैन, भविष्य छैन भन्ने प्रत्येक युवाले पढ्न जरुरी छ– ‘मान्छेको मन’ । यो थाहा पाउनका लागि कि कसरी संघर्षले सफलता दिलाउँछ । कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा कसैले नदेखेको भविष्य डा. शर्माले देख्नु भयो र आजको डाक्टर विश्ववन्धु शर्मा बन्नुभयो । प्रत्येक डाक्टरले पढ्न जरुरी छ, यो बुझ्नका लागि कि आखिर के हो डाक्टरी पेशा ?
केही मानसिक समस्याको कुरा, केही डाक्टरसावका तितामिठा भोगाई र अनुभवका कुरा, कहिँ भावुक बनाउने, कहिँ प्रसन्न बनाउने, थरीथरीका प्रसंगहरु, लेखको बाल्यकाल र त्यो समयको समाजको चित्रणले पक्कै पनि मान्छेको मनलाई चार सय पचासी रुपयाँ हाल्दा खेर गएको महसुस हुँदैन । यो पुस्तक पढीसक्दा व्यर्थै पढेछु । समय मात्रै खेर गयो भन्ने लाग्दैन । आजको २१औं शताब्दिमा हिडिररहँदा पनि हामीलाई मानसिक समस्या सम्बन्धी जति थाहा हुनु पर्ने हो त्यति थाहा छैन । जुन किसिमको बुझाई हुनुपर्ने हो, त्यो हामीले विकास गर्न सकेका रहेनछौं । शिक्षित बर्गले पनि । तसर्थ हरेक शिक्षित बर्गले एक पटक यो पुस्तक पढ्दा मानसिक स्वास्थ्य सम्बन्धी नेपाली समाजको सोंचाईमा परिवर्तन ल्याउन मद्धतगार सावित हुनेछ