रमेश विकल
गतसाता संसारभर र नेपालमा अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइयो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगस्त ३० मा यो दिवस मनाउने गरिन्छ ।
यो दिन संसार भरका बेपत्ता नागरिकका परिवारका सदस्य आफुलाई पायक पर्ने स्थानमा जम्मा हुन्छन्, बेपत्ता भएको आफ्नो परिपवारको सदस्यलाई सम्झन्छन्, आफु बाहेक अरुलाई पनि उस्तै पिडा परेको थाहा पाएर मन बुझाउँछन् र साँझ घर फर्कन्छन् । भौतिक देह त घर फर्कन्छ तर मन भने उहि बेपत्ता व्यक्तिलाई सम्झेर व्याकुल हुन्छ, उसैतिर जान्छ ।
तनहुँमा बेपत्ताको सूचिमा १६ जनाको नाम छ । जान्न पाउने अधिकार भन्ने मूल नाराका साथ यो वर्ष अन्र्राष्ट्रिय बेपत्ता दिवस मनाइयो तर बेपत्ता व्यक्तिका कुनै पनि परिवारका सदस्यले उनीहरुका बारेमा जान्न पाएका छैनन् । कृष्णप्रसाद मिश्रका दाजु रामप्रसाद मिश्र बेपत्ता भएको दुइ दशक पनि बढी भयो । हरेक वर्ष दाजुको खबर पाउने आशा सहित उनी अगस्त ३० मा रेडक्रस कार्यालय आउँछन् तर कहिल्यै कुनै खवर पाउँदैनन् । २०५५ पुष २८ बाट बेपत्ता भएका उनका दाजु राज्यपक्षबाट बेपत्ता पारिएका हुन् । मिश्र भन्छन्ः कसले, कहाँबाट र कहिले गिरफ्तार गरि बेपत्ता पारेको भनेर आफुले किटानी जाहेरी दिँदा पनि राज्यले उनको खोजीमा र दोषीलाई कारवाहीमा कुनै चासो देखाएन । तत्कालिन विद्रोही पक्षबाट बेपत्ता पारिएका हरुको परिवारको अवस्था पनि उस्तै छ ।
बेपत्ता परिवार समाज तनहुँकी अध्यक्ष समेत रहेकी सर्वदा खानाललाई आफ्ना श्रीमान् श्रीराम घिमिरेको लाश वा सासबारे जानकारी पाउन मन छ, तर तत्कालिन विद्राही पक्षक घिमिरे बेपत्ता भएको २० वर्ष हँुदा समेत उनले कुनै खवर पाएकी छैनन् । परबाट कोही मानिस आएको देख्दा उनलाई आफ्नै मान्छे आए जस्तो लाग्छ । बाबु वेपत्ता हुँदा काखमा रहेको छोरो अहिले स्नातक अध्ययन गर्ने भैसकेको छ तर छोराले बाबुका बारेमा सोध्दा दिने जवाफ सर्वदासंग छैन । तत्कालिन विद्रोही पक्ष नै अहिले सरकारमा छ । सर्वदालाई लाग्थ्यो अव त आफ्ना श्रीमानको खोजीमा राज्यले चासो देखाउँछ । बेपत्ता व्यक्तिका परिवारको बारेमा राज्यले विषेश ध्यान दिन्छ । तर अवस्था ठिक उल्टो भयो । तत्कालिन विद्रोही नेताहरु आफ्नो र आफन्तको सुख सुविधामा भुले, सम्पत्ति कमाउन तिर लागे तर युद्धलड्नेहरुको बारेमा केही सोचेनन्, सहिद हुनेका परिवारका बारेमा केही सोचेनन् , शरिरमा गोली र बमका छर्रा बोकेर बाँचिरहेकाहरुका बारेमा केही सोचेनन् । राज्य पक्षले होस् वा तत्कालिन विद्रोही पक्षले बेपत्ता परेको होस्, तिनीहरुका बारेमा राज्यले गम्भीर भएर सोच्नु पर्ने खनालको माग छ । बेपत्ता परिवारलाई दुहुनो गाई बनाएर कतिपय व्यक्तिले कमाउने गरेका देखेकी खनाललाई राज्यले आफुहरुका कुरा सुन्न नचाहेका लागेको छ । सत्य निरुपण र मेलमिलाप तथा बेपत्ता व्यक्तिहरुको खोजीसंग सम्बन्धित आयोगहरु गठन र पूर्णतामा ढिलाई यसैको कारण हो भन्ने उनको ठम्याई छ । बेपत्ता परवारको सहयोगका लागि रकम आएको तर कोही पनि सम्पर्कमा नआएकाले फिर्ता गएको भन्ने प्रमुख जिल्ला अधिकारीको भनाईले म्याग्देकी धर्मकुमारी काफ्लेलाई दुःखी बनायो । राज्य भनेको त अभिभावक होइन र ? प्रश्न सूचक दृष्टिले उनले भनिन् ः अभिभावले पनि कहिँ यस्तो भन्छ र ? हाम्रो सन्दर्भमा राज्यले अभिभावकत्व गुमाएको छ । खानेकुरा बनाएकी थिएँ तर तिमीहरु समयमा आएनौ त्यसैले फालिदिएँ भनेर कुनै आमाले भन्छे कि छोरा छोरी बोलाएर खाना दिन्छे , यो पनि यहि प्रश्न होइन र ? राज्य यस्तो गैरजिम्मेबार हुन सुहाउँछ ? काफ्लेका प्रश्नै प्रश्न छन् । लोककल्याणकारी राज्य भन्ने तर नागरिकका समस्यामा बेवास्ता गरिरहने हो भने लोककल्याणकारी राज्यको चरित्र गुम्दै जान्छ । आम नागरिकमा राज्यका प्रतिको भरोषा टुट्नुले भोली फेरी समस्या निम्तिन सक्छ भन्नेतिर बेलैमा सचेत हुनु जरुरी छ ।