24.7 C
Damauli
September 16, 2026
Tanahun Awaj
Uncategorized

पहिले र अहिलेको तीज

रमेश विकल

हिन्दु सभ्यताका अनुयायी महिलाको महत्वपूर्ण पर्व तीज भर्खरै सकिएको छ । सोमबार मात्रै संसार भरका हिन्दु महिलाले श्रद्धा पूर्वक यो पर्व मनाए । ती पहिला पनि मनाइन्थ्यो र अहिले पनि तर मनाउने तरिकामा विस्तारै परिवर्तन हुँदै आएको हामी सबैले महसुस गर्दै आएका छौं ।

पहिले खासगरी छोरीहरु मागी विवाह गरेर बाबु आमासंगबाट टाढा हुन्थ्ये । घरायसी काम र कृषि कर्ममा व्यस्त रहँदा बाबु आमा र छोरीको भेटघाट सितिमिती हुँदैनथ्यो । सम्भवत दाजु– भाइ, दिदी– बहिनी अनि बुबा–आमा लगाएत परिवारका अन्य सदस्यसंग विवाह गरेर गएकी चेलीको भेटघाटको साइत जुराउन यो पर्व मनाउन थालिएको होला । समाजशास्त्री दृष्टिकोणबाट यसो भन्न सकिन्छ तर हाम्रो धार्मिक मान्यता भने अलग छ । जसको चर्चा म यहाँ गर्न चाहन्न ।

एकछिन् पहिलेको तीजको कुरा गरौं । छोरा छोरीको स्याहार सुसार गर्ने, सासु–ससुरा अनि परिवारका अन्य सदस्यको पनि सेवा सुश्रुषा गर्ने, नन्द अमाजुका अनगिन्ती अह्रोटको पालना गर्ने कामका अतिरिक्त असारमा खेत रोप्ने, केही दिन पछि गोड्ने, कोदो रोप्ने, घैया काट्ने, मास गोड्ने आदि काम सकेर थोरै समय फुर्सद निकालेर तीजको अघिल्लो दिन चेली माइत आउँथी, दाजु वा भाइको साथमा । सासुसंगबाट बढीमा पञ्चमीको भोली पल्टसम्मको छुट्टी पाएकी हुन्थी । आमा, बुबा, दिदी , बहिनी, दाजु, भाइ लगाएत माइती तिरका साथी संगीसंग भेटघाट र भलाकुसारी गर्ने अवसर वर्षमा यही ४ दिन आउँथ्यो, उसलाई । आफ्ना दामली भेट्थी, बाल्यकालका सुखद क्षणहरुको स्मरण गरेर रमाउँथी । यहि समयमा सासुका कहर, नन्द– अमाजुका यातना, लोग्नेको खप्की आदि सबैको व्यथा पोख्न पाउँथी उसले । उम्मुक्त भएर, स्वच्छद भएर आफुले भोग्नु परेका पिडा कहन पाउने अवसर हुन्थ्यो, तीज उसका लागि । माइतीको मायाँका कुरा गर्थी, बालापनका कुरा गर्थी, र त्यही अवसरको सदुपयोग गर्दै आफ्ना व्याथाहरुलाई गीतको माध्यमबाट प्रकट गर्थी । सधैं शिरमा हुने सारीको सप्को कम्मरमा वाँधेर, हिँड्दा पनि कसैले पदचाप सुन्लाकी भनेर सावधानी पूर्वक हिड्नु पर्ने उ छमछकी नाच्थी र वर्ष भरिका पिडा भुल्थी अनि थकान मेट्थी । पर्सिपल्ट सप्तर्षीको पूजा गरे पछि तीज सकिन्थ्यो अनि घर फर्किन्थी ।

अब अहिलेको तीजको कुरा गरौं । छोरी बिहे गरेर जहाँ पुगेकी भए पनि बाबु आमा र अन्य आफन्तसंग भेट्न अर्काे तीज कुर्नु पर्ने अवस्था छैन । सूचना र सञ्चार प्रविधिको विकासले छिन्छिनमा परिवारका सदस्यहरुसंग प्रत्यक्ष कुराकानी गर्न सकिने भएको छ । भिडियो कलिङ मार्फत देखादेख पनि गर्न सकिन्छ । अझै अत्यास लागे यातायातका साधन छँदैछन् , तिनले केही घण्टामै माइती घर पु¥याइदिन्छ ।

अब पहिला जस्तो सामूहिक परिवारको चलन पनि कमै छ । त्यसैले नन्द–अमाजुको चित्त बुझाउनु पर्ने अवस्था पनि रहेन अनि अहिलेका सासु–बुहारी, नन्द–भाउजु तथा अमाजु–बुहारीबीचको सम्बन्ध पहिले जस्तो तिक्ततापूर्ण हुन छाडेको छ । सासुले बुहारीलाई छोरी र नन्द– आमजुले दिदी–बहिनी सरह व्यवहार गर्न सुरु भैसकेको छ । बाल्यकालका दामली भेट्न र सुख–दुःख साट्न अनि बाल्यकालका स्मरणहरु ताजा बनाउनु पनि अब माइती घर वा गाउँ नै आउनुपर्ने अवस्था छैन । कृषि अब जीवन निर्वाहको स्तरमा छैन । खेती प्रणालीमा सहजता आएको छ । त्यसैले खेतीपातीमा व्यस्त रहने अवस्था पनि रहेन । सारीको सप्को शिरमा राखिरहन परेन अनि हिड्दा कसैले पदचाप सुन्छ कि भनेर सतर्क रहनु पर्ने अवस्था पनि अहिले छैन ।

त्यसैले पहिलेको तीज र अहिलेको तीजमा भिन्नता आएको छ । पहिले सासु–बुहारी सम्बन्धका उतार चढाब, बालापन, नन्द–अमाजुका खटनपटन, लोग्नेको खप्की आदिका गित गाइरहनु पर्ने अवस्था पनि अहिले छैन । अनि तीजमा गाउने गीतको विषय परिवर्तन भएको छ । अहिले तिजलाई महिला सशक्तीकरणको अवसरका रूपमा ग्रहण गरेर महिलामाथिको लैंगिक विभेद, दुव्र्यवहार, सदियौँदेखि भोग्दै आइरहेका अपमानजनक पीडाका व्यथा एवं वेदनालाई समाप्त पार्दै सामाजिक रूपान्तरणको पाटोको रूपमा विकास गर्ने अवसरको रुपमा लिन थालिएको छ । दर खान तीजको अघिल्लो दिन कुर्नु पर्ने अवस्था पनि अब छैन । यद्यापि यसमा सहमत हुने र नहुने ठाउँ छ ।

अहिलेका तीजका गीतमा दाइजो नल्याएकी भनेर कचकच गर्ने सासुलाई यसो गर्नु अपराध हो भनेर बताउने बुहारी तयार भएका उल्लेख हुन थालेको छ । अनि आधा आकाश ओगटेका महिलालाई समान अवसर प्रदान नगर्दासम्म समतामूलक समाज निर्माण सम्भव छैन भन्ने नारी पुस्ता तयार भएको पनि देख्न पाईन्छ ।

Related posts

विवाहित छोरीलाई अंश, अपुताली

admin

धरापमा परेको स्वाभिमान

admin

प्रजातन्त्रको विरुवा मर्न नपाओस्

admin