मैले कुनै दिदीबहिनी वा आमाहरुलाई ब्रत नराख्नुस्, साउनमा हरिया चुरा वा बस्त्र नलगाउनुस् भन्न खोजेको होइन् । तपाईंलाई हरियो चुरा लगाउँदा वा ब्रत बस्दा आनन्द आउँछ भने बस्नुस् । कहिलेकाहीँ निराहार बस्दा स्वास्थ्यलाई पनि फाइदा पुग्छ । तर आफ्नो स्वास्थ्य विग्रने गरेर होइन् ।
हिजो मात्र असार सकिएर आजबाट साउन महिना सुरु भएको छ । पङ्तिकारलाई साउनको महिनालाई हरियो साउन नामाकरण गर्न मन लागेको छ । कारण के भने विगत केही वर्षदेखि एउटा लहरको चलन बसेको छ । साउन महिना भरी हरियो रङको प्रयोग गर्ने । महिला दिदीबहिनीहरु, आमाहरु साउन महिना भर हरियो चुरा, हरियो पोशाकमा सजिन रङ्गिन रुचाउँछन् । कोहीले त साउन महिना भरी साउने ब्रत पनि राखेका हुन्छन् । कारण थाहा भएर होस् वा नभएर अविवाहित किशोरीहरुमा पनि साउनमा हरियो चुराले हात सजाउने चलन नै बसेको छ । अलिक सचेत वर्गका महिलाहरुसंग सोध्ने हो भने साउनमा हरियो चुरा र हरियो पोशाक लगाउनु र ब्रत राख्नुको कारण आफ्नो श्रीमान्को दीर्घायू र कार्य सफलताको कामनाको लागि हो भन्ने पाईन्छ । अविवाहित किशोरीहरुमा पनि आफ्नो हुनेवाला श्रीमान्को दीर्घायू होस्, प्रगति होस् भन्नका लागि साउनमा हरियो रङको चुरा तथा कपडा प्रयोग गरेका भन्ने पाईन्छ । ठ्याक्कै कारण के हो भन्ने थाहा नभएपनि साउनमा प्रयोग गरिने हरियो चुरा र पोशाकको पछाडी विविध धार्मिक आस्था र सामाजिक परम्पराको हात रहेको छ । जसको केन्द्र विन्दु भनेको पुरुष नै पाईन्छ । पुरुषको दीर्घायू र सफलताको लागि नै यी सबै कुराहरु गरिन्छन् । पङ्तिकारलाई रमाइलो र खुसी चाहीँ केमा लाग्छ भने साउन महिना पनि आफैमा हरियालीले भरिपूर्ण हुन्छ । यसर्थ महिला दिदीबहिनी, आमाहरुले लगाउने हरियो चुरा, हरियो पोशाकले ठ्याक्कै प्रकृतिसंग तालमेल मिलाए जस्तो भान हुन्छ । भलै हामीले आफ्नो वरिपरीको हरियालीलाई जोगाउन भने पर्याप्त ध्यान प¥याउन सकेका छैनौं ।
पङ्तिकारले यो आलेख मार्फत उठान गर्न चाहेको विषय चाहीँ के हो भने महिलाहरु तीजको ब्रत राख्छन्, साउनको ब्रत राख्छन्, स्वस्थानी ब्रत राख्छन् र अरु पनि धेरै प्रकारका ब्रतहरु । तर सबै ब्रतहरु पुरुषकै लागि मात्र । वर्षभरी राखिने अनेकौं ब्रतहरु मध्ये के कुनै एकमात्र ब्रत पनि महिलाहरुले आफ्नो केवल आफ्नो लागि भनेर राख्ने गरेका छन् त ? अझ भनौं मलिाहरुले आफ्नो श्रीमान्को सुस्वास्थ्य, दीर्घायू र सफलताको कामना गरेर यतिका ब्रत राख्दा के पुरुषले चाहीँ आफ्नी श्रीमतीको सौभाग्यको कामना, सफलताको कामना, दीर्घायूको कामना अनि सुस्वास्थ्यको कामना गरेर एउटा पनि ब्रत राख्ने चलन छ ? के महिलाहरुले सधैं पुरुषकै लागि मात्र ब्रत राख्ने हो ? के अब आफ्नो लागि ब्रत राख्नु जरुरी छैन ? के अब आफ्नै लागि पनि सोच्नु पर्ने बेला भएन र ? विश्वका धेरै देशहरुमा जस्तै नेपाली समाजमा पनि पित्रृसत्तात्मक परम्परा रहेको छ । आज पनि नेपाली समाजमा पुरुष सत्ता नै हावी रहेको छ । आदिम कालदेखि नै यो वा त्यो वहानामा महिलाहरुलाई दमन गरिँदै आएको छ । धार्मिक आस्थाहरुमा पनि पुरुषलाई उँचो स्थान दिइएको छ । पुरुषले जे गर्दा पनि हुने खालको मानसिकता हामीमा विकसित छ । भगवान श्रीकृष्णले रुक्मिणीसंग विवाह गरेर पनि राधासंग प्रेमलिला रचाएको कुरालाई हामी सजिलै स्वीकार गरेका छौं । स्वस्थानी ब्रतकथामा ७० वर्षका महादेवले ७ वर्षकी गोमा ब्राम्हणीसंग विवाह गरेको प्रसंग छ, जुन कथा हामी आनन्दित हुुँदै सुन्छौं । अनि देवराज इन्द्रले आफ्नो प्यास मेटाउन छल गरेर ऋषि पत्नी मागेको कुरा पनि हामीले सजिलै स्वीकारी दिएका छौं । तर के हामीले पुज्ने भनिएका कुनै देवीले आफ्नो श्रीमान् घरमा हुँदा हुँदै अन्य देवगणसंग सम्बन्ध राखेको कथा हामीले पढेका वा सुनेका छौं ? अहँ छैन । यदि यस्तो सुन्यौं वा पढ्यौं भनेपनि हामीले तिनलाई पुज्नु सट्टा दुत्कार्ने छौं । यसो भन्नुको तात्पर्य के हो भने हाम्रो धार्मिक आस्था पनि पुरुष प्रधान नै छ । यसकारण साउनमा महिलाहरुले हरियो चुरा लगाउने, हरिया बस्त्र लगाउने, साउने ब्रत बस्ने कुरा वा परम्परा पनि पुरुषवादी सोचाई कै एउटा उपज हो । होइन भने हाम्रो संविधानको कुन चाहीँ धारामा श्रीमान्को लागि श्रीमतीले ब्रतराख्नु पर्छ भनेर उल्लेख गरिएको छ ?
आजको विश्व एक्काइसौं शताब्दीमा दौडिरहेको छ । हरेक ठाउँमा समानता र अधिकारका कुराहरु हुन्छन् । यही कुरालाई आत्मसाथ गर्दै नेपालमा पनि महिला अधिकार र महिला समानताका लागि थुप्रै कानूनी व्यवस्था गरेको छ । तर जबसम्म व्यवहारिक रुपमा समानता ल्याउन सकिंदैन, जबसम्म हामी हाम्रो संस्कारमा परिवर्तन ल्याउन सक्दैनौं तबसम्म यी नियम, कानुन र प्रावधानहरु फगत एउटा कागजी दस्तावेज सिवाय अरु केही पनि होइन् । अशिक्षितका त कुरा छोडौं शिक्षित महिलाहरु आज पनि पित्रृ सत्ता र पुरुषवादी परम्परामा पिल्सिएर बाँचिरहेका छन् । के अब पनि हाम्रो समाज यसरी नै अगाडि बढिरहने हो ? के परिवर्तन आवश्यक छैन हाम्रो समाजमा ?
यो आलेख तयार पार्नुको उद्देश्य कुनै धार्मिक आस्था र परम्पराको विरोध गर्नु होइन्, बरु कुनै पक्षलाई पिडित तुल्याइरहने रीतिमा परिवर्तन आवश्यक छ भन्नु मात्र हो । आज पनि महिला दिदीबहिनीहरु वर्षका ३६५ दिन सबै आफ्नो श्रीमान् र परिवारको बारेमा सोचेर विताउँछन् । कुनै एक दिन त आफ्नो बारेमा पनि सोच्नुस् । नजाने वर्षमा तपाईँहरु कतिवटा ब्रत राख्नुहुन्छ, कमसेकम एउटा ब्रत त आफ्नो लागि पनि राख्नुस् । आफ्नो पनि दीर्घायू, सफलता र निरन्तर प्रगतिको कामना गर्नुस् । दिनभर महिला अधिकार र समानताको भाषण, बहस गरेर श्रीमानको गोडा नढोगेसम्म तपाईंहरुलाई निन्द्रा लाग्दैन भने छोडिदिनुस् यी समानताका कुराहरु गर्न । स्वीकार्नुस कि तपाईँहरुलाई पुरुष सत्ता नै प्यारो छ । यदि त्यसो हैन भने परिवर्तन जरुरी छ । सधैं महिलाले मात्र पुरुषको लागि सोचिदिनु पर्ने ? सधैं श्रीमानकै खुसीमा श्रीमती खुसी भै दिनु पर्ने ? के श्रीमतीको खुसीमा श्रीमान्ले आफ्नो खुसी खोज्नु पर्दैन ? के श्रीमतीका आशा , अपेक्षा के छन्–त्यसबारे श्रीमान्ले सोधीखोजी गर्नु पर्दैन ? के पुरुषले महिलाका बारेमा सोचिदिनै हुँदैन र ? श्रीमतीहरु बर्षैभरी श्रीमान्को लागि ब्रत राख्छन्, भाकल गर्छन, पुजा गर्छन भने श्रीमान्ले चाहीँ श्रीमतीको राम्रोको कामना गरेर एउटा पनि ब्रत राख्न हुँदैन ? श्रीमान्ले श्रीमतीको लागि ब्रत राख्दा संसरमा भूचाल नै जान्छ र ? संसार तहसनहस नै हुन्छ र ? त्यसैले मलाई लाग्छ परिवर्तन जरुरी छ , हाम्रो संस्कारमा । दिनभर महिला अधिकारको भाषण गरेर साँझ आफुले भन्दा पहिले खाना खाएको निहुमा श्रीमती कुट्ने कलंकहरु समाजबाट सफाहुनु जरुरी छ । वर्षभरी श्रीमतीले धोएको लुगा लगाउन हुने तर एकदिन श्रीमती बिरामी परेर उसको लुगा धुन पर्दा स्वाभिमान गिरेको महसुस गर्ने हाम्रो सोचाईमा परिवर्तन आवश्यक छ । श्रीमान् कै गल्तीले गोडा लाग्दा पनि श्रीमतीले श्रीमान्को गोडा ढोग्नु पर्ने हाम्रो परम्परामा परिवर्तन जरुरी छ । यस्ता धेरै कुरा छन् जसमा अब परिवर्तन अत्यावश्यक भै सकेको छ ।
फेरी पनि भन्छु, मेरो उद्देश्य कसैको भावनामा ठेस पु–याउनु होइन । मैले कुनै दिदीबहिनी वा आमाहरुलाई ब्रत नराख्नुस्, साउनमा हरिया चुरा वा बस्त्र नलगाउनुस् भन्न खोजेको होइन् । तपाईंलाई हरियो चुरा लगाउँदा वा ब्रत बस्दा आनन्द आउँछ भने बस्नुस् । कहिले काहीँ निराहार बस्दा स्वास्थ्यलाई पनि फाइदा पुग्छ । तर आफ्नो स्वास्थ्य विग्रने गरेर होइन् । अब आफ्नो लागि पनि सोच्नुस् भन्न चाहेको मात्र । परिवार, समाज, श्रीमान् भन्दा बाहेक तपाईँहरुको पनि आ–आफ्नो व्यक्तिगत जीवन छ । त्यो जीवन जिउन नभुल्नुस् । साथै अरुको खुसीको लागि सधै आफ्नो खुसीको तिलाञ्जली नदिनुस् । अब आफ्नो खुसीको बारेमा पनि सोच्नु थाल्नुस् । अनि हामी पुरुषहरुपनि हाम्रा लागि श्रीमतीहरुले यति धेरै गर्छन भने हामीले उनीहरुका लागि केही त गर्नुपर्छ कि ? हामी पनि उनीहरुको खुसीमा खुसी हुन सिक्नुपर्छ कि ? आफुमात्र सर्वेसर्वा ठान्ने हाम्रो पुरुषवादी दम्भलाई अब त विसर्जन गर्नुपर्छ कि ?