अब सोच्नु पर्ने बेला भैसक्यो, इलाफेन्ट नै भनिरहने या एलिफन्ट भन्ने अवस्था सिर्जना गर्ने ?
अंग्रेजी भाषालाई अन्तर्राष्ट्रिय भाषाहरु मध्ये प्रमुख भाषाको रुपमा लिइन्छ । अंग्रेजी भाषाको महत्व र आवश्यकता दिनानुदिन बढ्दै गइरहेको छ । चाहे शिक्षा होस् या व्यापार या पर्यटन या प्रविधि हरेक क्षेत्रमा अंग्रजी भाषाको वर्चस्व बढ्दै गइरहेको छ । अहिलेको विश्व बजारमा प्रतिस्पर्धा गर्नको लागि अंग्रेजी भाषा एउटा अपरिहार्य आवश्यकता बनिसकेको छ । अंग्रेजी भाषाको यही बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै नेपाली विद्यालय तहको पाठ्यक्रममा पनि अंग्रेजी विषयलाई अनिवार्य विषयको रुपमा समावेश गरिएको छ । तर विडम्वना भन्नु पर्छ १० १२ वर्षसम्म अंग्रेजी भाषा पढेको एउटा विद्यार्थीले अंग्रेजी मातृ भाषीसैग सामान्य कुराकानी गर्नु त परको कुरा दैनिक रुपमा प्रयोग गरिने कर्यौ शव्दहरुको शुद्ध उच्चारण सम्म गर्न सक्दैन । कहाँ नेर चुक्यौं त हामी ? गल्ति विद्यार्थीको हो ? शिक्षकको हो ? हामीले अपनाउँदै आएको शिक्षा पद्धतिको हो ? या अरु नै कारणहरु छन् ? मैले यो आलेखमा यहि विषयमा आफ्ना विचारहरु प्रस्तुत गर्ने जमर्काे गरेको छु ।
कुनै पनि भाषाका चार सिपहरु हुन्छन् । सुनाई, बोलाई , पढाई र लेखाई । मेरो यो आलेख विशेषतः अंग्रेजी भाषाको बोलाई सिपसंग सम्वन्धित छ । मेरो बुबाहरुको पालमा आज भन्दा करिब चार दशक अगाडी अंग्रेजी भाषाको अक्षर चिनारी नै कक्षा ४ बाट सरु हुन्थ्यो अरे । तर अहिले पूर्व प्राथमिक कक्षा देखि नै अक्षर चिनारीको काम सुरु हुन्छ । कक्षा ४ सम्म पुग्दा त एउटा औसत विद्यार्थी पनि अंग्रेजीमा सामान्य कुराकानी गर्न सक्ने भैसकेको हुन्छ । त्यसो हो भने उसमा उच्चारणको समस्या किन हुन्छ त ? दोस्रो भाषाको सिकाइमा मातृभाषाको प्रभाव पर्नु भाषा सिकाईको सर्वमान्य नियम हो । के यत्तिले मात्रै विदार्थीको उच्चारण अशुद्ध भएको हो त ? या सिकाउने शिक्षककै कमजोरी हो ? म चाहिँ यहाँनेर विद्यार्थी र शिक्षक दुवै भन्दा पनि कहिँ न कहिँ व्यवस्थाको कमजोरी देख्छु । आउनुहोस् चर्चा गरौं ।
अंग्रेजी भाषामा लेख्दा अक्षर लेखिन्छ र बोल्दा तीनै अक्षरहरुलाई ध्वनीमा उल्था गर्नुपर्छ । यसर्थ शुद्धसंग उच्चारण गर्न अंग्रेजी भाषाको साउण्ड सिस्टम बारेमा जानकारी हुनु आवश्यक हुन्छ । एकातर्फ यही कुरा सिक्नको लागि एउटा विद्यार्थीले स्नातक तहको प्रथम वर्षसम्म कुर्नु पर्छ त्यो पनि यदि उसले शिक्षा संकाय अन्तर्गत प्रमुख विषय अंग्रेजी लिएर पढेको छ भने मात्र । अर्काे तर्फ आधारभूत तहसम्म अध्यापन गर्न १० जोड २ सम्मको शैक्षिक योग्यता भए पुग्ने व्यवस्था राज्यले गरेको छ । हामी वा हाम्रो शिक्षा प्रणाली यहीनिर चुक्यो भन्ने मलाई लाग्छ किनभने अधारभूत तहसम्मको अध्यापन गर्न सरकारले जुन शैक्षिक योग्यता तोकेको छ, त्यहाँसम्म त अंग्रेजी भाषाको ध्वनी प्रणालीको बारेमा उसले शिक्षणका आवश्यक हुने गरी सिकेकै हुँदैन । अनि आफैसंग पर्याप्त ज्ञान नभएको शिक्षकले विद्यार्थीलाई कसरी सिकाउने ? अझ विचारणिय कुरा त के छ भने कक्षा पाँचसम्म पढाउन सरकारले विषय विज्ञताको कुरै गरेको छैन् । शिक्षा संकायको कुनै पनि विषयमा १२ कक्षा उत्तीर्ण गरेपछि पाँच कक्षासम्म पढाउने योग्य हुने भनिएको छ । नेपाली प्रमुख विषय लिएर १२ उत्तीर्ण विद्यार्थी गणित पढाउन, गणित लिएको अंग्रेजी पढाउन अनि अंग्रेजी लिएको विज्ञान पढाउन योग्य छ वा हुनु पर्छ भन्ने मान्यता हाम्रो शिक्षा प्रणालीले राखेको छ । अन्तर्राष्ट्रि अभ्यासहरुलाई हेर्ने हो भने त्यहाँ तल्ला तहका कक्षाहरुमा अध्यापन गर्न अझ धेरै अनुभव र शैक्षिक योग्यताको आवश्यकतालाई प्राथमिकतामा राखिन्छ । तर हाम्रोमा त्यसको ठिक विपरित अभ्यास रहेको छ वा हामी साना कक्षा पढाउनु तल्लो योग्यता र अनुभवको अभ्यासमा रमाइरहेका छौं । जग बलियो नबनाउने तर घर राम्रो खोज्ने जस्तो उल्टो परिणमाको अपेक्षामा हामी हिडिरहेका छौं ।
दैनिक रुपमा पठनपाठन गर्दा प्रयोग गरिने कयौं शब्दहरु छन्, जसको हामीले अशुद्ध उच्चारण गरिरहेका हुन्छौ । जस्तै स्टुडेन्ट, हर्स, चियर, फादर, मदर, इत्यादि । इलाफेन्ट तीनै गलत उच्चारण गरिने शब्दहरु मध्येको एउटा प्रतिनिधि शब्द हो । अंग्रेजी शब्दहरुको शुद्ध उच्चारण सिक्ने भरपर्दाे माध्यम हो शब्दकोषको प्रयोग । तर शब्दकोषमा उच्चारणको लागि ध्वनी संकेतहरु दिइएका हुन्छन् जसको ज्ञान हाम्रो शिक्षा प्रणालीले आधारभूत तहसम्म पढाउन तोकेको शैक्षिक योग्यता सम्म पाउने पर्याप्त व्यवस्था छैन । अब के शिक्षकलाई मात्र दाषी ठह–याउनु न्यायोचित होला त ?मैले माथि प्रस्तुत गरेका शव्दहरुको अक्सफोर्ड डिक्सनरी अनुसार शुद्ध उच्चारण स्ट्युडन्ट, होर्स, चेअ(र), फाद(र), मद(र) हुन्छ । यहिकुरा ध्वनी प्रणालीको ज्ञानको अभावका कारण शव्दकोषमा हुँदाहुँदै पनि शिक्षकले बुझ्न सक्दैन र एलिफन्ट सिकाउनु पर्नेमा इलाफेन्ट सिकाई दिन्छ ।
यी त भए उच्चारण सम्बन्धी अति सामान्य कुरा । कुरा यतिमै कहाँ सकिन्छ र ? अरु पनि धेरै कुराहरु छन्, जसले अंग्रेजी शब्द उच्चारणमा प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । भम, क् भक सफिक्स ( प्रत्यय ) को उच्चारण , प, ट र क लाई एस्पिरियट गरी फ, ठ र ख उच्चारण गर्न मिल्ने नियम, शव्द उच्चारण गर्दा स्ट्रेस गर्नुपर्ने कुरा , एउटै शव्दलाई नामको रुपमा प्रयोग गर्दा र क्रियाको रुपमा प्रयोग गर्दा उच्चारणमा आउने भिन्नता, शव्दको अन्तिममा आउने र, ल को उच्चारण हुने नहुने अवस्था र संकेत आदि जस्ता धेरै कुराले अंग्रेजी शव्दको शुद्ध उच्चारणमा प्रत्यक्ष भूमिका खेलेका हुन्छन् । जुनकुरा मैलै माथि नै उल्लेख गरिसकें कि नेपाल सरकारले तोकेको आधारभूत तह अध्यापन गर्ने शैक्षिक योग्यता १० जोड २ सम्म अंग्रेजी भाषको ध्वनी प्रणलिको बारेमा पर्याप्त अध्यापन समाग्री समावेश गरिएको छैन । यो विषयमा न त सम्वन्धित निकायको ध्यान पुगेको छ न त अंग्र्रेजी भाषा उत्थानको निम्ति भनेर गठन गरिएका संघ संस्थाको नै । हेर्दा सुन्दा अति सामान्य लागे पनि भाषा सिकाइमा यसको धेरै ठूलो महत्व छ । यी सबै कुराहरुको व्यवस्थापनमा प्राविधिक कठिनाईहरु पक्कै होलान् तर असम्भव भने पक्कै छैन । त्यसैले अब सोच्नु पर्ने बेला भैसक्यो, इलाफेन्ट नै भनिरहने या एलिफन्ट भन्ने अवस्था सिर्जना गर्ने वा हाम्रो उही पुरानो कुरा दाहो¥याई राख्ने नेपाली भएसी विदेशीले जस्तै त कहाँ बोल्न सकिन्छ र ? बहस जरुरी छ ।