
शिक्षक,सिद्धेश्वरी मावि
व्यास–१२, कमलवारी
नेपालको शैक्षिक इतिहासमा सामुदायिक विद्यालयहरूले गाउँ–गाउँमा शिक्षाको ज्योति फैलाउन ऐतिहासिक योगदान पु¥याएका छन् । तर, पछिल्लो समय निजी विद्यालयप्रतिको बढ्दो आकर्षण र सामुदायिक विद्यालयप्रतिको घट्दो विश्वास एक गम्भीर चुनौती बनेको छ । भौतिक पूर्वाधार र सरकारी लगानी भए तापनि गुणस्तरमा अपेक्षित सुधार नआउनुको मुख्य कारण शिक्षक र अभिभावक बिचको संवादहीनता नै हो । जबसम्म यी दुई पक्षबिच बलियो सहकार्य हुँदैन, तबसम्म सामुदायिक विद्यालयको पुनरुत्थान सम्भव छैन ।
सहकार्य किन आवश्यक छ ?
विद्यालय केवल भवन र पुस्तकको समूह मात्र होइन; यो विद्यार्थी, शिक्षक र अभिभावक जोडिने एक ‘जीवन्त त्रिकोण’
हो । यसको आवश्यकतालाई निम्न बुँदाले पुष्टि गर्छन् ।
निरन्तर अनुगमनः शिक्षकले विद्यालयको चौघेराभित्र पढाउँछन्, तर घरमा विद्यार्थीको समय कसरी बित्छ भन्ने जानकारी अभिभावकलाई मात्र हुन्छ । दुवै पक्षबिच समन्वय भएमा विद्यार्थीको पढाइ र आचरण दुवैमा सुधार आउँछ ।
सिकाइको निरन्तरता (Learning Gap कम गर्न)ः विद्यालयमा सिकेका कुराहरू घरमा पुगेपछि अभ्यास नहुँदा बिर्सने समस्या हुन्छ । शिक्षकले के पढाउँदै हुनुहुन्छ भन्ने थाहा पाउँदा अभिभावकले घरमा पनि सोही अनुरूपको सिकाइ वातावरण तयार गर्न सक्छन् ।
ड्रप आउट (विद्यालय छोड्ने) दर कम गर्नः धेरैजसो विद्यार्थीले घरायसी समस्या वा सानो असमझदारीका कारण पढाइ छोड्छन् । नियमित सम्पर्कले यस्ता समस्या पहिचान गरी उनीहरूलाई विद्यालयमै टिकाइराख्न मद्दत
गर्छ ।
मनोवैज्ञानिक सहयोगः विद्यार्थीले भोगिरहेका समस्याबारे दुवै पक्ष जानकार हुँदा उनीहरूलाई मानसिक रूपमा सबल बनाउन सजिलो हुन्छ ।
सुधारका लागि चाल्नुपर्ने साझा कदमहरू
सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षक र अभिभावकले निम्न बुँदामा केन्द्रित भएर काम गर्नु आवश्यक छ ।
नियमित अभिभावक–शिक्षक बैठक (PTM)ः महिनाको कम्तीमा एक पटक अनिवार्य बैठक बसी विद्यार्थीको प्रगति र कमजोरीबारे गहिरो छलफल गर्नुपर्छ ।
घरदैलो कार्यक्रमः शिक्षकहरू कहिलेकाहीँ विद्यार्थीको घरमै पुगेर अभिभावकसँग संवाद गर्दा विद्यार्थीको वास्तविक पारिवारिक र आर्थिक अवस्था बुझ्ने अवसर मिल्छ र यसले सिकाई क्रियाकलापमा सहजता ल्याउन सकिन्छ ।
अतिरिक्त क्रियाकलापमा सहभागिताः विद्यालयका खेलकुद र सांस्कृतिक कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउँदा समुदायमा विद्यालय प्रतिको अपनत्व (Ownership) बढ्छ ।
प्रविधिमैत्री सिकाइमा निगरानीः डिजिटल युगमा बच्चाले मोबाइल वा कम्प्युटरको सही प्रयोग गरेको छ कि छैन भन्ने कुरामा अभिभावकले घरमा ‘डिजिटल पहरेदार’को भूमिका खेल्नुपर्छ ।
भोजनालय, भोजन र पोषणमा अभिभावकको सक्रियताः बालबालिकाको शारीरिक र मानसिक विकासमा पोषणको सोझो सम्बन्ध हुन्छ । विद्यालयमा दिइने दिवा खाजाको गुणस्तर कस्तो छ भन्नेबारे अभिभावकले नियमित निगरानी गर्नुपर्छ । घरबाटै खाजा पठाउँदा बजारका ‘जङ्क फुड’ भन्दा स्थानीय र पौष्टिक परिकार (जस्तैः मकै, भटमास, कोदोको रोटी) लाई प्राथमिकता दिनुपर्छ । विद्यालयको भान्छाको सरसफाइ र मेनु व्यवस्थापनमा अभिभावकले सुझाव दिने मात्र होइन, कहिलेकाहीँ स्वयंसेवकका रूपमा सहभागी भएर पनि सहयोग पु¥याउन सक्छन् । भोको वा अस्वस्थ बच्चाले प्रभावकारी रूपमा सिक्न सक्दैन भन्ने कुरा अभिभावकले बुझ्नु जरुरी छ ।
अनुशासन र आचरण निर्माणः विद्यालयमा सिकेका नैतिक कुराहरूलाई घरमा अभिभावकले व्यवहारमा उतार्न प्रोत्साहन गरेमा मात्र विद्यार्थीको चरित्र निर्माण हुन्छ ।
विद्यालय व्यवस्थापनमा सक्रियताः अभिभावकहरू व्यवस्थापन समितिमा केवल नामका लागि मात्र बस्ने परिपाटी त्यागी नीति निर्माण र आर्थिक पारदर्शितामा सक्रिय हुनुपर्छ ।
क्षमता पहिचान र प्रोत्साहनः शिक्षकले बच्चाको रुचि पहिचान गर्ने र अभिभावकले त्यसलाई घरमा फुल्ने अवसर दिने हो भने हरेक बच्चाले आफ्नो क्षेत्रमा प्रगति गर्न सक्छ ।
उत्तरदायित्व र पारदर्शिताः शिक्षकले शिक्षणलाई पवित्र सेवा र अभिभावकले विद्यालयलाई आफ्नो साझा सम्पत्ति सम्झनुपर्छ । ‘विद्यालय पठाएपछि जिम्मेवारी सकियो’ भन्ने मानसिकता अभिभावकले त्याग्नुपर्छ ।
निष्कर्षः सामुदायिक विद्यालयहरू केवल न्यून आय भएका परिवारका छोराछोरी पढ्ने थलो मात्र होइनन्, यी त समाजको ऐना र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कारखाना हुनुपर्छ। राज्यको लगानीलाई सार्थक बनाउन शिक्षकले पढाउने र अभिभावकले उचित हेरचाह तथा खबरदारी गर्ने परिपाटीको विकास हुनुपर्छ । जब शिक्षकले विद्यार्थीलाई आफ्नै सन्तान र अभिभावकले विद्यालयलाई आफ्नै घर सम्झन थाल्छन्, तब मात्र सामुदायिक विद्यालयको कायापलट सम्भव छ ।
