नेपालमा हरेक वर्षको माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइन्छ । १९९० को विनाशकारी महाभूकम्पको स्मृतिमा मनाइने यो दिवसको मुख्य उद्देश्य नागरिकलाई भूकम्पीय जोखिमप्रति सचेत गराउनु र सुरक्षित संरचना निर्माणका लागि प्रेरित गर्नु हो । नेपाल विश्वकै भूकम्पीय जोखिमको उच्च सूचीमा रहेकोले यो दिवस केवल एउटा वार्षिक तालिकाको औपचारिकतामा मात्र सीमित नभई जीवन रक्षाको ठोस कार्ययोजना बन्नु अनिवार्य छ ।
भूकम्पले मान्छे मार्दैन, कमजोर संरचनाले मार्छ भन्ने तथ्यलाई हामीले वि.सं. २०७२ को गोरखा भूकम्प तथा पछिल्ला जाजरकोट लगाएतका स्थानहरुको भूकम्पहरूबाट महसुस गरिसकेका छौँ । प्रकृतिलाई रोक्न नसकिए पनि प्रविधिको प्रयोग र सावधानीले जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ । तर, विडम्बना के छ भने, ठूला विपद् आएको केही समय हामी निकै सचेत हुन्छौँ, तर समय बित्दै जाँदा फेरि पुरानै लापरबाही दोहो¥याउन थाल्छौँ ।
आजको मुख्य चुनौती भनेको भवन निर्माण संहिताको पूर्ण कार्यान्वयन हो । सहरी क्षेत्रमा बढ्दो बस्ती र ग्रामीण भेगमा परम्परागत तर कमजोर प्रविधिले बनाइएका घरहरू अझै पनि जोखिममुक्त छैनन् । सरकारले नीति बनाउने र स्थानीय तहले त्यसको कडाइका साथ अनुगमन गर्ने परिपाटी विकास गर्नुपर्छ । नक्सा पास प्रक्रियालाई केवल राजस्व प्राप्तीको माध्यम बनाउनु हुँदैन ।
भूकम्प आउँदा के गर्ने,के नगर्ने भन्ने व्यावहारिक ज्ञान प्रत्येक नागरिक, विशेष गरी बालबालिकालाई गराउनु, गाउँघरमा उपलब्ध ढुङ्गा, माटो र काठलाई पनि भूकम्प प्रतिरोधी ढङ्गले प्रयोग गर्ने प्रविधिको विकास र विस्तार गर्नु, भूकम्पपछिको उद्धार र राहतका लागि आवश्यक उपकरण र दक्ष जनशक्ति स्थानीय स्तरमै तयारी अवस्थामा राख्नु आजको आवश्यकता हो । भूकम्प सुरक्षा दिवसको सार्थकता त्यतिबेला मात्र झल्किन्छ, जब प्रत्येक नागरिकले आफ्नो घर बनाउँदा ‘भोलिको जोखिम’ लाई ध्यान दिन्छन् । सरकारले पनि विपद् व्यवस्थापनका लागि छुट्याइने बजेटलाई राहत वितरणमा मात्र नभई ‘पूर्वतयारी र जोखिम न्यूनिकरण’ मा लगानी गर्दा राम्रो हुन्छ ।
सुरक्षित नेपाल निर्माणको संकल्प गर्ने यो दिनले हामी सबै जिम्मेवार बन्न सकौं, सुरक्षित संरचना बनाऔँ, आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको शुभकामना ।
भूकम्पीय जोखिम न्यूनिकरण-सम्पादकीय
previous post
