![](https://tanahunawaj.com.np/wp-content/uploads/2025/02/Lekh-photo.png)
“तिमिले थाहा पायौ नानिबा ? कलकत्ते साँइलो लहुरबाट आयो नि ! रेडियो बाजा ल्याको र च । अचम्मै लाग्दो गीत गाउँच,खबर आउच त्यसमा । जाने हैन त भेट्न ?” भन्दै राइँला दाइ उकालो लागे । “ओइ सुन्त ! “बाले आमालाई बोलाउदै भन्नुभयो “कलकत्ते लाहुरबाट आ छ अरे, म भेटेर आउँचु” भन्दै निस्कनु भयो । म पनि आमाले नजा भन्दाभन्दै बा को पछी लागेँ। । कलकत्तेको फराकिलो ढुङ्गा छापेको आँगनमा गुन्द्री ओछ्याएर धेरै जना बसेर गफ गर्दै रहेछन् ।
सबैको बिचमा एउटा रातो बुट्टे कपडाको खोल हालेको बाकस जस्तो राखिएको थियो । त्यही नै रेडियो रहेछ भन्ने मलाई थाहा भयो । कहाँ के भयो कस्ले के ग¥यो जस्ता समाचार आई रहेको थियो । सबैको ध्यान त्यही सुन्नमा थियो । मुखिया माइला पनि त्यहीँ बसेका थिए । बा र म पुग्ना साथ काला जुँगा गाला माथी सम्म पुगेका अनि चट्ट बटारेर हंसिया आकार बनाईएको राम्रा सुकिला कपडा लाएको मान्छेले “अरे क्या नाम ! नानी बा ! सन्चै हुनुहुन्छ ? ल बस्नुस ! एकै साथ बोले । “म त सानो फुच्चो कसैले वास्ता गरेनन् । तै पनि गुन्द्रीको छेवैमा बसेँ र कुरा सुन्न थालेँ । मुखिया माइला भन्दै थिए “पर्सि छोराको बिहे छ, तँ पनि आ को मौका मिल्यो, ल निम्ता गरेँ ! रेडियो भिरेर आएस् है” ! इज्जत पनि बडो हुन्छ । “त्यसो भए त कल पञ्चायत गएर रेडियोको लाइसन बनाउन प¥यो नि त मुखिया बा ! पञ्चायत पनि दुर छ ।” लाहुरे भन्दै थिए । मलाई भने यस्ता कुरामा भन्दा चासो रेडियो तिरै थियो । बुढाहरूका घरी घरी आउने बात सुन्दा पनि भित्रभित्रै रिस उठेर आँउथ्यो । “किन बोल्न परेको होला ? चुप्प लागेर रेडियो सुने हुन्थ्यो नि !” मेरो बालमनले भन्दै थियो । रेडियोमा समाचार सकिएछ क्या हो । लोक गीतहरू बज्न थाले । “यस्तो सानो बट्टा भित्र के छ होला ? मान्छेकै बोली कसरी आएको होला ? रेडियो स्टेशन बाट बोलेको रे, ह्वाँ बोलेको बोली कसरी यो रेडियोमा आएको होला ?” म छक्क पर्दै मनमा रेडियोको बारेमा अनेक कल्पना गर्दै थिएँ । “ए सानेकी आमा ! भाइ भतिजाहरूलाई चा पिलाउन परो,चा पकाउ तो ! “कलकत्ते लाहुरे बोले । “चा भनेको के रहेछ ? मेरो मनमा अर्को खुल्दुली थपियो । “अहा ! मिठै चिज खान पाइने भयो” ठान्दै थिएँ । एउटा बाफ उड्दै गरेको ताप्के, अनि चरेसका थाल, केही कचौरा लिएर सायद आमाछोरी होलान,आए । कालो कालो रातो रातो जस्तो तातो पानी खन्याएर कसैलाई थालमा कसैलाई कचौरामा दिन थाले । म त सानो फुच्चे झनै सानो कचौरामा दिए । चुस्स पिउन खोज्दा जिब्रो र ओठ पोलेको हिजै हो कि जस्तो लाग्छ । चिया पिएर बा र म घर फक्र्यौँ । बाटोमा “एउटा रेडियो किन्न सके कति रमाइलो हुन्थ्यो ! एउटा रेडियो त किन्नै पर्छ !” सोच्दै बा संगै घर पुगेको थिएँ ।
म ४ बर्षे बच्चा हुँदा देखेको रेडियो किन्ने सपना एक दशक पछि मात्र पूरा भएको थियो । हाम्रो घरमा रेडियो
भित्रियो । त्यो पनि जाप्निज कम्पनी नेशनल पानासोनिक । म लगायत घरका सबै खुसीले फुरफुर थियौँ । त्यो रेडियो किन्नको लागि बालाई मनाउन कम्ता गाह्रो भा थ्यो र ? मैले सानी बैनीलाई उचालेर “रेडियो नकिनिदिने भए भातै खान्न भन” भनेर झगडा गर्न समेत लगाएको थिएँ । घरमा पालेका दुइटा खसी थिए । एउटा आफैले दशैँ मान्ने र एऊटा बेचेर दान दक्षिणा मरमसलाको जोहो गर्ने भनेर बा आमा सल्लाह गरेको मलाई थाह थियो तर पनि “एउटा खसी बेचेर रेडियो किन्ने हो भन्ने कुरा आमा मार्फत बा को कानमा पु¥याएको थिँए । रेडियो सुन्ने इच्छा त बा आमालाई पनि थियो होला तर ब्यबहारिक समस्याले रेडियो किन्न गाह्रो मान्नु भएको थियो होला भन्ने लाग्छ ।
बैनी र मेरो रेडियो किन्ने एक सुत्रीय मागले बालाई प्रभाव पारेछ क्या रे ! एक दिन बेलुकाको खाना खाएर बसेका थियौँ “यौटा रेडियो भएहुँदी अहिले यस्सो समाचार सुन्न त पाइन्थ्यो” बा ले भन्नु भएको थियो । फेरि म तिर हेर्दै “यो दशैँमा मासु नखाने बरु, खसी बेचेर रेडियो किनौँ क्या हो, हुन्छ छोरा ?” बाले सोध्नु भयो । मासु त ज्यादै मन पर्ने मलाई बाले धर्म संकटमा पार्नु भयो । तै पनि मैले हुन्छ भन्दिएँ । “ल त्यसो भए भोलि रेडियो किन्न म पोखरा जान्छु” बा ले भने पछि त खुसिले सिमा नाघेको थियो । मैले त्यो राती देखेको सपनामा पनि रेडियो बजाई सकेको थिएँ । सधैँ जसो बा आमा उज्यालो नहँुदै उठ्नु हुन्थ्यो । त्यसरी नै त्यो दिन पनि उठ्नु भयो । घाम आँगनमा पर्दा पनि उठ्न गाह्रो मान्ने म त्यो दिन बा संगै उठेँ । बा पोखरा जाने तयारी गर्दै हुनुहुन्थ्यो । “खसी बेचिएको छैन । पैसा छैन भन्नु हुन्थ्यो ! फेरि अहिले नै पोखरा जाने भन्नु भा छ !” मेरो मनमा कुरा खेली रहे ।
उज्यालो भएकै थिएन आमाले खाना पकाउनु भो दिउसोको लागि खाजा पनि बनाउनु भो । बा जाँदा पोखरा म पनि जान्छु है भनेर आमा सँग रडी गरेको थिएँ, धेरै पटक ।” आमा कै अनुरोधको फलस्वरुप मेरो पहिलो पटक पोखरा जाने रहर पनि पूरा भएको थियो “म पनि बा संग पोखरा जाने भएँ । बा र म खाना खान बस्यौँ । बाकसमा थैली भित्र,कैले के पर्दो कसो पर्दो भनेर राखेको सोचोमोचो पैसा छन्, झिक तो लिएर जानु प¥यो नी” बाले आमालाई भन्नु भएको थियो । अनि त फूर्किंदै बासँग म पनि पोखरा गएको थिएँ । रेडियो किनेर ल्याएको बेलुका रेडियो सुन्न भनेर मेरा नजिकैका छिमेकी ठुले दाइ,बन्पाले माइली भाउजु ,बर्मेली कान्छा दाइ, अछामे बा र माथ्लाघरे काका सबैका परिवार बाल देखि बृद्धसम्म जम्मा हुनु भएको थियो ।
एक डेढ घण्टा सुनेर सबै आ– आफ्नो घर जानु भएको थियो । यसरी रेडियो को मेरो मनको लालच मेटिएको थियो । यो रेडियो नेपाल हो“ आवाज अति प्रिय लाग्थ्यो । कतै कामले बाहिर जानू पर्दा पनि काम निम्ट्याएर छिट्टै घर पुग्न पाए रेडियो सुन्न पाइन्थ्यो जस्तो लाग्थ्यो । भक्तराज आचार्य,तारा देवि,कुमार बस्नेत, बच्चु कैलाश लगायत गायककारहरूका गीत खुब सुनिन्थ्यो । बच्चाहरूले खुब रुचाउने पाण्डव सुनुवार द्वारा सञ्चालित बाल कार्यक्रम,कृषी प्रबिधीमुखी कार्यक्रम जेटिए र बुढीआमा,जन हित, जनचेतना मुलक, मनोरञ्जनात्मक र समाचारका कार्यक्रम सुनेर म आँफु ज्यादै सम्पन्तामा पुगेको महसुस गर्थेँ ।
अहिले त बिज्ञान प्रबिधीले ठूलो छलाङ मा¥यो । हातमा लिएको एउटा मोबाइल फोनबाट संसार नियाल्न सकिने भयो । तैपनी बिहान सबेरै उठेर आफ्नै मोबाइलमा रेडियोका कार्यक्रम सुन्ने मेरो बानी छँदै छ । सायद म छौन्जेल मेरो रेडियो सुन्ने बानी रहिरहने छ । जय रेडियो !