दमौलीका वासिन्दाको आसन्न र सम्भाव्य जोखिम बारे चर्चा गर्नु अगाडी ओशोले प्रवचनका क्रममा प्रस्तुत गरेको एउटा सन्दर्भ उल्लेख गर्न मन लाग्यो । भनिन्छ, ओशोले कहिल्यै किताब लेखेनन्, उनले प्रवचनका क्रममा प्रस्तुत गरेका प्रसंग र सन्दर्भ समेटेर भने धेरै पुस्तक लेखिएका छन् । त्यस मध्येको “पात्र कहिल्यै भरिँदैन” शीर्षक सन्दर्भलाई प्रस्तुत गरेपछि दमौलीका वासिन्दाको जोखिमबारे चर्चा गर्नेछु ।
सन्दर्भ यस्तो छः सम्राटको ढोकामा एक भिखारी उभिएको थियो । सम्राटले ऊसँग तिमी के चाहन्छौ भनेर सोधे । भिखारीले भन्यो– ’धेरै कुरा चाहँदिनँ । बस्, मेरो भिक्षापात्र भरिदिनुहोस् । भिक्षापात्र सानो थियो । सम्राटले सोचे– “यति सानो पात्रमा के अन्न भरिदिनु ! बरू स्वर्ण र असर्फी नै भरिदिन्छु ।“ अचम्म भयो । स्वर्ण र असर्फीले पात्र भरिएन । भिक्षा पात्रमा राखिएका सुन र सुनका सिक्का पनि हराए । भिखारी आफूलाई हराउन आएको सम्राटलाई लाग्यो । प्रशस्त सम्पत्ति भएका उनले सोचे– “चाहे पूरै साम्राज्य नै किन दिनु नपरोस्, तर म यस भिखारीसँग हार्ने छैन ।“ उनले भिक्षा पात्रमा अरु थुप्रै असर्फीहरू हाल्न लगाए तर आश्चर्य ती सबै हराउँदै गए । बिस्तारै राजाका हात–खुट्टा काँप्न थाले । उनी असिन पसिन भए । भारदारहरूले भने– “यसले त सबै लुटेर लैजाला जस्तो छ । यो सामान्य भिक्षापात्र हुनै सक्दैन । कुनै जादूको पात्र हुनुपर्छ । यो मानिस कुनै शैतान हुनुपर्छ । भिखारीले भन्यो– म तपाईँहरुले भने जस्तो कुनै शैतान होइन । बरु यो भिक्षापात्र मानिसको हृदयबाट बनाइएको हो । हृदय कहिले भरिन्छ र ? त्यसैले यो भिक्षापात्र पनि भरिँदैन । जुन दिन भरिँदैन भन्ने सत्यता थाहा हुन्छ, त्यही दिन तपाईंले पनि पात्र छाडिदिनुहुनेछ ।
यतिबेला पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–पोखरा खण्ड विस्तारको काम भइरहेको छ । ऋणमा विस्तार भएको यो सडकको पूर्वी खण्ड आँबुखैरेनी– जामुनेको काम गत बैशाखमा नै सकिनु पर्ने हो तर विभिन्न कारणले अझै केही प्रतिशत काम बाँकी छ र थपिएको पाँच महिनामा पनि सकिने छाँटकाँट देखिएको छैन । खासगरी विमलनगर नजिकको पहाड, छिर्कने नगिजको पहाड समयमा सडक विस्तारको काम सक्नमा बाधक बनेका छन् । समयमा विद्युत पोल नहटाउने, पानीको पाइप नहटाउने गरेका कारण पनि काम समयमा सक्न समस्या भएको हो । अझ समयमा विस्तारको काम सक्ने सम्बन्धमा समस्याको गाँठो बनेर बसेको छ, दमौली बजार । सडक विस्तारका लागि यहाँका थुप्रै घरहरु भत्काउनु पर्ने छन् । तर कतिपय मुआब्जा बुझेका घर धनी त कतिपय सडकको केन्द्र सम्बन्धी विवाद निकालका घर धनीले आफ्नो घर भत्काउन आनाकानी गर्दा दमौली बजारमा सडक विस्तारको काम हुन सकेको छैन ।
समयमा घर नभत्काएका कारण सडक विस्तारमा भएको ढिलाईका बहुपक्षिय असरहरु छन् । पहिलो त माथि नै भनियो, यो सडक विस्तार आयोजना ऋण सहयोगमा सञ्चालन भएको हो । सडक विस्तारमा ढिलाई हुँदा निर्माण कम्पनीको लागत बढ्ने छ । कुनै पनि निर्माण व्यवसायीले घाटा खाएर हाम्रो काम गरिदिने कुरा भएन । अनि आफ्नो निर्माण लागत बढेकोभन्दै सरकारलाई सडक विस्तारको लागत थप गर्ने पारिने छ । यसको अर्थ हो, हामीले यसलाई सम्पन्न गर्न थप ऋण लिनु पर्ने हुन्छ । र प्रत्येक नेपालीको टाउकोमा फेरी ऋण थपिने छ । सडकमा रहेका खाल्डाखुल्डी हुदै गाडी गुडाउनु पर्दा गाडीहरु विग्रने दर बढेको छ, यसको प्रत्यक्ष असर गाडी धनीहरुलाई परेको छ । सडक विस्तारका क्रममा धेरै सास्ती भोगेका गाडी धनी र यात्रुलाई दमौलीका घर धनीहरु थप सास्ती भोग्न बाध्य गराउँदै गरेको तथ्य हो यो । एकातिर अनवाश्यक ऋणको बोझ बोक्नु पर्ने, अर्काेतिर यात्राका समयमा सास्ती हुने भएसंगै आम सर्वसाधारणमा आक्रोष पैदा हुँदै जानेछ । सरकारी जग्गामा घर बनाएर भाडा असुल्ने, त्यसको मुआब्जा पनि लिने तर समयमा घर नभत्काएर संसारलाई दुःख दिने कार्यले मानविय धर्म समेत नभएको देखाएको छ ।
सडकका विवाद डुम्रे, थर्पु वा अन्य बजारमा पनि हुँदो हो तर त्यहाँ समस्या समाधान भएर सडक विस्तारको कामले गति लिएको छ । तर दमौलीमा सम्भवत दलको आडमा दादागिरी अलिक बढी नै भएको हो कि ? वा आवश्यक समन्वय गर्ने भूमिका पाएको स्थानीय सरकार समस्या समाधानका सन्दर्भमा उदासिन भएर हो ? सकारात्मक परिणाम भने निस्कन सकेको छैन । जिल्ला सदरमुकामले आफुलाई उदाहरणका रुपमा प्रस्तुत गर्नुपर्ने हो तर यहाँ ठिक उल्टो भइरहेको छ ।
सडक विस्तारको क्रममा भत्काउनु पर्ने तर अटेरी गरेर घर नभत्काएर सटर भाडाको लोभले वशिभूत भएर कुम्भकर्ण निन्द्रामा रहेका साहुहरुले बुझ्नु पर्ने कुरा के हो भने तपाईको कर्मले तपाईँ आफै र सिंगो दमौली जोखिममा छ । यो वर्षको वर्षायाम सुरु भएको छ । यसै पनि वर्षायाम विभिन्न सरुवा रोगहरुको प्रकोप हुने समय हो । अझ दमौलीको अहिलेको अवस्था कस्तो छ भने मूल सडक छिन्नभिन्न भएको छ । कतिपय भत्काएका घरहरुको फोहरहरु सडक छेउमा थुपारिएको छ । नाली अधिकांश ठाउँमा पुरिएको छ । वर्षाको पानी बगेर जाने उपयुक्त निकास छैन । यस्तोमा दमौलका खासगरी सडक दक्षिणका घरघरमा भल पस्ने सम्भावना छ । सामान्य वर्षामा त साँगे जाने गाडीहरु लाग्ने ठाउँमा आहाल बनेको छ भने ठूलो वर्षा हुँदा सिँङो सडक आहाल बन्ने अवस्था छ । यसमा जमेको पानीमा लामखुट्टेको वास हुने भै नै हाल्यो । यसले डेंगु लागएतका विभिन्न सरुवा रोगहरुको (जुन लामखुट्टेका कारण एक मनिसबाट अर्काेमा सर्छन्) जोखिम ह्वात्तै बढ्ने छ । यसले अस्ताताल र औषधी व्यापारीलाई त लाभ होला तर आर्थिक मन्दीले साँझ विहान हातमुख जोर्न समस्यामा भएकाहरुको दैनिकी अझ कष्टकर हुनेछ । उनीहरुको मात्र होइन एक, दुइ महिनाको भाडाको लोभमा घर भत्काउन अटेरी गर्नेहरुलाई पनि त स्वास्थ्य समस्या आउन सक्छ ।
त्यसैले यो वर्षा दमौली वासी जोखिममा छन् । लेखको सुरुमा प्रस्तुत गरेको ओशोको प्रसंगमा भनिए झै हाम्रो हृदयले बनेको लोभको पात्र त्यो कहिलै भरिँदैन भन्ने कुरा आत्मसाथ गर्दै छिटोभन्दा छिटो मापदण्ड विपरितका घर भत्काएर आफु,परिवार, छिमेकी, टोल र समुदाय मात्र होइन समग्र देशवासीको जोखिम कम गर्न सहयोग गर्न सादर आग्रह ।
जोखिममा दमौलीवासी
previous post