
शिक्षकका निम्ति अनेकौं उपमा छन्, हाम्रो समाजमा । कसैका दृष्टिमा शिक्षक पथ प्रदर्शक हो । कोही भन्छन्, शिक्षक एउटा मैनबत्ती हो जो आफु जलेर अरुलाई उज्यालो दिन्छ । शिक्षक एउटा माझी हो जसले हजारौं बालबालिकालाई ज्ञान रुपि सागर तार्छ र आफु भने किनारमै सिमित रहन्छ । शिक्षकलाई पथ प्रदर्शक, माझी वा मैनबत्ती जे भनेपनि दुबैको अर्थ ज्ञान बाँडने अर्थात अज्ञानताको अन्धकारबाट सबैलाई मुक्त गराउने व्यक्तिको रुपमा नै बुझाउन खोजिएको हो । तर संसारका केही देश बाहेक अधिकांश देशका शिक्षकहरु उपेक्षामा छन् । शिक्षकले संसार परिवर्तनका लागि गरेको योगदानको अवमूल्यन गरिएको छ । हाम्रोमा त शिक्षकहरुले राष्ट्र सेवकको दार्जा समेत पाएका छैनन् । निजामती कर्मचारी सरह सेवा सुविधा शिक्षकले पाउँदैनन् । यथार्थमा भन्नु पर्दा नेपालमा शिक्षकहरु दोस्रो दर्जाको नागरिकको रुपमा रहेका छन् । शिक्षकको हित रक्षाका लागि गठन गरिएका भनिएका संगठनहरु फगत शिक्षक नेताहरुको सुविधा प्राप्तीको सोपान भएका छन् । र आगामी साता मनाउन लागिएको विश्व शिक्षक दिवसको अवसर पारेर केही लेख्न मन लागेको छ ।
विश्व शिक्षक दिवस यो वर्ष पनि आगामी साता यही दिन अर्थात विहिबार मनाईँदैछ । तर सरकारले संसदमा पेश गरेको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका कारण क्षुब्ध बनेका शिक्षकले उत्साहसाथ मनाउने अवस्था भने छैन । आफु र आफ्नो परिवार नभनेर अहोरात्र बालबालिकाको भविष्य निर्माणमा समर्पित हुने अनि शिक्षामा रुपान्तरण गर्दै समाज रुपान्तरणको अभियानमा दिनरात नभनेर अविराम खट्ने शिक्षकको पटक्कै कमि छैन । कोेभिडकै विच कहिले विद्यालय खोल्न पाइएला र भविष्यका कर्णधार भनिने बालबालिकाको जिज्ञासा समाधान गर्न पाइएला, उनीहरु भित्रको अज्ञानको अन्धकार हटाउन पाइएला, शिक्षाको ज्योतिले उनीहरुको मनलाई प्रकाशित गर्न पाइएला भनेर व्यग्र प्रतिक्षा गर्ने शिक्षकको पनि कुनै कमि थिएन ।
कोभिडका कारण बालबालिका र समग्र विश्वले व्यहोर्नु परेको शैक्षिक क्षति कम गर्न र त्यसको परिपूरण गर्न शिक्षकको जति महत्वपूर्ण भूमिका अरुको हुनै सक्दैनथ्यो । अझ समाज रुपान्तरणका लागि शिक्षा र खासगरी बेरोजगार उत्पादन गर्ने वर्तमान शिक्षा पद्दतिमा परिवर्तन, रुपान्तरण वा सोचान्तरण गरेर स्वरोजगार मूलक अनि सहज रोजगारी प्राप्त हुने खालको शिक्षा प्रदान गर्न, विश्व बजार सहजै विक्ने श्रम शक्ति उत्पादन गर्ने कुरामा शिक्षकको जति भूमिका अरुको हुने कुरै भएन ।
हामीले देखे भोगेकै छौं कि हाम्रा साना बाबु नानीहरु हामीले भनेका कुरामा विश्वास गर्दैनन् तर विद्यालयमा शिक्षकले भनेको भनेपछि उनीहरुमा पूर्ण विश्वास हुन्छ । त्यसैले बालबालिकाको सोचमा परिवर्तन गर्ने अहमं भूमिका शिक्षकको हुन्छ । चाह्यो भने समाजको पथप्रर्दशकको उपमा पाएको उसले शिक्षामा अनि समाजमा सहज रुपान्तरण ल्याउन सक्छ । र खुसीको कुरा संसारका शिक्षकमा त्यो ल्याकत र जाँगर छ । केवल खाँचो छ, प्रोत्साहनको । तर दुर्भाग्य नेपालमा खासगरी राज्य सञ्चालकहरुमा त्यो चेतना आएको छैन कि साना साना प्रोत्साहनका कार्यक्रमले शिक्षामा ठूला रुपान्तरणका लागि शिक्षकलाई तयार पार्न सकिन्छ । कोभिडको समय कै कुरा गरौं , जोखिमका हिसाबले शिक्षकले सबैभन्दा पहिले, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसंगै कोभिड विरुद्ध खोपको सुविधा पाउनु पर्ने हो । शिक्षकले खोप पाउन पनि खोप नलगाएसम्म कक्षामा जान सक्दैनौं भनेर आन्दोलन नै गर्नुप¥यो ।
राज्यद्वारा गरिएको विभेदको हिसाब गरिसाध्य छैन, शिक्षक माथि । कोभिडको जोखिमसंग जुधेर काम गरिरहेका शिक्षकहरुलाई दुरुत्साहन गर्न राज्यले कुनै कसर बाँकी राखेन । नियमित आवधिक बढुवाको व्यवस्था निजामतीको हकमा छ तर शिक्षकको हकमा थिएन । एउटा शिक्षक सेवा प्रवेश गरेको २० वर्षसम्म सोही श्रेणीमा काम गर्न बाध्य हुने अवस्था थियो । भर्खरै शिक्षक महासंघ र सरकारबीच भएको सम्झौतामा १० वर्षमा बढुकाको कुरा आएको छ तर कार्यन्वयनमा जाने कुरामा शिक्षक ढुक्क छैनन । निजामतीका लागी अस्पताल छ तर शिक्षकका लागि अस्पताल बनाउन सम्भाव्यता अध्ययन गर्ने भनेर भनिएको त छ तर बजेटको भने व्यवस्था गरिएको छैन ।
उता शिक्षकको हित रक्षा गर्छाैं भन्ने नेताहरु विदेश भ्रमण, काज आदिको ललिपपमा भुलेर शिक्षक आन्दोलनलाई कमजोर बनाउन व्यस्त छन् । राज्यले ईसिडी शिक्षक तथा कार्यालय सहायक र सहयोगी माथि विभेद गरिरहेको छ । त्यस बारेमा मौसमी आन्दोलन बाहेक निर्णायक कुनै कदमा संघ, संगठन वा तिनीहरुको छाता संगठनको रुपमा रहेको महासंघले नै चाल्न सकेका छन् । यस्तोमा शिक्षकले शिक्षामा रुपान्तरण र सोचान्तरणको आफ्नो दायित्व निर्वाह गर्दै समान अधिकारका लागि आन्दोलन पनि गर्नु पर्ने भएको थियो र असोज ३ देखि सडकमा उत्रिए । सरकारसंग केही सहमती पश्चात कक्षा कोठामा फर्केका छन् । यस पटकको आन्दोलन उपलब्धिपूर्ण बनोस् । सरकार प्रतिको शिक्षकमा व्याप्त अविश्वास हट्ने गरी काम होस् । विश्व शिक्षक दिवसको यही कामना ।