सोमबार विश्वभरसंगै नेपालमा पनि विश्व वातावरण दिवस मनाइयो । प्लाष्टिकको प्रयोगले विश्व वातावरणमा पारेको नकारात्मक प्रभावका बारेमा विश्व समुदायलाई सचेत गराउने नारा सहित यस पटकको विश्व वातावरण दिवस मनाइयो । हामीलाई थाहा छ वातावरण भनेको हाम्रो वरपरको माटो हो, पानी हो, पानीका श्रोतहरु ताल, तलैया, खोला–नाला पहाड, जंगल, जीवजन्तु, वनस्पति आदि सबै हुन । यी सबैको समान उपलब्धताले पृथ्वी, प्राणी र वनस्पतिको साझा वासस्थान बन्न सफल भएको छ ।
तर पछिल्लो समयमा बढदो वातावरण असन्तुलनले पृथ्वी सबैको साझा वासस्थान बन्न असमर्थ भएको छ । यसैको परिणाम थुप्रै वनस्पति र प्राणी विश्वबाट लोप भएर गइरके भने कतिपय लोप हुने अवस्थामा छन् । इतिहासको धेरै अगाडीको कालखण्डमा पुगेर डाइनोसर पृथ्वीबाट लोप भयो भन्नै परेन केही वर्ष अगाडीसम्म हामीले देख्दै आएका कतिपय जीव र वनस्पति लोप भएर गए । प्रकृतिक कुचिकार भनिने गिद्ध हराउँदै गएको हामी धेरैले देखेकै कुरा भयो । यस्ता धेरै जीव र वनस्पतिको नाम लिन सकिन्छ, जो हाम्रै आँखा अगाडीबाट लोप भएर गए । अहिलेकै कुरा गर्ने हो भने चाँदी झैं टल्कने हिमाल कालो देखिन थालेका छन् । कहिले खडेरी परेर मानिस प्यासले आकुल व्याकुल हुने गरेका छन् त कहिले अतिवृष्टिको कारण मानिसको उठिबास हुने गरेको छ ।
प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र वायु प्रदूषणले पृथ्वीको सन्तुलनमात्रै खल्बलिएको छैन, त्यसकै परिणामस्वरूप विभिन्न महामारी, प्रकोप र प्रलय देखा परिरहेका छन्। पृथ्वी दिनानुदिन तात्तिँदै गएको छ। खाद्यबालीको चक्र बिथोलिएको छ । यी सबैको कारण वातावरण प्रदुषण हो । हाम्रो कुरा गर्ने हो भने खासगरी हाम्रा सहरहरुमा वातावरण प्रदुषण यति बढेको छ कि प्रदुषण नाप्ने यन्त्र नै केही दिनमा अति धुलो र प्रदुषणका कारण विग्रन्छ । सहरका छेउछाउ र नदी किनारमा हेर्न नसकिने अवस्था छ, किनभने जताततै फोहरै फोहर छ र तिनले हाम्रो वातावरणलाई अत्यन्त दुषित बनाइरहेका छन् । पेट्रोलियम पदार्थको बढ्दो प्रयोग वातावरण प्रदुषणको अर्काे कारण बनेको छ । आकाश सफा देख्न रहर लाग्ने भएको छ । घरका छतहरु हेर्दा त्यहाँ कार्वनको लेप लगाएको जस्तो कालो जालो बसेको देखिन्छ । यी सबैको धेरै प्रमुख कारणहरु मध्ये एक हो प्लाष्टिकको बढ्दो प्रयोग । त्यसमा पनि नेपाल जस्ता अल्पविकसित देसमा हुने पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिक त वातावरण संरक्षणकर्मीहरुको लागि टाउको दुखाइको विषय बनको छ । नेपालले ४० माइक्रोनभन्दा कम पातलो प्लास्टिक उत्पादन, आयात र बिक्री रोक्ने निर्णय गरेको छ तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा प्रदुषण रोक्ने काममा प्रभावकारीता आउन सकेको छैन । हाम्रै व्यास नगरले नगरभित्र प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाउन खोज्दा व्यापारीहरुको असहयोगका कारण सम्भव नभएको गाइँगुई पहिल्यै चलेको हो । आफ्नै स्वास्थ्यमा अत्यन्त प्रतिकुल असर पार्ने प्लाष्टिकको प्रयोगमा लगाउन खोजीएको प्रतिबन्ध किन व्यापारीका लागि मान्य भएन ? आम मानिसको जिज्ञासाको विषय बनको छ ।
प्लाष्टिकको प्रयोगका सन्दर्भमा विश्व समुदायसंगै हामी नेपाली यति बेपर्वाह छौं कि प्रयोग नगर्दा पनि हुन ठाउँमा पनि यसको प्रयोग गरिरहेका हुन्छौं । बजारमा तरकारी किन्न जाँदा होस् या अन्य घरायसी सामान घरबाट झोला बोकेर पसलसम्म पुग्ने जाँगर हामीसंग छैन । तरकारी होस् या तेल अथा मसला वा अन्य कुनै पनि वस्तु प्लाष्टिकको झोलामा झुण्ड्याएर हिड्नुमा हामी आफुलाई सहज महसुस गर्छौैं । प्लाष्टिकले हाम्रो स्वास्थ्यमा पार्ने नकारात्मक असरका बारेमा हामीलाई जानकारी नभएर हो वा थाहा पाएर पनि मेरो एकल प्रयत्नले के नै पो फरक पर्छ र भन्ने ठानेर हो हामी प्रत्येक नागरिक प्लाष्टिकको प्रयोगमा अत्यधिक रुचि राख्ने भएका छौं । हामी मात्र किन विश्व प्लाष्टिकमा निर्भर बनेको छ । बजारबाट दैनिक प्रयोगका सामान किने ल्याउँदा त प्लाष्टिक हाम्रो घरमा आएको छ नै अझ घरको झ्याल, ढोका, पार्टेशन देखि गाग्री, बाल्टी, जग, पानी पिउने बोतल लगाएत धेरै कुरा प्लाष्टिकका छन् । यस्तो लाग्छ प्लाष्टिक विना हाम्रो दैनिक गुजारा नै चल्दैन ।
एक अध्ययन अनुसार प्रत्येक वर्ष ४० करोड टन भन्दा बढी प्लास्टिक उत्पादन गरिन्छ, जसमध्ये आधा एक पटक मात्र प्रयोग गर्न डिजाइन गरिएको छ। जसमध्ये १० प्रतिशतभन्दा कम पुनः प्रयोग हुन्छ । बाँकी ९० प्रतिशत प्लाष्टिक पानीमा वा माटोमा विभिन्न तरिकाले मिसिएर हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने अवसर पर्खेर बसिरहेको हुन्छ ।
स्वच्छ वातावरणको हकलाई नेपालले मौलिक हकको रुपमा व्याख्या गरेको भएपनि आम मानिसले स्वच्छ वातावरणमा रहन पाउने अवस्था छैन । हाम्रा नदीनाला र पाखा पखेरा प्लाष्टिकले भरिभराउ भएका छन् । यत्रतत्र प्लाष्टिकको राज छ । घरमा प्लाष्टिक, अफिसमा प्लाष्टिक, होटलमा प्लाष्टिक, पसलमा प्लाष्टिक । त्यसैले सर्वत्र प्लाष्टिक । प्लाष्टिकमय देश । तर अबपनि हामीले सचेतता नअपनाउने हो भने हामीले हाम्रो पछिल्लो पुस्ताका लागि छोडेर जाने पृथ्वी उनीहरु वस्न लायक हुने छैन । अहिले नै हामी वातावरणमा आएको वदलावका कारण अनेकौं रोगव्याध, प्राकृतिक प्रकोपको शिकार भैसकेका छौं भने आगामी पुस्ताको हालत के होला ?
त्यसैले वातावरण प्रदुषणको प्रमुख कारक बनेको प्लाष्टिकको प्रयोगमा हामीले आजै र अहिल्यैबाट सचेतता अपनाउनु जरुरी भएको छ । किनभने यसले हाम्रो पानी, जमिन र हावा सबैलाई प्रदुषित बनाएर समग्र मानव समुदायको अस्तित्व रक्षामा चुनौति थपेको छ । यस संकटको भूमरीबाट बाहिर निस्कन कुनै देशको सरकारको एकल प्रयास पर्याप्त हुँदैन । त्यसैले यसमा सरकारका अतिरिक्त निजी क्षेत्र र आम मानिसले तुरुन्त सहकार्य गर्दै यसको प्रयोगमा कमि ल्याउनु छ । प्रयोग गर्नै पर्ने भए पुनः प्रयोग गर्न मिल्ने प्लाष्टिकको प्रयोग गर्ने तथा प्लाष्टिकको सट्टामा प्रयोग हुनसक्ने अन्य वस्तुको प्रयोगमा जोड दिनु आवश्यक भएको छ । वातावरण संरक्षण गर्न सक्दा हाम्रो भविष्य सुरक्षित हुनेछ ।
हाम्रो भविष्य हाम्रै हातमा
previous post