
केही हप्ता अगाडि नेपालको बाह्रौं जनगणना २०७८ को नतिजा प्रकाशन भएको छ । नतिजा प्रकाशन गर्ने संस्था राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो र तेस्रो जनगणनाको नतिजालाई छाड्ने हो भने यस पटकको जनसंख्या वृद्धिदर सबैभन्दा कम हो र यसपटकको जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ । जनगणनाको तथ्याङ्क अनुसार नेपालमा काम गर्ने उमेर समूह (१५–५९) को जनसंख्या एक करोड ८० लाख ७१ हजार ६८५ रहेको
छ । जुन कुल जनसंख्याको ६१.९६ प्रतिशत रहेको छ ।
कुनै पनि देशको यथोचित विकासका लागि सबैभन्दा महत्वपूर्ण तत्व भनेको मानवसाधन नै हो । मानव साधनको उपलब्धता बेगर देश विकासको परिकल्पना गर्न सकिंदैन । तर जनसंख्याको आकारले त्यस देशको विकासमा प्रत्यक्ष प्रभाव पार्दछ । जनसंख्याको आकार सानो हुँदा पनि देश विकासले अपेक्षित गति लिन सक्दैन भने अधिक जनसंख्याले पनि त्यस्तै समस्या ल्याउँछ ।
वर्तमान विश्वको चिन्ताको विषय यही हो कि कुनै देशमा आवश्यक जनसंख्या नहुँदा अपेक्षित विकास गर्न सकिएन भन्ने चिन्ता व्याप्त छ भने नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुका लागि अधिक जनसंख्या टाउको दुखाईको विषय बनेको छ । तर पछिल्लो जनगणनाको नतिजाले हामी पनि केही वर्षमा जनशक्तिको अभावमा देश विकासका काममा पछि पर्छौ कि भन्ने भय उत्पन्न गराएको छ । जापान जस्ता देशहरु अल्पजनसंख्याका कारण विकास गर्न नसकिएको निष्कर्षमा पुग्दा हामीलाई पनि २०७८ को जनगणनाको नतिजाले सोही निष्कर्षमा पुग्न बाध्य पारेको छ ।
नेपाल जस्ता देशहरु जहाँको जनसंख्या वृद्धिदर अन्य विकसित भनिएका मुलुकको तुलनामा धेरै छ तर पछिल्लो दशकमा जसरी जनसंख्या वृद्धिदर घटेको छ, त्यो भने चिन्ता गर्नुपर्ने विषय हो । जनसंख्या पर्याप्त भएर मात्र नहुने रहेछ । हामीकहाँ अझैपनि गरिखाने उमेर समूहको जनसंख्याको आकार ठूलै छ । तर दुःखको कुरा हामीसंग समयानूकुल दक्ष जनशक्ति
छैन । दक्ष जनशक्तिको अभावमा हाम्रो प्राकृतिक साधनको उच्चतम प्रयोग हुन नसक्दा विकासले अपेक्षित गति लिन सकेको छैन । नेपालको भूगर्भमा फलाम छ भनिएको छ तर दक्ष जनशक्तिको अभावमा अर्बाैको फलाम हामीले खरिद गरिरहेका छौं । अरु थुप्रै प्राकृति सम्पदामा हामी धनी छौं तर त्यसको उचित उपभोग हुन नसक्दा देश विकासले गति लिन नसकेको कुरा सत्य हो ।
औद्योगिकरणको अभावका कारण आवश्यक मात्रामा रोजगारीको सिर्जना हुन सकेको छैन । कृषि उत्पादनको उपयुक्त बजार नहुँदा यता तर्फ पनि उत्पादनशिल जनसंख्या आकर्षित हुन सकेको छैन । कृषि क्षेत्रमा लागेर ढुङ्गा माटोसंग खेल्दै देशको उत्पादन प्रक्रियामा सहभागी हुने जनशक्ति देशले उत्पादन गर्न नसक्दा ६२ प्रतिशत नागरिक कृषि पेशामा संलग्न रहेको देश नेपाल वर्षेनी ५० अर्बभन्दा बढीको खाद्यान्न आयात गर्न अभिषप्त छ ।
हाम्रो शिक्षा प्रणालीले श्रमको सम्मान गर्ने जनशक्ति उत्पादन गर्न सकेन । उल्टो कुकुर काखमा च्यापेर डुल्नुलाई इज्जत महत्वपूर्ण ठान्ने तर बाख्रा पाल्ने किसान अवहेलनामा पर्ने अवस्था हाम्रोमा छ । शिक्षा स्वरोजगार मूलक बनाउने खालको हुन सकेको छैन । डिग्री पास गरेको प्रमाणपत्र एक हातमा अनि साउदी वा कतार जानको लागि अर्काे हातमा पासपोर्ट लिएर म्यानपावर कम्पनी धाउने जनशक्ति उत्पादन हाम्रो शिक्षा प्रणालीले गर्दा खासै ठूलो आकारको नभए पनि नेपाललाई आफ्नो जनसंख्या धेरै भएको
छ । जनगणना २०७८ को नतिजा भन्छ, हामीसंग गरिखाने उमेर समूहको संख्या आधाभन्दा धेरै छ । तर दुर्भाग्य त्यो जनशक्तिमा निहित उर्जाको सदुपयोग गर्न नसक्दा देशले विकासको गति समात्न नसकेको कुरा सत्य हो । अन्य कतिपय देशको तुलनामा नेपालको जनसंख्याको आकार ठूलो होइन । सम्भवत उपलब्ध जनशक्तिको सही सदुपयोग गरेर प्राकृतिक साधनको उच्चतम प्रयोग गर्न सकेको भए अहिलेको जनसंख्या आदर्श जनसंख्या हुने थियो ।
तथ्याङ्क भन्छ, हाम्रो जनसंख्या अब नियन्त्रणमा
छ । अब सही व्यवस्थापन गर्न सके अपार प्राकृतिक सम्पदाले धनी हाम्रो देश नेपालको विकास गर्न कठिन छैन । वर्षेनी हजारौं युवाहरु मानसिक तथा शारिरीक श्रमकोलागि तयार हुन्छ तर तिनीहरुलाई रोजगारीको उपयुक्त अवसर प्रदान गर्न नसक्दा पक्कै देशको विकास हुन नसकेको हो ।
“दुवई नभए कतार छ, हामीलाई के को हतार छ ?” अनि “स्वर्ग र नर्कमा त भन्न सक्दिन, तर खाडीमा हामी अवश्य भेट्ने छौं ।” भन्ने अवस्थामा हाम्रो युवा शक्ति छ । डिभी भर्नेहरको लर्काे उस्तै छ । भाषा शिक्षा लिने ठाउँहरुमा युवाहरको भिडमाड को कुरै नगरौं । कुनै युवा अझ भनौं १२ कक्षा पास गरेको युवा नेपालमा भविष्य देख्दैन । रोजगारीको कुनै अवसरको सम्भावना देख्दैन र घर, परिवार, नातागोता, आफन्त, छिमेकी सबै छाडेर विदेशिन तयार हुन्छ । पहिले पनि र विमानस्थलमा विदेशिनका लागि तयार रहँदै गर्दा उसले बाकसमा बन्द भएर आएका आफ्ना छिकेकी वा आफन्त नदेखेको होइन तर उ बाध्य छ विदेशिन । किनभने हामीले ति युवाशक्तिको उचित व्यवस्थापन गर्न सकेका
छैनौं । यही रोजगारीको अवसर सृजना हुन्छ, यही कृषि कर्म गर, तिमीले त्यसको उचित प्रतिफल पाउँछौं भन्न सकेका छैनौं । यहीँ उद्यम गर, त्यसका लागि उचित वातावरण हामी निर्माण गछौं भनेर हाम्रो राज्यले भन्न सकेको छैन ।
बेरोजगारीका कारण समाजमा विभिन्न समस्याहरु देखिन थालेका छन् । देशभित्र रोजगारीको अवसर नहुँदा विदेशिने युवाको संख्या दिनानुदिन बड्दै गएको छ । त्यसैले नेपालको अबको चुनौति भनेको जनसंख्याको व्यवस्थापन हो । रोजगारीका अवसरहरुको सृजना गर्न सके वा उत्पादक जनसंख्यालाई स्वरोजगार लगाउन सके अहिले जुन आकारको जनसंख्या छ, त्यो टाउको दुखाउने आकारको होइन तर यदि त्यसो नहुने हो भने देशले चोरी, डकैती, लुटपाट, लागुपदार्थ सेवन जस्ता विभिन्न समस्याको सामना गर्नुपर्ने हुन सक्छ । त्यसैले अवको हाम्रो प्राथमिकता जनसंख्याको व्यवस्थापन नै हो ।