–बन्दाबन्दीका कारण रोजगारी खोसिएर दैनिक गुजारा चलाउन नसकिने भएपछि काठमाण्डौंका मजदुरहरु रातारात पैदल आ–आफ्ना घरतर्फ हिड्न थाले । उनीहरुलाई थाहा थियो, प्रहरी प्रशासनलाई थाहा दिने हो भने काठमाण्डौं नै फर्काउँछन् । त्यसरी हिंडेका मजदुरका बारेमा नेपाली सञ्चार माध्यमले समाचार छापे । प्रधानमन्त्री ओलीले सञ्चार माध्यमप्रति आक्रोष पोखे, ‘प्रहरी प्रशासनले थाहा नपाउने तर पत्रकारले थाहा पाउने कसरी भयो ? यो सरकारलाई असफल देखाउन र अस्थिरता निम्त्याउन गरिएको षडयन्त्र हो ।’
–अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिन शुभ कामना दिँदै उनै ओलीले सञ्चार माध्यमले अस्थिरता निम्त्याउन खोजेको आरोप पुनःदोहो¥याए र थपे, ‘यसका विरुद्ध लडन नेकपा कार्यकर्ता सदा तत्पर छन् ।’
हाम्रा प्रधानमन्त्रीद्वारा पछिल्लो पटक व्यक्त यी विचारहरुलाई नियाल्ने हो भने राज्य सञ्चालकको आँखाको कसिँगर बनेका छ, प्रेस स्वतन्त्रता भन्ने सहजै बुझ्न सकिन्छ । अधिकांश शासकहरु प्रेस स्वतन्त्रताको विरोधी नै हुन्छन्, तर अहिलेको सरकार र खासगरी सरकारको नेतृत्वमा रहने तथा उनको आसपासमा रहनेहरु स्वतन्त्र प्रेसको बढी नै विपक्षमा रहेका छन् भन्ने कुरा विगतका र वर्तमानका अभिव्यक्तिबाट प्रष्ट हुन्छ । नभए कोरोनाको महामारीका बीच आफ्नै ज्यानको समेत प्रवाह नगरेर आमनागरिकलाई सुसूचित गर्न अनि सरकारका काम कारवाहीमा भएका कमिकमजोरी केलाउन लागि परेका सञ्चार माध्यम र पत्रकारलाई प्रधानमन्त्रीले धम्क्याउने थिएनन् ।
सञ्चार माध्यमहरु जिम्मेबार भएर निष्पक्ष र स्वतन्त्र समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने कुरामा कसैले विमति राख्ने ठाउँ छैन । पक्षधरतालाई अंगाल्ने हो भने एउटा पत्रकार, पत्रकार कहलाउँदैन र सञ्चार माध्यमले आफ्नो विश्वसनियता गुमाउँछ । संगै राज्य सञ्चालकहरुले पनि बुझ्नु पर्ने के हो भने राज्यको चौथो अंगको रुपमा रहेको प्रेस अर्थात सञ्चार माध्यममा आफू अनूकुल समाचार सम्प्रेषण नगरेका कारण अंकुश लगाउने सोंच राख्दा र सो अनुकुल आचरण गर्दा जनविश्वास गुम्छ ।
दुःख पुर्वक भन्नु पर्छ पछिल्लो समय हामी कहाँ प्रेस स्वतन्त्रता खुम्च्याउने अनेक प्रयत्न भएका छन् । पत्रकार र सञ्चार माध्यमको मानमर्दन गर्नमा राज्य सञ्चालकहरुलाई आनन्द लाग्न थालको छ । स्वतन्त्रताको भरपुर उपयोग गर्न अभ्यस्त हामीलाई यो पक्कै असहज लागि रहेको छ । त्यसैले सबै मिलेर शासकहरुको कुदृष्टिबाट बचाएर प्रेस स्वतन्त्रता कायम राख्न सचेत र सजग हुने बेला आएको छ । तथ्यपरक, भय र पक्षधरता मुक्त पत्रकारिताको मर्मलाई नभुलौं, आत्मसाथ गरौ र संगठित बनौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यही कामना ।
हाम्रो कामना-सम्पादकीय
previous post