हल्का लिनुस् न ! अलिअलि लिँदा त केहि फरक पर्दैन । अक्सर सोमरस वा सुरा ग्रहणको लागि पहिलो प्रस्ताव अस्वीकृत भएपछि दोस्रो पटक प्रस्ताव गर्दा प्रयोग गरिने वाक्यांशहरु हुन् यि ।
हल्का भए पनि लिऊ न ! अलिकति मात्रै ल ! थोरै लिनु न ! मन भएपनि राख्दिनुस् न ! यि र यस्ता खालका वाक्यांशहरुमा सबै त्यस्तो के जादु छ कुन्नी, यी वाक्यांशहरुको प्रयोग गरिसकेपछि सुरापान÷मदिरापानको लागि गरिएको अनुरोधहरु प्राय अस्विकृत हुँदैनन् । दास्रो पक्षले थोरै मात्रै है त भनेर सहमति दिईसकेपछि शुरु हुन्छ शुरापानको सुन्दर बसाई । शुरुवाती चरणका अनुरोध र वार्तालापहरु जुनसुकै तह वा वर्ग समुदायको मानिस भएपनि केहि अपवाद वाहेक प्राय उस्तै हुन्छ । जस्तो कि एउटा पक्ष कार्यक्रमको लागि तयार भईसकेको हुन्छ । अरु केहि सदस्यहरुले नाईनास्ती गर्न सक्छन् । यस्तो अवस्थामा यिनै माथि उल्लेखित वाक्यांशहरुको प्रयोग गरिन्छ । शुरुवाती चरण लगभग उस्ताउस्तै भएपनि बसाईको अन्त्य सबैको एउटै नहुन सक्छ । बसाईको अन्त्य कस्तो हुन्छ भन्ने कुरा बसाईमा सहभागि सदस्य साथिहरु के कस्तो प्रकार, गुण र विशेषणले भरीपूर्ण हुनुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ । तर अक्सर हल्का बाट शुरु भएको बसाई उल्का वा तहल्कामा गएर अन्त्य भएको पाईन्छ । यसको कारण त्यो जिनिस हो वा जिनिस ग्रहण गर्ने मानिस ? त्यो चाहिँ परस्परमा विवादित विषय होे । यसका बारेमा थप गहिरिएर अनुसन्धान गर्नुपर्ने हुन्छ । आजको अङ्कमा आउनुहोस् यहि हल्का देखि तहल्का सम्मको यात्रालाई सरसर्ती, सतही रुपमा भएपनि छिचोल्ने प्रयास गरौं ।
हल्का देखि तहल्का सम्मको यात्रालाई नियाल्ने प्रयास गर्ने हो भने सबैभन्दा पहिले हामी मदिरासँग परिचित हुनुपर्छ । सामान्य भाषामा अर्थ लगाउँदा मदिरा एक प्रकारको पेय पदार्थ हो, जसलाई पिएपछि नशाको अनुभूती गराउँछ । यसले प्रदान गर्ने नशाको आधारमा यो थरिथरि तहको हुन्छ । नामको आधारमा पनि यो थरिथरिको हुन्छ । नाम र काम दुबैको आधारमा थरिथरि हुने मदिरालाई पनि कहिलेकाहिँ जातिय, भाषिक, सांस्कृतिक आधारमा एउटैलाई फरकफरक नामले पनि चिनिन्छ ।
मदिरासँग परिचित हुने प्रयास गर्दै गर्दा यो ठीक कि बेठीक भन्ने एउटा गहन प्रश्न आउँछ । मानिसहरुले आ–आफ्नो विचार दृष्टिकोणको आधारमा विश्लेषण गरेर कसैले यसलाई ठीक पनि भन्छन् त कसैले बेठीक पनि । हाम्रो पौराणिक कथाहरुमा पनि असुरहरुले मात्र होइन स्वयम् देवगणहरुले पनि मनोरञ्जनको लागि सोमरसको पान गर्ने गरेको तथ्यहरु भेटिन्छ । सोमरसले पनि मत्याउने हुँदा यो पनि एक प्रकारको मदिरा नै हो । अब देवगणहरुले समेत ग्रहण गर्न रुचाउने चिजलाई पूर्ण रुपमा बेठीक नै हो भनिहाल्न पनि नमिल्ने पो हो कि ? त्यसकारण यसलाई ठीक कि बेठीक छुट्याउने जिम्मा पाठकवर्गलाई नै छोड्न चाहन्छु । यदि यो विषयमा पङ्तिकारको चाहिँ धारणा के हो त भन्ने जिज्ञासा कोहि कसैमा उठे, मेरो विचार चाहिँ यस प्रकार छ । संसारमशा हरेक चिजको राम्रो र नराम्रो पाटो हुन्छ । पूर्णरुपमा ठीक वा पूर्णरुपमा बेठीक भन्ने कुरा केहि पनि हुँदैन । तसर्थ जबसम्म मदिराले तपाईको जीवनमा (स्वास्थ्य, घर परिवार, समाजमा) असर पु¥याएको हुँदैन तबसम्म त्यो ठीक जब असर पु¥याउन थाल्छ तबचाहिँ यो बेठीक । त्यो अवस्थाबाट चाहिँ जतिसक्यो मदिरासँग दुरी बनाएकै जाती ।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने कतिपय जातिय समुदायहरुमा मदिराको धेरै ठूलो महत्व हुन्छ । मानिस जन्मदा र मर्दा, जीवनकालमा गरिने उसका कर्मकाण्डहरुमा मदिराको ठूलो महत्व हुन्छ । यति मात्र होइन कुलदेवता र पितृहरुलाई पनि मदिरा अर्पण गर्नुपर्ने हुन्छ । ती जातिय समुदायहरुमा मदिराको महत्व कुनै अमृतको भन्दा कम हुँदैन । यसरी कुनै जाती विषेशको संस्कृति र परम्परामा ठूलो महत्व राख्ने मदिरालाई बेठीक नै हो भनेर पाखुरा सुर्काउनुभन्दा बरु यसलाई कसरी प्रयोग गर्ने तरिकालाई कुन ठीक कुन बेठीक त्यसैको आधारमा छुट्टाउनु राम्रो होला ।
अब लागौं हल्का देखि तहल्कासम्मको यात्रा तिर । यो यात्राको बारेमा जान्दै गर्दा यो यात्रामा यात्रा गर्ने यात्रीहरु कस्ता कस्ता खालको हुनुहुन्छ भनेर जान्नु पनि अति आवश्यक छ । पङ्पिकारको अध्ययन र अनुभवले चाहिँ के देखाउँछ भने यस्तो यात्रामा यात्रा गर्ने यात्रीहरु विशेषगरी चार प्रकारका हुन्छन् । पहिलोः कसैको अनुरोध सनुरोध नपर्खने, परिआए कार्यक्रमको आयोजना र संयोजन नै आफैँ गर्ने । दोस्रोः कार्यक्रममा सहभागि हुने मन हुँदा हुँदै पनि कसैले यसो हल्का भएपनि अनुरोध गर्दिए हुनि भनेर आश गर्ने । यी प्रकारका यात्रीहरु एकैछिन यसो माहोल बुज्छज् र कसैले पनि अनुरोध गर्ने छाँट नदेखिए आफैँ घुस्रिन थालि हाल्छन् । तेस्रो प्रकारका यात्रीहरुलाई कोहि कसैले सुरापानको लागि अनुरोध गरुन् भन्ने चाहना नै हुँदैन । सकेसम्म गरिएका अनुरोधहरुलाई पनि टार्न चाहन्छन् । तर कसैले अति नै गरेपछि, आलेखको शुरुवातमा भनिएजस्तो मन राख्न भएपनि अलिकति त लि दिनुस् न भनेपछि भो भन्न पनि सक्दैनन् । चौंथो प्रकारका यात्रीहरु कि त्यो कार्यक्रममा सहभागि छन् भनेर तीनथरी यात्रीहरु छक्क पर्छन् । किनकि उसलाई त कहिल्यै कहि चल्दैन । तैपनि यी चौंथो प्रकारका यात्रीहरु पनि यात्रामा साथ दिन्छन् । यी चौंथो प्रकारका यात्रीहरु पनि दुईथरि हुन्छन् एक साथीभाईलाई अप्ठेरो परी पो हाल्छ कि भनेर साथदिन बस्ने अर्को चाहिँ मदिरा पान पछि साथीभाईको रमिता हेर्न रुचाउँने ।
यी थरिथरिका यात्रीहरुको भेटघाट पछि शुरु हुन्छ हल्का देखि तहल्कासम्मको यात्रा । शुरु शुरुमा असाध्यै मन्द गतिमा यात्रा गर्छन् । छिटो गए भन्न सकिन्न ढिलो गए अवश्य पुगिन्छ भनेझैं । तर जब समय बित्दै जान्छ अनि गति पनि बढ्दै जान्छ । पहिलो दोस्रो तेस्रो चौंथो एवं रीतले थपिदैं जान्छ शुराका सुरहरु । एकपटक भन्दा कर गर्दिन भनेका साथीहरुले अब एकपटक मेरो नामको, अब एक पटक मेरो नामको, यो चाहिँ एकदम लास्ट ल भन्दै कर गर्न थाल्छन् । अर्कोतर्फ शुरुमा हल्का मात्रै है मलाई थप्न कर गर्न पाईदैननी भनेर कसम खुवाउँने पात्रहरु एकपछि अर्को माग राख्न थाल्छन् । आब त छुँदै छुँदिन भनेका पात्रहरु, नछुनु छोई हालियो, छोईसकेपछि केलाई अड्कल्नु भनेर कस्सिन थाल्छन् । पर्दा पछाडी गीत बज्न थाल्छन् । पिउँदिन भन्दा भन्दै पिलायो साथीले, बेहोसीपछि त होसमा आउँदा क्या दामी भो यस्तै यस्तै अरु पनि । यात्रीहरुको चाहना अनुसार कहिले स्वरसम्राट नारायण गोपालका गीतहरु गुन्जिन्छन् त कहिले आधुनिक संगीतहरु ।
कार्यक्रम शुरु हुनुपुर्वको लुरे यात्री बाघ बनेर गर्जिरहेको हुन्छ । अरु बेला बाघ जस्तै गर्जने यात्री खै के सम्झिएर टोलाई रहेको हुन्छ । मित्रहरु बीच भनाभन चलिरहेको हुन्छ । अन्जान व्यक्तिहरु मित्र बनिरहेका हुन्छन् । याधा आरम्भ हुनुपुर्व र पछिको पर्दाको दृश्यमा आकाश जमिनको फरक हुन्छ । लगभग सहभागि सबैलाई क्षमता भन्दा बढी नै भएको हुन्छ तै पनि अझै भनिरहेका हुन्छन् हल्का त लिम् न अझैं । आफ्नै शरिर धान्न नसकेको पात्रले साथीलाई भर दिने कोशिस गर्छन् । गफ यस्ता शुरु हुन्छन् कि मानौं राजनीति, अर्थशास्त्र, समाजसेवा वेद वेदान्त सबैको ज्ञाता उनीहरु नै हुन् । परिआए अमेरीका अझ शक्तिशाली हुन कस्तो रणनीति अपनाउनुपर्छ, चीनले व्यापारमा प्रगती गर्न के गर्नुपर्छ भन्ने सम्म पनि सिकाउन पछि पर्दैनन् । यसरी हल्का मात्रै बाट शुरु भएको यात्रा एकैछिनमा उल्का अवस्थामा पुगिसकेको हुन्छ । अनि त्यो उल्का अवस्थाको कारणले निम्तन सक्ने तहल्काहरु कहिलेकाँहि अत्यन्तै भयावह पनि हुन सक्छन् ।
मानिस आफ्नो जीवन जीउन स्वतन्त्र हुन्छ । तर स्वतन्त्र हुँदा हुँदै पनि ऊ घर परीवार, समाज, नियम कानूनको बन्धनमा बाँधिएको हुन्छ । त्यसकारण मदिरापानको यात्रामा यात्रा गर्न रुचाउँने यात्रीलाई कति सुरक्षित वा जोखिमपूर्ण के कस्तो बनाउने भन्ने सन्दर्भमा अति गहिरिएर विचार गर्नुपर्ने हुन्छ ।
आज तपाईलाई हल्का मात्र लिनु न भनेर कार गर्ने साथीले त्यहि हल्काले समस्या निम्त्याए साथ दिन्छ नै भन्ने ग्यारेन्टि छैन र कहिलेकाँहि उसले साथ दिन चाहेर पनि उसको साथले काम नगर्ला वा अवस्था अनुकुल नहोला ।
यसको पुरापुर जिम्मेवारी जहिले पनि स्वयम् आफैमाथि आईपर्ने हो । त्यसकारण कसैको मन राख्नकै लागि भएपनि हल्का लिँदै गर्दा हामीले सोच्नै पर्छ कतै यो हल्काले तहल्का त मच्चाउँदैन ?
हल्का लिनुस् न !
previous post