हनी ट्र्यापिङ अर्थात महको धराप । सामान्य अर्थ त यही हो । खासगरी नेपाल प्रहरीले हनी ट्र्यापिङ शब्द प्रयोग गर्ने गर्दछ र सुन्दर युवतीको सहयोगमा ठूला व्यापारीको अपहरण गरेर फिरौती आसुल्ने तथा ठगी गर्ने कामलाई हनी ट्र्यापिङ भनिन्छ । बेरोजगार युवा र युवतीलाई पैसा कमाउने सजिलो माध्यम भएको छ, हनी ट्र्यापिङ । नेपाली जनतापनि यहि नियती भोग्दै छन्, यतिबेला । नेपाली जनतालाई महको धरापमा पार्ने चाहिँ राजनीतिकर्मी हुन् ।
निर्वाचनका बेला तिमीहरुका सुख–दुःखका सहयात्री बन्छौं , विकास निर्माणका कामहरु गर्छाैं भनेर दलका नेताहरुले भोट लगे । हामी त्यही आश्वासन रुपी महको धरापमा प–यौं । उनीहरुका आश्वासनलाई पत्यायौं र मतदान ग–यौं । तर अहिले हाम्रा जनप्रतिनिधिको चालामाला हेर्दा स्पष्ट हुन्छ, हामी हनी ट्र्यापमा परेकै हौं । जनतालाई करको भार बोकाएर उठ्न नसक्ने अवस्थामा पु–याएका उनीहरु विलासिता तर्फ उन्मुख भएका छन् । केही दिन अगाडि गण्डकी प्रदेशले स्थानीय सरकारका उप–प्रमुखलाई पनि गाडी सुविधा उपलब्ध गराउने गरी कानुन निर्माण गरेको समाचार सुन्नमा आएको थियो । अहिले आएर प्रदेश सभा सदस्यहरुले आफुहरुलाई गाडी सुविधा उपलब्ध गराउनु पर्ने माग राखेको सुन्नमा आएको छ । केही समय अगाडी पनि नगरपालिकाकी उप–प्रमुखले गाडी सुविधा नपाएको भन्दै नगर प्रमुखसंग झगडा गरेको खबर सुन्नका आएको थियो ।
राजनीतिलाई विना लगानीको धेरै नाफादिने व्यवसायको रुपमा नेपालमा राजनीति गर्नेहरुले लिने गरेको भनेर सर्वसाधारणबाट आलोचना भइरहँदा आएको प्रदेश सरकरको निर्णय र अहिले प्रदेश सदस्यहरुले उठाएको मागले जन प्रतिनिधि थप आलोचनामा पर्ने निश्चित छ । जनताका काम गर्छौं भनेर गएकाहरु केवल आफ्नो सुविधाका कुराहरुमा मात्र रुमलिँदा जनविश्वास घट्न जान्छ । त्यसैले अब जनप्रतिनिधिहरुले सोच्ने बेला आएको छ । सोच्ने मात्रै होइन आफु साँच्चै जनप्रतिनिधि भएको प्रमाणित गर्न केहि भिन्न काम गर्नु पर्ने बेला आएको छ । तर हाम्रा प्रतिनिधिको त्यसतर्फ ध्यान गएको जस्तो देखिँदैन । फेरी पदमा रहन पाइने हो कि होइन त्यसैले यसैपटक सबै सुख सुविधाको उपभोग गरौं भन्ने सोचमा उनीहरु रहेको देखिन्छ । जुन शुभ संकेत होइन् । संघियता, धर्मनिरपेक्षता, लोकतन्त्रको विरुद्धमा आवाज उठाउनेहरुका लागि जनप्रतिनिधिका यस्ता कामले मलजल गर्ने गरेको यथार्थ बेलैमा आत्मसाथ गरुन् ।