गतसुक्रवारबाट हिन्दु सभ्यताका अनुयायीहरुका घरघरमा स्वस्थानीको ब्रत कथा गञ्जन थालेको छ । ब्रत बस्न चाहने र सक्नेहरु हातगोडाको नङ काटेर नुहाई दुहाई गरी एकाग्रचित्त भएर तनमनले शुद्ध भै स्वास्थानीको ब्रत बस्दछन् । पौष शुक्ल पूर्णिमाबाट शुरु भएर माघ शुक्लपूर्णिका दिन समाप्त हुने महिना लामो यो ब्रत बस्नाले र स्वास्थानी माताको पुजा आराधाना गर्नाले मनोकाँक्षा पुरा हुने, रोगव्याध नलाग्ने तथा सुखका दिनको आगमन हुने विश्वास गरिन्छ । ब्रत बस्न विभिन्न कारणले नसक्नेहरु स्कन्ध पुराणमा उल्लेखित यो ब्रत कथाको किताब पढ्दछन्, किताबको श्रद्धापूर्वक पुजा गर्दछन् । आशा अनि विश्वासका साथ सुस्वास्थ्य, दीर्घायू तथा निरन्तर प्रगतिको कामना पनि गर्दछन्
मातृशक्तिको पुजा आराधना गर्ने विषयवस्तुमा आधारित स्वस्थानी ब्रत कथामा ग्रहण र अनुशरण योग्य सन्दर्भ उल्लेख भएका छन् । मूलतः यो कथाले आममानिसलाई आफूमा अन्तरनिहित क्षमता पहिचान गरी तदनुकूल व्यवहार गर्दा जीवन सहज हुने सन्देश दिन चाहेको देखिन्छ ।
तर स्वास्थानी कथामा कुनै प्रेरणा, उत्साह जगाउने सन्दर्भ नरहेको बरु नारीमाथि हुने शोषण र दमनको पक्षधरता त्यसमा उल्लेखित कथाहरुले लिने गरेको आरोप लगाउनेहरु पनि भेटिन्छन् । केही यस्ता तर्क गर्नेहरु पनि छन्, जसले आफूलाई हिन्दुसभ्यताको कट्टर अनुयायी भन्छन् तर स्वाथानीका बारेमा हरक्षण नकारात्मक कुरा मात्र गर्दछन् । तिनका तर्कलाई सम्पूर्ण सत्य मानेर बहसमा उत्रनेहरु स्वास्थानी कथामा खोटैखोट देख्दछन् । हरेक कथामा खोट, हरेक पानामा खोट, हरेक अनुच्छेद वाक्य, शब्द र अक्षरमा उनिहरु खोट देख्छन् र भन्छन्, यसले महिलालाई अपमान गरेको छ, महिलामाथि हुने हिंसा र दुव्र्यवहारलाई प्रोत्साहन दिएको छ अनि समाजमा महिलालाई अगाडि बढ्न नदिन प्रेरित गरेको छ ।
स्वस्थानी ब्रतकथालाई दक्षिण एशियाकै उत्कृष्ठ ब्रत भन्ने अनि स्वास्थानी कथा र ब्रतमा विद्यावारिधि गर्ने पश्चिमा विद्वानहरु छन् । अनि हामी छौं, आफूलाई अनूकुल हुँदा तिनै पश्चिमाको कथनलाई अन्तिम सत्य मान्ने र अनूकूल नहुँदा बकवास भनेर खण्डन गर्ने । पश्चिमा विद्वानले उत्कृष्ठ ब्रत भने वा यही विषयमा विद्यावारिधि गरे । त्यसकारण स्वस्थानी कथा कमजोरी रहित छ भन्ने होइन । अनि कसैले यसमा खोटैखोट छ भन्दैमा सम्पूर्ण रुपमा गलत छ भन्ने निष्कर्षमा पुग्नु पनि गलत हुनेछ । सफा सेतो कागजको एउटा कुनामा भएको सानो कालो धब्बामात्र देख्ने अनि त्यही धब्बाको मात्र चर्चा गर्ने ढंगले स्वस्थानी कथाको व्याख्या गर्नु उपयुक्त होइन । बरु यसको गम्भिर अध्ययन र मनन गरेर कथामा निहित राम्रा पक्षको खोजी अनुशरण र व्यवहारमा प्रयोग आजको आवश्यकता हो । यदि यसो भएमा हामी वास्तवमै प्रगतिशिल विचारका पक्षधर भएको ठहरिन्छ । भनिन्छ नि अध्यारोलाई गाली गरिरहनु भन्दा उज्यालोको खोजी गर्नु सयौंगुणा राम्रो काम हो । हामीले स्वस्थानी कथामा पनि उज्यालो पक्षको खोजी गर्नुछ । पानी वा दुधले आधा भरिएको गिलाशलाई कसैले आधा भरी देख्छन् त कसैले आधा खाली देख्छन् । हाम्रो विचारले त्यो दृष्टि निर्धारणा गर्दछ र दृष्टि जस्तो वस्तु त्यस्तै । “वस्तु हुन्छ है दृष्टि अन्सार, आनी छोइङ डोल्माको कर्णप्रिय स्वरमा सजिएको गीत जस्तै ।
शिक्षा र चेतनाको प्रयाप्त विकास भएका भनिएको र समानुभूतिका अनेकौं पाठबाट दिक्षित वर्तमानका हामीमा त नारीका प्रतिको दृष्टिकोण ह्यलेले भरिएको छ । स्वस्थानी कथा त आज भन्दा सैयौं बर्ष अगाडि रचना गरिएको हो । त्यस यो कथामा सर्वगुण सम्पन्नता खेज्नु सायद जायज हुँदैन । अनि त्यति कमीलाई तीलको पहाड बनाउँदै हाम्रा धर्मग्रन्थहरु महिला मैत्री भएनन् भनेर एकहोरो आलोचना गर्नु विवेकी काम ठहरिदैन ।
स्वस्थानीमा महिलाका विषयमा उल्लेख गरिएका केही सन्दर्भ अहिलेको पुस्ताका हाम्रा लागि नसुहाउँदा लाग्लान् तर यस्ता धेरै सन्दर्भहरु छन् जसले हाम्रो अहिलेको चेतनालाई पनि हल्लाउँछ । चाहे त्यो अनेमेल विवाह होस् या बाल विवाह र त्यसले खासगरी महिला पात्रको जीवनमा आउने असजिला बारेमा गरिएको चित्रण । परस्त्रीमाथि कुदृष्टि लगाउँने पुरुष सजाएको भागिदार हुने कुरा पनि स्वस्थानी कथामा उत्तिकै शसक्त ढंगले वयान गरिएको
छ । एउटी युवतीले आफ्ना अभिभावकले आफ्नो मञ्जुरी बेगर विवाह गरिदिन लाग्दा कसरी विद्रोह गर्छन र गर्नुपर्छ भन्ने कुराको चित्रण पनि उत्तिकै सजिव ढंगले गरिएको छ, स्वस्थानीमा ।
स्वस्थानी अर्थात आफ्नै स्थानमा रहने, मैले यसरी अर्थ लगाएँ । आफ्ना सबलता, दुर्वलताको पहिचान गरेर दुर्वलतालाई हटाउँदै अनि सबल पक्षलाई अंगाल्दै जाने हो भने सफलता मिल्छ भन्ने कुरालाई बल दिने कथा हो स्वस्थानी कथा । यस कथाको अध्याय १२ मा आफ्नो विवाह बुबाले भगवान विष्णुसंग आफ्नो सहमती बेगर गर्न लागेपछि पार्वतीले विद्रोह गर्दै भागेर लुकेको उल्लेख छ । हामीकहाँ अझैपनि कन्याको रोजाइका वरसंग विवाह गरिदिने परम्परा बस्न सकेको छैन । आमा बाबुले छोराछोरीको भलो नै चाहन्छन् त्यसैले उनीहरुलाई राम्रो लागेको केटासंग छोरीले विवाह गर्नु नै असल छोरीको कर्तव्य हुन आउँछ भन्ने कुराले राम्रै घर गरेको छ । जोसंग जीवन विताउने हो उसका बारेमा जानकारी राख्ने अधिकार हामीले छोरीलाई दिनु पर्ने होइन र ? अनि यसलाई स्वस्थानी कथाको सकारात्मक पक्षका रुपमा हामीले किन ग्रहण नगर्ने ?
स्वस्थानीमा अर्काे पनि प्रसंग छ, अध्याय १७ मा । उक्त अध्यायमा पहिले जालन्धरले पार्वतीलाई छल गर्न खोेजेको अर्थात यौन सम्बन्ध राख्न खोजेको तर असफल भएको तथा पछि विष्णुले जालन्धरकी पत्नी वृन्दालाई छल गरेको सन्दर्भ उल्लेख छ । यसैलाई कतिपयले छाडाहुन प्रेरित गरेको भनेर अथ्र्याउने गरेको पाइन्छ । तर परस्त्रीसंग अवैध यौन सम्बन्ध राख्ने कुचेष्टा गरका कारण जालन्धरले ज्यान गुमाउनु परेको छ । अनि भगवान भनिएका विष्णुले पनि श्रापित भएर ढुङ्गा, झार, घाँस र रुख भएर बस्न परेको त्यहाँ उल्लेख गरिएको छ । यसलाई परस्त्री माथी कुदृष्टि लगाउने जोकोही भएपनि सजाएको भागिदार हुनु पर्छ भन्ने कुराको सन्देश दिएको छ, स्वस्थानीले भनेर किन नभन्ने ?
कुल ३१ अध्याय भएको स्वस्थानी कथामा अध्याय २१ मा सात वर्षिय बालिका गोमा र ७० वर्षका शिव शर्माका बीच विवाह भएको कुरा उल्लेख छ । यस पछिका सबै अध्यायहरु गोमाको जीवनका आरोह अवरोहको वर्णनमा सकिएको छ । बालविवाह र अनमेल विवाह अक्षम्य अपराध हुन भन्ने कुरामा दुइमत छैन ।
मैलै माथि नै भनें स्वस्थानीमा भएका सबै कथा आलोचनाबाट मुक्त छैनन् । तर एउटी नारीले आफ्नो जीवनमा आएका आरोह अवरोहलाई दृढ आत्मविश्वास र साहसका साथ कसरी पार लगाउँछन् भन्ने कुराको उदाहरणका रुपमा हामीले यो कथालाई लिन सक्छौ भन्ने मेरो ठम्याई हो ।
छोरा गर्भमै हुँदा जीवनसंगी गुमाएकी गोमाले जुन कष्ट सहेर छोरालाई हुर्काएको वर्णन गरिएको छ, त्यो केवल एउटी नारीले मात्र गर्न सक्छे । त्यसैले स्वस्थानीमा महिलाको अपमान होइन बरु सम्मान गरिएको कुरा उल्लेख गर्न र धर्म ग्रन्थहरुमा भएका सकारात्मक पक्षको पहिचान गरी चर्चा गर्नु श्रेयष्कर हुनेछ ।