आज स्वस्थानी पूर्णिमा । आजबाट हिन्दु सभ्यताका अनुयायी नेपाली महिलाहरु एक महिना लामो स्वस्थानी ब्रतमा बस्छन् । स्कन्द पुराणको कथासंग जोडिएको भनिएको यो कथामा आम हिन्दुहरुको ठूलो विश्वास अडेको छ । त्यसैले त नेपली महिलाहरु हात गोडाका नङकाटी एक महिनासम्म एक छाक खाएर, एक भक्त रहेर स्वस्थानीको ब्रत बस्ने गर्दछन् ।
समयक्रम संगै आजकल स्वस्थानी ब्रतकथाका सकारात्मक र नकारात्मक पक्षको खोजी सुरु भएको छ । कतिपय यो कथालाई आँखा चिम्लेर समर्थन गर्ने र यसलाई आलोचनात्मक चेतले हेर्नै नहुने विचार राख्नेहरु पनि छन् भने कतिपय यसमा नकारात्मकता मात्र देख्ने पनि छन् । सयौं वर्ष अगाडि लेखिएको यो कथामा वर्तमान सोचको प्रतिनिधित्व हुन नसकेको हुन सक्छ तर यसमा नकारात्मकता मात्र देख्नेहरुले बुझ्नु र आत्मसाथ गर्नुपर्ने चाहिँ यसले दिन चाहेको सन्देश हो ।
स्वस्थानी कथामा अनेकौं प्रसंगहरु छन् । तर यसमा रहेका प्रत्येक कथा र प्रसंगको उद्देश्य मानिसलाई आफ्नो सीमा उल्लङ्घन नगर भन्नु नै रहेको छ । शारीरिक र मानिसिक सरसफाइको कुरा त यो कथामा छ नै संगसंगै आफ्ना सिमाहरुलाई नाघ्न खोज्दा मानिसले अनेक हन्डर व्यहोर्नु पर्छ भन्ने पनि छ । स्वस्थानीको कथा हाम्रो वर्तमानसंग पनि मेल खान्छ । हाम्रो राजनैतिक नेतृत्वले अहं र लोभ नत्याग्दा समग्र देश र नागरिकले हण्डर खानुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री ओली स्वस्थानीको दक्ष प्रजापतिको नियती भोग्ने अवस्थामा पुग्न लागेका छन्, आफ्नै अहंंका कारण । ओली अहंलाई पराजित गर्दै देश र समाजलाई लोकतान्त्रिक मार्गमा हिँडाउन सबै नेपालीले अब अर्काे प्रयत्न गर्र्नुपर्ने भएको छ । आफ्नो दायित्व र हैसियत विर्सेर म नै राज्य हुँ भन्ने दुषित मानसिकताले ओली जे गरिरहेका छन्, त्यसको पराजय अनिवार्य छ ।
अहं अवसानको कथा चन्द्रावतीको पनि छ, स्वस्थानीमा । चन्द्रावतीको कथाबाट शायद अब राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सिक्नुपर्ने छ । कामना गरौं, सबैको अहंको अवसान भएर हाम्रो विकास प्रक्रियाले लय समातोस्, यही कामना ।
स्वस्थानीको अर्थ
previous post