सृष्टिको सञ्चालनमा निरन्तरता दिने नारीको भूमिका मुख्य रहेकोले होला नारीलाई जननी अर्थात धर्तीको संज्ञा दिने गरेको पाइन्छ । अझ यस धर्तीमा के–के रहेको छ ? राम्रा लहराउँदा अन्नवाली फल्ने यही धर्ती, सबै जिवात्माको जिवनयापनका क्रममा उत्पादित फोहर विसर्जन गर्ने पनि यही धर्ती । जति भार परे पनि धर्तीले कहिल्यै केही बोल्दिनन् । चुपचाप हरतरहका समस्या पिर व्यथा सहन गर्छिन । त्यसरी नै आममहिलाले आँफूभित्र रहेका समस्या पिर व्यथा सहनु चुपचाप धर्तीमाता पृथ्वीले जस्तै सहन गर्दै आएका छन् । सृष्टि धान्न, घरपरिवारको इज्जत बचाउन, घरपरिवार चलाउन धर्तीको उपनाम पाएकी महिलाले पृथ्वी जस्तै भएर आफ्ना हरेक (समस्या) पीर व्यथा सहनु पर्ने विवशता झेल्दै आएको यथार्थ हामी माझ छर्लङ्गै छ ।
आदिअनादि काल देखि नै नारीलाई हेर्ने आँखा फरक रहेको थियो । चाहे ढुङ्गे युग नै किन नहोस् । मानवले ढुङ्गे युग छाडेर आधुनिक युग प्रवेश गरे देखि नै पुरुषले महिला माथि गर्ने व्यवहार भिन्न–भिन्न रहने गरेको पाइन्छ । मानिसलाई घर परिवार र समाजको आवश्यकता रहने गरेको थियो । त्यति बेला महिलालाई घर हेर्ने, सन्तान जन्माउने र सन्तानको हेरचाह गर्ने जस्ता जिम्मेवारी दिने र पुरुष आँफू घर बाहिरको काम गर्ने तथा खानपान र शिकारको व्यवस्था मिलाउने गर्दथ्यो । त्यतिबेला देखि नै पुरुष आँफूलाई सर्वश्रेष्ठ ठान्ने गर्दथ्यो ।
घर बाहिर निक्लेर हिड्ने पुरुष, घरगृहस्थ र आफ्ना सन्तानप्रति प्रेमभाव, स्याहार सुसार गर्न नसक्ने पुरुष । अनि कसरी सर्वश्रेष्ठ हुन सक्छ ? कसरी घरको सर्वश्रेष्ठ व्यक्ति हुन सक्छ ? कसरी परिवार र सन्तानप्रति प्रेम, कर्तव्य र आफ्नो जिम्मेवारीको बोध गराउन सक्छ ? पुरुषले बालबच्चाको स्याहार गर्न नसकेको हुनाले विकल्प नभएर नै महिलाले त्यो जिम्मेवारी विवशताका साथ जिम्मा लिएका थिए । आफ्नै सन्तानको समेत हेरविचार, स्याहार गर्न नसक्ने पुरुषले बाहिरी कामको जिम्मा लिन थाले र विस्तारै विस्तारै घरयासी कामबाट टाढा रहन थाले । घरायसी कामको जिम्मा महिलाहरुको भयो । एउटी विवाहित नारीको शिरको सिन्दुर जस्तै । यसरी दिन, हप्ता, महिना, वर्षदिन बित्न थाले । यस्तै घरभित्रै सीमित रहन पर्ने विकल्प रहित विवशतामा पार्ने क्रियाकलापहरु गरी गरी पुरुषहरुले बाहिरी समाजमा आफ्नो प्रभुत्व जमाउदै महिला घरभित्रै सीमित रहने प्रथा वा संस्कारलाई स्थापित गराए । ढुङ्गे युगबाट प्रारम्भ अर्थात विकास भएको यो प्रथा विभिन्न युग शताब्दि पार गरी २१औं शताब्दिको संंघारसम्म आइपुग्दा पनि प्रथा वा संस्कारको आडमा महिलामाथिको शोषण दमन र अपमान हटिसकेको अनुभूति आम महिलालाई हुन सकेको छैन् ।
मानव सभ्यताको विकाससँगै सुरु भएको विभेदकारी संस्कृतीको अन्त्य हुन भने त्यति सजिलो नरहेको तथ्य यही नेर पुष्टि भएको छ । प्रथा, संस्कारले स्थापित गरेका सामाजिक गतिविधि मै महिलाहरु डोरिरहन पर्दा विवेकलाई बन्धक राखेर बाँच्न बाध्य भएका छन् । उनीहरुलाई आँफूले आँफूलाई महशुस गर्न र आफ्नो भित्री आवाज सुन्न एकदमै कठिन हुँदै गइरहेको छ । संकेत र कोड गरिएका सन्देशहरुका आमप्रसारका नयाँ प्रविधिहरु मार्फत महिलाहरुलाई नङ्ग्याउने संस्कृतिको लोकप्रचारले अनि केवल बाहिरी सौन्दर्यमा खुम्च्याउन चाहने सौन्दर्यको दुरुपयोगको सामान्यीकरणले कार देखि पुरुषका दाह्री काट्ने औजार र रक्सिका बोत्तलका बिक्रीजन्य वस्तुको विज्ञापनमा महिलाको प्रयोग हुने गर्दछ । यस्ता सांस्कृतिक परिदृष्यले कुनै पनि मुक्ति चेतनाको सन्देश पटक्कै दिंदैन । घरेलु परिधिबाट बाहिर निस्केर कामको सार्वजनिक परिधिमा प्रवेश गर्न भर्खर बामे सर्न खोज्दै छ भन्ने नकार्न त सकिंदैन तर, स्वतन्त्रताको सम्भावनाले महिलाहरुलाई परम्परागत पितृसत्ताले लादेका थुप्रै वाधा व्यवधान छिचोल्नु पर्ने देखिन्छ ।
शिक्षित नारी पनि पिडित अशिक्षित नारी पनि पिडित । जतिजति युग अर्थात समय समाज परिवर्तन हुन्छ त्यतित्यति पितृसत्ताले दमनको नयाँ स्रोत सिर्जना गरेको छ । जस्तोः कार्य स्थलमा हुने यौन हिंसा, महिलालाई आकर्षक देखिनु पर्ने निरन्तर दबाब, बालबच्चाको स्याहार सुसारसँगै उनिहरु पुरुषसँग प्रतिस्पर्धी बन्नु पर्ने जस्ता अवरोधहरुले महिलाले आफ्नो क्षमताको पूर्ण रुपमा सार्वजनिकीकरण गर्ने अवसर पाएका छैन ।
समाजमा, सडकमा अनि सदनमा बौद्धिक भन्न बेला (कुबेला, धर्ना, दवाब, जुलुस, छलफलमा उपस्थितहुने पुलिङ्गिहरुका घरमा भात पकाइ रहन अझै पनि महिला विवश भइरहेका छन् । लुगा धोइरहेका हुन्छन् । आँफू प्रसव पिडाले छट्पटाएर जन्माएका उनिहरुका थरधारी सन्तान हुर्काई रहेका हुन्छन् । हाच्छ्यँु गर्दा पिसाव चुहिएला जस्तो शारीरिक अवस्था लिएर घरभित्र, बाहिरको सबै कामधन्दा गरिरहेका हुन्छन् । दूर दराजका गाउँहरुमा अभाव ग्रस्त जीवन विताउन बाध्य छन् । कुपोषणले करङ बाहिर देखाएर बाँच्न बाध्य छन् । अनि कठ््याङ्ग्रीएर मृत्यु भोग्न विवश भएका छन् । हजारौंको सङ्ख्यामा पाठेघर खसेका अनि छाउपडी गोठमा निस्सासिएर मर्न विवश छन् । कहिले दाइजोको नाममाअनि छोरी भएकै कारण जिउँदै आगोमा जल्न विवश छन् महिला । तर मानव सृष्टि धान्न बल गरिरहेका छन् ती धर्ती पुत्रीहरु ।