कमलबारी/पहार ट्रष्ट नेपाल पोखरा तथा नेपाल दृष्टिविहिन कल्याण संघ पोखराको आयोजनामा सिद्धेश्वरी मावि व्यास १२ मा एक दिने आँखा सिविर सम्पन्न भएको छ ।
बुधबार हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्रविधिक सहयोगमा सम्पन्न शिविरमा विद्यालयका एकसय ६१ विद्यार्थी तथा २६ जना शिक्षक र स्थानीय अभिभावकको आँखा परिक्षण गरिएको कल्याण संघले जनाएको छ ।
संघका अनुसार दृष्टिमा समस्या भएका तीन जना विद्याथीलाई पोखरा उपचारका लागि रिफर गरिएको छ भने १२ जना शिक्षकलाई रिडिङ ग्लास प्रदान गरिएको छ ।

कक्षा ९ की छात्रा स्वस्तिका विकले शिविरमा आँखा परिक्षण पछि आफ्नो दृष्टिमा कुनै कामजोरी नभएको थाहा पाएर ढुक्क भएको बताईन् । आफ्नो आँखा हल्का पोल्ने गरेको र समयमै जँचाउन पाउँदा खुसी लागको बताउँदै कक्षा १० की छात्रा अम्बिका नेपालीले एक महिना सम्म आँखा हाल्ने औषधि पाएको उल्लेख गरिन् ।
समय समयमा आँखा परिक्षण गर्नुपर्छ भन्ने थाहा पाएको तर आफुले अहिलेसम्म नगरको बताउँदै कक्षा ९ की छात्रा स्वस्तिका थापाले आफ्नो आँखा ठिकठाक रहेको थाहा पाएर खुसी लागेको बताइन् । मोबाइल कम हेर्न र हरियो सागपात तथा पानी प्रसस्त पिउन सल्लाह पाएको बताएका कक्षा ९ का विप्लब कैनीले विशेषज्ञको सल्लाहलाई मान्ने बताए ।
शिविर सुरु हुन अगाडि पहार ट्रष्टका अध्यक्ष विजुलीमान गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा हिमालय आँखा अस्पतालका आँखा विशेषज्ञ सुवास नेपालले नियमित आँखा परिक्षणको आवश्यकता र महत्वमाथि प्रकाश पार्दै समयमै आफ्नो आँखाको समस्याको बारेमा थाहा पाउँदा चिकित्सकले उपचार गर्ने सक्ने बताएका थिए भने विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले शिविरमा सहभागि अतिथिहरुलाइ स्वागत गरेका थिए ।
शिविरमा हिमालय आँखा अस्पतालका आँखा विशेषज्ञहरु सुवास नेपाल, शैलेश्वरी ओझा र चित्रा पनेरुले आँखा परिक्षण गरेका थिए ।
