रश्मिका सुवेदी
शिक्षकःजनजुक्तशाही माध्यमिक विद्यालय साँगे
प्रकृति हाम्रो देश नेपालको अनुपम उपहार हो । प्रकृतिको काखमा हाम्रो देश अवस्थित छ । प्रकृति भनेपछि जो कोही हुरुक्क नहुने कुरै छैन । प्रकृतिको काखमा घण्टौँ समय बसेर आनन्द लिन पाउँदा जो कोहीलाई समय दौडिएको पत्तो हुँदैन । आजको थकित, व्यस्त र उकुसमुकुस जिन्दगीदेखि टाढा रहेर देशको प्राकृतिक तथा ऐतिहाँसिक दृश्यतिर आँखा पु¥याउन पाउँदा मनको तृप्तीको सिमा रहँदैन । साहित्यकारका लागि प्रकृति प्रेरणा हो । प्रकृति पर्यटकका निम्ति शयर गर्ने ठाउँ हो र विद्यार्थीका निम्ति अनुसन्धान अनि ज्ञान हासिल गर्ने ठाउँ । जति ज्ञान किताबबाट पाइन्छ त्यो भन्दा बढी ज्ञान प्रत्यक्ष अवलोकनबाट प्राप्त गर्न सकिन्छ । यो सत्य बुझेर होला आजभोलि सबैजसो विद्यालय तथा क्याम्पसको प्राथमिकतामा शैक्षणिक भ्रमण पर्दछ ।
म एक शिक्षक भएको हुँदा केही विद्यार्थीको साथमा २०८१ मंसिर १६ गते एक दिने शैक्षिक भ्रमणमा जाने अवसर मिल्यो । हामी २५ जना विद्यार्थीको साथमा चारजना शिक्षक साथीहरू थियौं । नेपालकै ज्ञानभूमि, तपोभूमि मानिने जिल्ला तनहुँको व्यास नगरपालिका सांगे फाँटमा अवस्थित जनजुक्तशाही मा.वि. प्राङ्गणबाट हाम्रो यात्रा सुनौलो विहानीसँगै ६ः३० बजे सुरुवात हुन्छ । मनमा भएको उत्सुकता, , मनमा भएको रमाइलो दृश्य नियाल्दै गर्दा छिमेकी जिल्ला चितवनले स्वागत गर्दै रहेछ। विहानको १० बजिसकेछ । हामीले चितवनको रामनगर भन्ने ठाउँमा खाना खानको लागि यात्रालाई विश्राम लियौं ।
त्यसपछि यात्रा सुरू गर्दै गर्दा हाम्रो पहिलो क्षेत्र गण्डकी प्रदेशकै कान्छो जिल्ला मानिने नवलपुरमा अवस्थित सि.जी. टेम्पलको अवलोकन गर्ने थियो । केही क्षणमा हामीलाई नवलपुर जिल्लाले पनि स्वागत ग¥यो । सबैको मनमा रहेको हर्ष र उल्लाससँगै विहानी ११ बजे हामी सि.जी प्रवेश ग¥यौं । जहाँ भगवान शिवजीको मूल मन्दिर थियो । हामी सबैले शिवजीको दर्शन गरी त्यहाँ रहेको सङ्ग्राहलयको अवलोकन ग¥यौं । विभिन्न ठाउँ तथा वस्तुको नमुना दृश्यलाई संरक्षण गरी राखिएको सङ्ग्राहलयको अवलोकन गर्दा विद्यार्थीहरू निकै उत्साहित भए । हामीले त्यहाँ रहेका १०८ शिवलिङ्ग धार्मिक तथा ऐतिहाँसिक वस्तुको दृश्यलाई हेर्दै गर्दा १२ बजीसकेछ । हामी अब त्यस ठाउँबाट बिदाइ हुनुपर्ने थियो ।
नवलपुरलाई विदाइ गर्दै अर्काे गन्तव्य चितवनको सौराहा तर्फ हामी लाग्यौं । चितवन वास्तवमै सुन्दर र विकसित जिल्ला रहेछ । त्यहाँको विकासको प्रक्रिया देख्दा भविष्यमा नेपालको राजधानी नहोला भन्न नसकिने होइन । चितवनको नारायणगढ बजार हुँदै सौराहा जाँदैगर्दा बाटामा देखिएको खेतीपातीले हाम्रो देश कृषिमा प्रमुख नै हो कि जस्तो लाग्ने । पहेंलै फूलेको तोरीबारी देख्दा लोभिएको मनलाई समाल्न गाह्रो प¥यो । बाटोमा हिड्दै गर्दा हात्ती र गैंडा देख्दा हामीलाई नै स्वागत गरेर बसेको जस्तो लाग्थ्यो । चितवन जिल्लामा पर्ने चितवन राष्ट्रिय निकुञ्ज सबैभन्दा पुरानो र विश्व सम्पदा सूचिमा समेत सूचिकृत निकुञ्ज हो । यहाँ पाइने एकसिङ्गे गैडा र पाटे बाघको महत्व विशेष रहेको कुरा बुझ्न पाइयो ।
यस्तै दृश्यसँगै अङ्कमाल गर्दै दिउँसो २ बजे हामी चितवन सौराहा पुग्यौं। त्यहाँको सुन्दरता देख्दा नेपालको ठूलो पर्यटकीय सम्भावना बोकेको ठाउँ यो रहेछ भन्ने लाग्यो, चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा निकै होटल, लज, रेण्टुरेण्ट रहेछन् । जसले सैयौं बेरोजगार नेपाली युवालाई रोजगारी दिएका छन् । हामी त्यहाँ पुगेर प्रत्यक्ष गोही
ह¥ेयौं । नजिकै सौराहाको विकास गर्न आर्थिक लगानी गर्नुभएका व्यक्तिको तस्विर ढुङ्गामा कुदिएर सजाइएको रहेछ । नेपाल आमाका असली सन्तानभन्दै उहाँहरुलाई सलाम गरेर हामी संग्राहलय प्रवेश ग¥यौं । विभिन्न प्रकारका लोपोन्मुख जनावरका चित्र, प्राचीन महत्वका दुर्लभ र अनौठा वस्तुहरू बटुलेर राखिएको रहेछ । अथाहा ज्ञानको समुन्द्र थियो,त्यो र विद्यार्थीको लागि निकै महत्वपूर्ण ।
त्यहाँको अवलोकन सकेर हामी हात्ती प्रजनन् केन्द्र तर्फ प्रस्थान गरियो । त्यहाँ थुप्रै विदेशी पर्यटकको आगमन हुँदो रहेछ । पुराना शैलीका घरहरु, हात्ती हिडाइ, दाँत देखेर विदेशी पर्यटकसंगै विद्यार्थीहरु पनि निकै रमाए । त्यो दृश्यले नेपाल त एक अुनपम देश भन्ने कुरामा गर्व
लाग्यो । त्यस ठाउँलाई छाड्ने मन नहुँदा पनि समयले हामीलाई अत्याइरहेको थियो । हाम्रो अवको गन्तव्य तनहुँको प्रसिद्ध तीर्थ स्थल देवघाटधाम थियो । हिउँदको समय दिउँसोको ४ बज्दै गर्दा पनि दिनले कता–कता विदाइ गर्न लागेको आभाष भइरहेको थियो ।
चितवनको आँपटारी भन्ने ठाउँ हुँदै हामी देवघाटधाम तर्फ प्रवेश ग¥यौ । देवघाट धामको दृश्य साँच्चिकै मनमोहक थियो। त्यस पुण्यभूमिमा पुग्न पाउनु आफैलाई सौभाग्यशाली लाग्यो । वास्तवमा माघेसक्रान्तिमा सम्पूर्ण देवताहरू जम्मा भएर यही घाटमा स्नान गर्दै रमाउने गर्दछन् भन्ने हाम्रा धार्मीक ग्रन्थहरूमा उल्लेख छ । भाग्यमानी मात्रै यो ठाउँ पुग्दछन् भन्ने लाग्यो । देवघाट प्राकृतिक सुन्दरताको खानी
रहेछ । तीन जिल्ला चितवन, तनहुँ र नवलपुरको संगममात्र होइन, दुई नदी त्रिशुली र कालीगण्डकीको पनि संगम स्थल रहेको देवघाटको दृश्यले हामी सबैको मन लोभ्यायो । त्यहाँको प्रसिद्ध गलेश्वर धाम, सीता गुफा, वशिष्ट गुफा, चक्रवर्तिशीला, हरिहर आश्रम सबैको दर्शन गरियो । त्यहाँको झोलुङ्गे पुल, करोडौ श्रद्धालुहरूले स्नान गर्ने वेनी संगम सौच्चिकै नेपालको सुन्दर र अनुपम क्षेत्र रहेछ । त्यहाँको मनोरम आनन्दमा लीन हुँदा हुँदै दिनले विदाइ गर्दै सुन्दर सन्ध्याले पछ्याइरहेको थियो । डुङ्गामा सयर गर्दै पुनः चितवन तर्फ आइपुगियो । हामीले नचाहेर पनि त्यस ठाउँबाट विदाइ हुनुपर्ने बाध्यता थियो । रातले पुछ्याइरहेका बेला झिसमिसे साँझमा हाम्रो तनहुँ फर्किने यात्रा सुरु भयो । विहानकै ठाउँ रामनगरमा खाना खायौं र हाम्रो यात्राले उल्टो गियर समात्यो ।
यसरी एकदिनमा नवलपुरको सि.जी., चितवनको सौराहा र तनहुँको देवघाट अवलोकन भ्रमणले हामीलाई अतुलनीय ज्ञान तथा मनोरञ्जन दिएको थियो । एकैदिन तीनै ठाउँको दर्शन गर्दा विशेष गहिराइसम्म पुगेर अध्ययन तथा अवलोकन गर्न समय नपुगेको हाम्रो महसुस रह्यो ।
सिजी,सौराहा र देवघाटधाम दर्शन
previous post