पृष्ठभूमिः
आधुनिक नेपालमा मौलिक मुलुकी ऐनलाई विस्थापन गरेर आएको संहिता कानुन सम्बन्ध विच्छेदलाई लैंगिक समानता कायम गर्न खोजे पनि न्याय सम्पादन मुलुकी ऐनकै स्प्रिटमा छ । अन्यायमा परेर न्यायका लागि मात्रै होइन, अन्याय गर्नका लागि पनि सम्बन्ध विच्छेदका श्रृङ्खला बढेको अभ्यासले देखाएको छ ।
कानुन सम्मत न्याय पाउनः
मुलुकी देवानी संहिताले महिला वा पुरुषले सहमति र एक्लै पनि सम्बन्ध विच्छेद माग्न पाउने आधार तोकेको छ । यो कानुन सम्मत न्याय हो । मुलुकी देवानी संहिताको दफा ९३, ९४ र ९५ को भावना पनि त्यही हो । यो कानुनको वस्तुनिष्ठ र ठोस प्रमाण परिक्षण गरेर न्याय निरुपण गर्न हाम्रो राज्यसंयन्त्र अथवा भनौ न्याय प्रशासन सफल हुन अझै धेरै समय पर्खिनु पर्ने देखिन्छ ।
अर्को दाम्पत्यका लागिः
पुरुषले माग्ने सम्बन्ध विच्छेद अधिकाँश अर्को दाम्पत्यको अल्झन सफा गर्नका लागि भएको देखिन्छ । त्यसैगरी महिलाहरुले पनि अर्को पुरुषसँग विवाह गर्ने निश्चित भैसकेपछि पहिलो पतिबाट पाईने अंश लिनका लागि र दोस्रो पुरुषसँग जाने बाधा खुलाउनका लागि सम्बन्ध विच्छेद माग्ने गरेको पाइन्छ ।
बाध्यात्मक सम्बन्ध विच्छेदः
दोस्रो विवाह गर्न चाहेको पतिको चरम घरेलुहिंसामा परेर बाध्यतावस महिलाहरुले शान्तिसँग बाच्नका लागि सम्बन्ध विच्छेद माग्ने गरेको पाइन्छ । पत्नीले हैरानी दिएपछि, सुमधुर दाम्पत्यका लागि असहिष्णु बनिदिए पछिका अवस्थामा पुरुषले बाध्य भएर सम्बन्ध विच्छेद मागेको पनि पाइन्छ । बाध्यतामा पारेर सम्बन्ध विच्छेद गराउन पाउने छुट दिने कानुनको मनसाय होइन ।
छाडापनको परिणामः
पुरुष वा महिला दुवै पारिवारिक सुखका लागि एक अर्काप्रति जिम्मेवार हुनुपर्दछ । इमानदार र अनुशासित हुनुपर्दछ । यो अनुशासन र इमानदारिताको सीमा नाघेर आफ्नो जोडीसँग बाहेक पनि बेडसेयर गर्न मनपराउने प्रबृत्ति विरुद्ध इमानदार र अनुशासनमा रहेको पक्षले सम्बन्ध विच्छेदको बाटो रोजेको पाइन्छ ।
सासुससुराको कारणः
कतिपय सम्बन्ध विच्छेद सासुससुराको कारण पनि भएको पाइन्छ तर यो तेस्रो पक्षको हस्तक्षेपको कारण हुँदा फरक मान्नु पर्ने हुन्छ । सासु वा ससुराले बुहारी मन नपराएर छोरालाई भड्काउँदा पनि परिणाम सम्बन्ध विच्छेदसम्म पुगेको पाइन्छ । त्यसैगरी सासुससुराले ज्वाइँ मन नपराएर छोरीलाई भड्काउँदा पनि मिलेका जोडी बीच सम्बन्ध विच्छेद भएको पाइन्छ । यसभित्र ज्वाई मन नपराउनुको कारण ज्वाईको सम्पत्तिबाट छोरीले अंशमा पाउने सम्पत्तिको लालच वा घरज्वाई बस्न नमानेको वा व्यवसायिक स्वार्थ नमिलेको कारणले स्थान लिएको पाइयो ।
निष्कर्षः
सम्बन्ध विच्छेद न्याय पाउनका लागि हो या अन्यायपूर्ण लालचले आएको हो, त्यसको ठोस र बस्तुनिष्ठ न्यायिक विवेचना हुनुपर्दछ । पक्षको समान हैसियतको मान्यता विपरित न्याय निरुपण गर्ने संस्कार संहिता कानुनको प्रतिकूल छ । हाम्रो न्याय कानुनको अक्षरशः पालना गर्ने हुनुपर्दछ । कानुन गलत भए संसोधन हुनुपर्दछ । अर्थोपार्जनको साध्य कानुन बन्नु हुँदैन ।
सम्बन्ध विच्छेदका विभिन्न आयाम
previous post