
आज चैत्र ७ गते नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गिरिजाप्रसाद कोइरालाको नेपाली जनले श्रद्धा पूर्वक सम्झना गर्दैछ । आम नेपालीले श्रद्धा पूर्वक गिरिजा बाबू नामले सम्बोधन गर्ने कोइराला विसं १९८१ असार १८ मा जन्मेका थिए । विराटनगर जुट मिलबाट श्रमिकहरुको नेतृत्व गरेर श्रमिकको हकहितका लागि आन्दोलनमा सहभागी भएर राजनैतिक जीवनको प्रारम्भ गरेका कोइराला छ दशकभन्दा बढी नेपाली राजनीतिमा सक्रिय रहे । २०६६ साल चैत्र ७ गते मध्यान्ह ८६ वर्षको उमेरमा कोइरालाको भौतिक देहान्त भएपनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा चासो राख्ने सबै र नेपाली कांग्रेसका समर्थका शुभेच्छुकले उनलाई स्मरण गरिरहनेछन् ।
अहिले ट्रेड युनियन कांग्रेस नामले परिचित नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको स्थापना र नेतृत्व गरी मजदुर आन्दोलन मार्फत नेपाली राजनीतिमा उदाएका कोइराला ४ पटकसम्म देशको सर्वोच्च कार्यकारी ‘प्रधानमन्त्री’ बन्न सफल भए । जीवनको उत्तरार्धमा गणतन्त्र नेपालको राष्ट्रपति बन्ने इच्छा भने अधुरो रह्यो । १७ हजार नेपाली नागरिकको ज्यान लिनेगरी भएको दशक लामो माओवादी हिंसात्मक आन्दोलनको शान्तिपूर्ण अवतरण गराउने कार्यको समेत सफल नेतृत्व गरेका कोइरालालाई निर्भिक, निडर र दृढ निश्चयी नेताको रुपमा आम नेपालीले चिन्दछन् ।
राणा प्रधानमन्त्रीलाई नागरिकको अवस्था थाहा दिनभन्दै किसानको पसिनाले लतपत भोटो र कछाड पठाउने हिम्मत गरेबापत सर्वस्व सहित देश निकालामा परेका विराटनगरका कृष्णप्रसाद कोइराला र उनकी धर्मपत्नी दिव्या कोइरालाको कान्छा छोराको रुपमा कोइरालाको जन्म भएको थियो । कठिन संघर्षपूर्ण र लामो राजनैतिक जीवनयात्रा तय गरेका कोइराला पहिलोपटक २०४८ जेठमा नेपालको प्रधानमन्त्री भए ।
दोस्रो पटक २०५५ वैशाखमा प्रधानमन्त्री बनेका उनी २०५६ जेठ १८ मा पद्मुक्त भए । २०५६ चैत्रमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त कोइराला २०५८ साउनसम्म प्रधानमन्त्री
रहे । २०६२÷६३ को जनआन्दोलनको सफलतासंगै संसद पुनः स्थापना पश्चात २०६३ वैशाख १३ मा चौथो पटक प्रधानमन्त्री बने । २०६५ भदौ २ मा उनको चौथो कार्यकाल
सकियो । कोइराला नेपालमा राजतन्त्रको अन्य संगै प्रथम राष्ट्राध्यक्ष बने ।
प्रजातन्त्र स्थापना पछिको निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याएपछि पहिलो पटक प्रधानमन्त्री नियुक्त कोइरालाले संसद्मा शिक्षा, सञ्चार र स्वास्थ्य लगाएत क्षेत्रमा उदार कानुन बनाए । पूर्वाञ्चल विश्वविद्यालय तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरे । स्थापित निजी क्षेत्रहरुलाई देशका विभिन्न भागहरुमा चिकित्सा र इन्जिनियरिङ कलेजहरू सञ्चालनको अनुमती समेत कोइराला नेतृत्वको सरकारले दिएको हो । चितवनमा देशकै ठूलो क्यान्सर अस्पताल निर्माण उनकै पालामा प्रारम्भ भयो । तर उनी भारतसँगको टनकपुर सन्धीलाई सम्झौता भनेर ढांटेपछि आलोचित बने ।
प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरिरहँदा धेरै पटक विवादमा तानिएका कोइराला दिलश धमिजालाई अपारदर्शी रुपमा नेपाल वायु सेवा निगमको युरोपका लागि मुख्य प्रतिनिधि नियुक्त गरे पछि थप विवादमा परे । धमिजा काण्डका नामले परिचित यो प्रकरणले कोइरालाको राजनैतिक उचाई घटाउन सघाएको थियो । लगतै लाउडा विमान भाडा प्रकरणमा मुछिएका कोइरालाका कारण सिंगो कांग्रेसको आधार मात्र खल्बलिएन, लामो समय संसद अवरुद्ध भयो । कोइराला स्वयम पद छाड्न बाध्य भए । २०५५ सालमा उनी फेरी चेज एयर काण्डमा मुछिए छोरी सुजाता कोइरालालाई पार्टी र राज्यसत्तामा स्थापित गराउन उनले गरेका कतिपय अस्वाभाविक क्रियाकलापले विवादित बने । आज पर्यन्त कोइरालाको आलोचना गर्नुपर्दा ‘पुत्री मोहले बदनाम बाबु’ को रुपमा चित्रण गर्ने गरीन्छ ।
६० को दशक अगाडी अर्थात तेस्रो प्रधानमन्त्रीत्व कालसम्म विवादै विवादमा घेरिएका र लोकप्रियताको ग्राफ ओरालो लागेका कोइराला त्यसपछि भने कांग्रेसजन मात्र होइन विपक्षी दलका नेताहरु तथा कार्यकर्ताहरु माझ समेत लोकप्रिय बने । जीवनको उत्तरार्धमा कोइरालाको लोकप्रियता
चुलियो । यद्यपी धर्म निरपेक्षता सम्बन्धि कोइरालाको अभिब्यक्तिको बेलाबेला चर्चा र आलोचना हुने गर्छ ।
२०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक ब्यवस्थाको अन्त्य गर्दै शासनसत्ता आफ्नो हातमा लिएपछि विघटित प्रतिनिधि सभाको पुनः स्थापनाको एक सुत्रिय माग राखेर कोइराला आन्दोलनमा होमिए । ८४ पुजा गर्ने उमेर पुग्न लागेका कोइरालाको आन्दोलनमा उत्साहजनक सहभागिता र नेतृत्व देखेर अन्य दलहरू पनि आन्दोलनमा होमिए । २०६२÷०६३ को आन्दोलन सफल भयो । यस अघि नै दशक लामो हिंसात्मक द्वन्द्वमा सहभागी माओवादी कोइरालाकै सक्रियतामा शान्ति– पूर्ण राजनीतिमा आउन राजी भैसकेको थियो ।
दोस्रो जनआन्दोलन गिरिजाप्रसाद कोइरालाको सक्रियता र नेतृत्वमा अगाडी बढ्यो । र झण्डै चारवर्ष अगाडी राजकिय सत्ता आफ्नो हातमा लिएका राजा ज्ञानेन्द्र नागरिक सामु झुके । २०६३ वैशाख ११ मा कोइरालाको एक शुत्रिय माग पूरा भयो । कोइरालाकै नेतृत्वमा २०६३ जेठ ४ मा बसेको प्रतिनिधि सभाको बैठकले राजाको सम्पूर्ण अधिकार प्रधानमन्त्री, मन्त्रीपरिषद् र संसदमा ल्याउने साथै श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने भन्ने ऐतिहासिक निर्णय ग¥यो । यहि दिन नेपाललाई धर्म निरपेक्ष राष्ट्र समेत घोषणा
गरियो । सोही वर्ष मंसिर ५ मा नेपाल सरकार र द्वन्द्वरत माओवादीबीच शान्ती सम्झौतामा हस्ताक्षर भयो । जसमा हस्तारकती मध्येका एक उनै कोइराला थिए । यतिमात्र होइन्, त्यस लगतै माघ १ मा अन्तरिम संविधान जारी भयो । यसरी नेपाली राजनीति एकपछि अर्को गर्दै सकारात्मक दिशामा उन्मुख हुनुमा कोइरालाको महत्वपूर्ण र नेतृत्वदायी भूमिका रह्यो ।
यतिमात्र होइन्, कोइरालाको नेतृत्वको सरकारले संविधान सभाको निर्वाचन गरायो । उनकै प्रधानमन्त्रीकालमा २०६५ जेठ १५ मा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो । यसरी कोइरालाकै पालामा २३८ वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य भयो । यावत परिवर्तन र उपलब्धीका संवाहक गिरिजाबाबुको १५ औं स्मृति दिवसको अवसरमा शब्द श्रद्धा ।