चैत्र ७ मा नेपाली जनले नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता गिरिजाप्रसाद कोइरालालाई जसलाई सबैले श्रद्धापूर्वक गिरिजा बाबु सम्बोधन गर्ने गर्दथे लाई उत्तिकै श्रद्धा पूर्वक सम्झियो । वि.सं. १९८१ असार १८ मा जन्मेका कोइरालाले आफ्नो राजनैतिक जीवनको प्रारम्भ विराटनगर जुट मिलको श्रमिक नेताको रूपमा गरेका थिए । ६ दशक भन्दा बढी नेपाली राजनीतिमा सक्रिय कोइरालाको ८६ वर्षको उमेरमा २०६६ साल चैत्र ७ गते मध्यान्ह निधन भएको थियो र सोही सन्दर्भ पारेर नेपाली जनले उनलाई सम्झेको हो ।
अहिले ट्रेड युनियन कांग्रेसका नामले परिचित नेपाली कांग्रेसका भातृ संगठनको स्थापना गरी सोही फाँटबाट राजनीतिमा प्रवेश गरेर कोइराला ४ पटक सम्म नेपालको प्रधानमन्त्री त भए तर गणतान्त्रिक नेपालको राष्ट्रपति हुने उनको रहर भने पूरा हुन पाएन । १७ हजार निर्दाेष नेपालीको ज्यान लिएको दशक लामो माओवादी हिंसात्मक आन्दोलनको शान्तिपूर्ण राजनैतिक अवतरण गराउन सफल कोइरालालाई एक निर्भीक र निडर नेताका रूपमा आम नेपालीले चिन्दछन् ।
राणाहरुको विरोध गरे बापत भारतमा निर्वासित जीवन विताइरहेका पिता कृष्णप्रसाद कोइराला तथा माता दिव्या कोइरालाका कान्छा छोरा कान्छा छोराको रुपमा उनको जन्म भएको थियो । लामो राजनैतिक जीवनयात्रा तय गरेका उनी वि.सं. २०४८ जेठ १२ देखि वि.सं. २०५१ मङ्सिर १४, वि.सं. २०५५ वैशाख २ देखि वि.सं. २०५६ जेठ १७, वि.सं. २०५६ चैत्र ९ देखि वि.सं. २०५८ साउन ११ र वि.सं. २०६३ वैशाख १३ देखि वि.सं. २०६५ भदौ २ सम्म गरि चार पटक नेपालको प्रधानमन्त्री भएका थिए भने नेपालको इतिहासमा पहिलो राष्ट्राध्यक्षको रुपमा आफ्नो नाम लेखाउन सफल भए ।
पहिलो कार्यकालमा उनले संसदमा शिक्षा, सञ्चार र स्वास्थ्यमा उदार कानुन बनाएका थिए भने उनले नेतृत्व गरको सरकारले पूर्वाञ्चल विकास क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालय र वी. पी. कोइराला विज्ञान तथा स्वास्थ प्रतिष्ठानको स्थापना गर्दै स्थापित निजी क्षेत्रहरूलाई देशका विभिन्न भागहरूमा चिकित्सा र इन्जिनियरिङ कलेजहरू सञ्चालनको लागि अनुमति दिएको थियो । चितवनमा स्थापित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल पनि उनकै पहलमा चीन सरकारको सहयोगमा निर्माण भएको हो । नेपालका विभिन्न क्षेत्रमा समसामयिक सुधारका थुप्रै कामहरु उनले आफ्नो कार्यकालमा गरेपनि कोइराला भारतसंग भएको टनकपुर सन्धीलाई सम्झौता भनेर ढाँटेको भन्दै आलोचित भए ।
प्रधानमन्त्रीका रुपमा काम गर्दा धेरै पटक विवादमा परेका कोइराला भारतीय मूलका व्यापारी दिनेश धमिजालाई आफ्नै ढङ्गले नेपाल वायु सेवा निगमको युरोपको लागि मुख्य प्रतिनिधिमा नियुक्त गरेपछि झन विवादमा परे । धमिजा प्रकरणको रूपमा परिचित यो प्रकरणले कोइरालाको राजनैतिक लोक प्रियतालाई खस्क्याएको थियो । ेयो काण्ड पछि उनी फेरी लाउडा विमान भाडा प्रकरणमा मा मुछिए । लाउडा काण्ड नामले परिचित यो काण्डले संसद लामो समय अवरुद्ध भयो भने उनी प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भए । उनी २०५५ सालमा चेज एअर काण्डमा पनि मुछिएका थिए । छारी सुजाता कोइरालालाई पार्टी सत्ता र राज्य सत्तामा स्थापित गराउन उनले गरका कतिपय निर्णयका कारण पनि कोइराला विवादमा रहे । पुत्री मोहका कारण बदनामी कमाएको भन्दै कांग्रेसका शुभचिन्तकहरुनै कोइरालाको आलोचना गर्दथे ।
६० को दशक अगाडि अझ भनौं तेस्रो पटकको प्रधानमन्त्रीत्व कालसम्म विवादका पर्याय जस्तै बनेका र लोकप्रियताको ग्राफमा ओरालो लागेका कोइराला त्यसपछि भने कांग्रेस जनमात्र होइन विपक्षी दलका कार्यकर्ताहरुमा समेत प्रशंसाको पात्र बने । जीवनका अन्तिम दिनहरुमा उनको लोकप्रियता फेरी चुलियो ।
२०६१ माघ १९ गते तात्कालिक राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरी शाही घोषणा मार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएपछि शेरबहादुर देउवाद्वारा विघटित प्रतिनिधि सभाको पुनः स्थापनाको एक शुत्रीय माग राखेर कोइराला आन्दोलनमा होमिए । ८० वर्ष नाघेका कोइरालाको आन्दोलनमा उत्साहजनक सहाभागिता देखेर अन्य दलहरु पनि आन्दोलनमा उत्रने निर्णयमा पुगे र २०६२÷०६३ को आन्दोलन सम्भव भयो । यस अघि कोइरालाकै सक्रियता र अगुवाईमा माओवादीसंग १२ बँुदे समझदारी भई उनीहरु शान्तिपूर्ण राजनीतिमा आउन तयार भैसकेका थिए ।
चैत्र २६, २०६२ बाट प्रारम्भ भएको दोस्रो जनआन्दोलन गिरिजाप्रसाद कोइरालाको अगुवाईमा अगाडि बढ्यो र अन्ततः राजा ज्ञानेन्द्र २०६३ वैशाख ११ मा नागरिकको माग पूरा गर्न तयार भए । कोइरालाकै नेतृत्वमा २०६३ जेठ ४ मा बसेको प्रतिनिधिसभा बैठकले ऐतिहासिक घोषणा ग¥यो, त्यो थियो राजाको सम्पूर्ण अधिकार प्रधानमन्त्री, मन्त्रिपरिषद् र संसदमा ल्याउने साथै श्री ५ को सरकारको सट्टा नेपाल सरकार भन्ने निर्णय पनि सोही दिन भयो । यहि दिन नेपाललाई धर्म निरपेक्ष राष्ट्र समेत घोषणा गरियो । सोही वर्ष मंसिर ५ मा नेपाल सरकार र द्वन्द्वरत माओवादी पक्षबीच शान्ति सम्झौतामा हस्ताक्षर भयो । जसका एक हस्ताक्षर कर्ता उनै कोइराला थिए । सोही माघ १ मा अन्तरिम संविधान जारी भयो । यसरी नेपाली राजनीति एकपछि अर्काे गर्दै सकारात्मकता तर्फ उन्मूख हुनुमा कोइरालाको महत्वपूर्ण र नेतृत्वदायी भूमिका रहेको थियो ।
यतिमात्र होइन गिरिजा बाबुले पहिलो संविधान सभाको निर्वाचन सम्पन्न गरे । उनैको प्रधानमन्त्रित्व काल(२०६५जेठ १५) मा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । यसरी उनैको पालमा गोपाल वंशबाट प्रारम्भ भएर महिषपाल, किराँत, लिच्छवी तथा मल्ल हुँदै शाहवंश सम्मको ३६७६ वर्ष लामो इतिहास भएको नेपाली राजतन्त्र तथा २३८ वर्ष पुरानो शाह वंशीय राजतन्त्रको अन्त्य भयो । अब जनताको छोरो राष्ट्र प्रमुख हुन पाउने भयो । उनको पार्टी नेपाली कांग्रेसले पनि उनको पछिल्लो पदचाप पछ्याउँदै जनताको पक्षमा काम गर्न सकोस् । यावत उपलब्धीका संवाहक गिरिजाबाबुको ११ आंै स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धा सुमन ।
सम्झनामा गिरिजा बाबु
previous post