नेपाली राजनीतिमा दशकौँदेखि प्रतिक्षा गरिएको पुस्तान्तरणको मुद्दाले नेपाली कांग्रेसको विशेष महाधिवेशन मार्फत एउटा ठोस रूप लिएको छ । युवा नेता गगन थापा पार्टीको सर्वोच्च कमान्ड सम्हाल्ने ठाउँमा पुग्नु केवल एक व्यक्तिको विजय मात्र होइन, बरु नेपाली कांग्रेसभित्र वर्षौँदेखि गुम्सिएको परिवर्तनको चाहनाको विष्फोट पनि हो । तथापि, यो परिवर्तन जति उत्साहप्रद देखिएको छ, यसको पृष्ठभूमि र आगामी यात्रा भने उत्तिकै चुनौती र जोखिमपूर्ण छ ।
विशेष महाधिवेशनको हलबाट थापा सभापति निर्वाचित भइरहँदा पार्टीको एउटा हिस्साको असहमति र ’वैधानिक विभाजन’को चेतावनीले यो ऐतिहासिक मोडलाई संशयको घेरामा राखेको छ । पार्टीको आधिकारिकता, चुनाव चिह्न र कानुनी वैधताका लागि एउटा पक्ष अदालतसम्म पुगेकाले तल्लो तहका कार्यकर्तामा आशाभन्दा बढी अन्योल पैदा गर्ने निश्चित छ । थापाका लागि अबको पहिलो र अनिवार्य सर्त भनेको ’विजयी उन्माद’ भन्दा पनि ’परिपक्व लचकता’ प्रदर्शन गर्दै देउवा पक्षलाई समेटेर पार्टीको अस्तित्व रक्षा गर्नु हो ।
गगन थापाका अगाडि केवल आन्तरिक व्यवस्थापनको मात्र चुनौती छैन, अन्तर्राष्ट्रिय छवि र भू–राजनीतिक सन्तुलन मिलाउनु पर्ने जिम्मेवारी पनि छ । उनीमाथि लाग्दै आएको पश्चिमा शक्ति निकटको आरोपलाई चिर्दै छिमेकी मुलुकहरू भारत र चीनसँग सन्तुलित र राष्ट्रिय स्वार्थ केन्द्रित सम्बन्ध स्थापित गर्नु उनको ’कुटनीतिक अग्निपरीक्षा’ हुनेछ । नेपालको प्रधानमन्त्रीका सम्भावित दाबेदारका रूपमा उनले आफू कुनै खास शक्तिको नभई नेपाली जनताको प्रतिनिधि हो भन्ने कुरा व्यवहारबाटै पुष्टि गर्नुपर्ने बेला आएको छ ।
आगामी २०८२ को निर्वाचन सभापति थापाका लागि अर्को अग्निपरीक्षा हो । एकातिर दशकौँदेखि पार्टीमा रगत–पसिना बगाएका पुराना नेताहरूको व्यवस्थापन गर्नु छ भने अर्कोतिर नयाँ पुस्ताको बढ्दो आकांक्षालाई सम्बोधन गर्नु छ । टिकट वितरणको न्यायोचित सन्तुलन नमिल्दा बागी उम्मेदवारहरूको बाढी आउने र त्यसले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ जस्ता नयाँ शक्तिहरूलाई थप ऊर्जा दिने खतरा छ । कांग्रेसबाट विच्किएका र नयाँ विकल्प खोजिरहेका मतदातालाई पुनः ‘रूख’ चिह्नमा भोट हाल्ने वातावरण बनाउनु चुनौति हो ।
थापाका बारेमा व्याप्त “गफ गर्ने तर काम नगर्ने“ भन्ने आलोचनालाई चिर्न उनले अब ‘थिति र विधि’ को राजनीतिलाई केन्द्रदेखि वडा तहसम्मै कार्यान्वयन गरेर देखाउनुपर्छ । कुनै बहाना बाजी गर्ने ठाउँ अब छैन । यदि उनले आफ्नो लोकप्रियतालाई संगठनको शक्तिमा बदल्न सके र पार्टीलाई गुटमुक्त बनाएर अघि बढे भने नेपाली कांग्रेसले पुनर्जीवन पाउनेछ । अन्यथा, पश्चिमा शक्ति निकटको आरोप निरर्थक हुँदैन । पार्टीको आन्तरिक कलहले कांग्रेसलाई इतिहासकै कमजोर मोडमा पु¥याउन सक्छ । गगन थापाको नेतृत्व सफल हुनु भनेको एउटा व्यक्तिको सफलता मात्र नभई नेपाली लोकतन्त्रमा युवा नेतृत्वको सान्दर्भिकता पुष्टि हुनु पनि हो ।
सभापति थापाका चुनौति-सम्पादकीय
previous post
