नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलिय व्यवस्थाको पुनः स्थापना पश्चातका पहिलो प्रधानमन्त्री अनि सन्त नेताका नाममा परिचित नेता कृष्णप्रसाद भट्टराई लाई प्रजातन्त्र प्रेमि नेपालीले मंगलबार सम्झिए । विसं १९८१ साल पौष कृष्ण द्वादशीका दिन जन्मेका भट्टराई दृढ अठोट र संकल्पमका धनी व्यक्तिका रुपमा पनि चिनिन्थे । यतिमात्र होइन, उनी स्पष्ट वक्ता र सिद्धान्तनिष्ठ नेताका रुपमा समेत चिनिन्छन् ।
उनको विगतलाई सम्झँदा उनले २००७ सालको जनक्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने जनमुक्ति सेनाको कमाण्डरका रुपमा काम गरेको पाइन्छ । विसं २०१५ सालमा सम्पन्न पहिलो निर्वाचनबाट बनेका संसदमा तल्लो सदन अर्थात प्रतिनिधि सभाको सभामुखका रुपमा समेत भट्टराईले कुशलताका साथ काम गरेका थिए । उनी विसं २०४६ सालको जन आन्दोलनको सफलता पश्चात बनेको अन्तरिम मन्त्री परिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । अन्तरिम प्रधानमन्त्रीको रुपमा उनले नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गर्ने र बहुदलिय प्रणालीमा आधारित निर्वाचन गराउने कामलाई समेत अत्यन्त निष्ठा र कुशलता पूर्वक पूरा गरेको कुरा नेपाली नागरिकको मनमा सदा स्मरणमा रहने छ ।
दुइ पटकसम्म प्रधानमन्त्री बनेका भट्टराई व्यक्तिगत लाभमा नमुछिएकाले स्वच्छ छवि भएका नेताको रुपमा आम नेपाली माझ चिनिन्छन् । हरदम हँसिलो, गम्भीर विषयलाई समेत सामान्य रुपमै समाधानको मार्गमा लैजान सफल उनी आफु माथिका अनेकौ व्यङ्ग्यलाई सहजै पचाउने क्षमता राख्थे । आजिवन अविवाहित रहेका भट्टराईको सन्त प्रवृत्तिकै कारण उनलाई धेरै नेपालीले सन्त नेताको नामले पुकार्ने गर्दथे । अत्यन्तै सादा जीवन भएका भट्टराईका साथमा सुराही र छाता मात्र हुन्थ्यो । २०४८ सालमा प्रधानमन्त्री निवासबाट बाहिरिँदा हातमा सुराही र छातामात्र लिएर निस्केका भट्टराईको सादगीको त्यतिबेला निकै चर्चा भएको थियो । तिनै सन्त नेताको विसं २०६७ साल फागुन २० गते शुक्रबार निधन भयो ।
९६ औं जन्मजयन्तीको अवसरमा स्व. नेता भट्टराई प्रति हाम्रो शब्द श्रद्धा । स्व. भट्टराईले देखाएको सादगीपूर्ण र राजनीतिमा नैतिकताको बाटोलाई हाम्रा राजनीतिज्ञहरुले अनुशरण गर्न सकुन्, यो अवसरमा हाम्रो यो शुभेच्छा ।