शनिबार प्रधानमन्त्री ओलीलाई भेट्न प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार गएको र उक्त भेटघाटमा ओलीले देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेको खवर बाहिरिएसंगै मौसम चिसिँदै गएपनि नेपाली राजनीति भने तात्तिएको छ ।
विभिन्न संवैधानिक निकायमा नियुक्ति विषयमा छलफल गर्न भनेर बालुवाटार बोलाइएका देउवासंग ओलीले आफ्ना विश्वास पात्रहरुसंगै रहेर केही समय र पछि दुइजना बीचमात्र छलफल भएको बताइएको छ । उक्त छलफलमा आफ्नो पार्टीमा बढ्दै गएको असमझदारीले आफु अप्ठ्यारोमा परकोले सत्ता सहयात्रामा सहभागी हुन प्रम ओलीले देउवालाई आग्रह गरेका
थिए । यद्यपि देउवा निकटहरुले विश्व विद्यालयमा खाली रहेका पदहरुमा नियुक्तिका विषयमा मात्र उक्त भेटमा छलफल भएको बताएका छन् ।
देउवाले ओलीलाई भेटेसंगै कांग्रेस गत निर्वाचनमा मतदाताले पाँच वर्ष प्रतिपक्षमा बस्न दिएको जनादेश भूलेर सत्तामा जान लागेको त होइन भनेर आशंका गर्न थालिएको छ । यसलाई केही नेताहरुले अस्विकार गरेका छन् । प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै भनेका छन् “५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अतः कुनैपनि भड्कावबाट टाढा छौं, रहनेछौं । नेकपाको द्वन्द्वसंग विल्कुल निरपेक्ष
छौं । अतः यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउँछौं ।”कांग्रेस नेता अर्जुननरसिंह केसीले त अहिले सत्तामा जानु आत्महत्या गरे सरह हुने बताएका छन् । अरु नेताहरु गुरुराज घिमिरे तथा प्रदिप पौडेलले समेत अहिले कांग्रेस सरकारमा सहभागी हुन नहुने धारणा सार्वजनिक गरेका छन् । तर आशंका कहाँ हो भने सत्ता प्राप्त गर्न र टिकाउन सुरा सुन्दरी काण्ड देखि प्राडो पजेरो काण्ड भित्र्याउने कांग्रेस सभापति देउवा ओलीको मधुर वचनले त्यता नलहसिएलान भन्न सकिने अवस्था छैन । तर आम नागरिक, कांग्रेसका शुभेच्छुक, शुभचिन्तकको मतका साथै गत निर्वाचनको जनादेशको सम्मान गर्ने हो भने अहिललाई कांग्रेस सरकारमा सहभागी हुनु हुँदेन ।
ओलीको अहिले जुन ढंगले असफलता तर्फ गइरहेका छन् र भ्रष्टाचारको संरक्षकको जुन छवि बनिरहेको छ त्यसको भारी बोकेर आगामी निर्वाचनमा जानु कांग्रेसका लागि अझ घातक हुनेछ । ८ १० जनाले मन्त्रीको दौरा सुरुवाल लाउने लोभमा कांग्रेसले सत्तामा हाम्फाल्ने गल्ती नगरोस् ।