देशभर दशंैको रमझम सुरु भइरहँदा सडक दुर्घटनाका दुःखद खबरहरुले सबै नेपालीलाई द्रवित बनायो । आफ्नो महत्वपूर्ण पर्वमा परिवार जम्मा भएर खुसी बाँड्ने, आफुभन्दा ठूलाबाट आर्शिवाद लिने थुप्रै परिवारको खुसी ति दुर्घटनाका कारण खोसियो । परिवारको सदस्य गुमाएकालाई मात्र होइन, छिमेक र आफन्तजनको देशैं समेत खल्लो भयो । आफ्ना दाजुभाइ तथा दिदी बहिनीको दुर्घटना र मृत्युको खबरले कुनै पनि नेपालीलाई आगनमा आएको दशैंसंगैं खुसी बनाउने कुरै भएन ।
दशंैको मुखमा घर फर्किएका वा घुमघाका लागि निस्केका थुप्रै नागरिक सडक दुर्घटनाका कारण गुमाउन पुग्यौं हामीले । सडक दुर्घटनासंगै सवारी चालकमाथि सबै दोष थोपरेर पन्छने प्रवृत्ति यस पटक पनि दोहोरियो । तर सवारी चालकको लापरवाही वा यान्त्रिक गडबडीभन्दा संगसंगै पछिल्ला सडक दुर्घटनामा सडकको दूरावस्था र कमजोर ट्राफिक व्यवस्थापन प्रमुख कारक हो भनेर बुझ्न र बुझाउन नसक्दासम्म हामी दुर्घटनाको समाचार सुन्ने, आफन्त परेको भए दुःख वा समवेदना व्यक्त गर्ने अवस्थाबाट माथि उठ्न सक्दैनौं र हरेक क्षण यो नियति दोहोरिरहन्छ ।
वितेका वर्षहरुमा कमसेकम दशैं लाग्दैगर्दा विग्रेका भत्केका सडकहरु सामान्य नै भएपनि मर्मतको काम गरिन्थ्यो तर यसपटक यस्तो पनि देखिएन । दमौलीबाट पोखरा सामान्य अवस्थामा सार्वजनिक यातायातमा एक घण्टा र केही मिनेटको यात्रा हो । तर आजभोली यात्रा गर्ने हो भने दुइघण्टा भन्दा बढी समय लाग्छ । खाल्डा खुल्डी नभएको सडकको कुनै खण्ड नै छैन जस्तो लाग्छ । ति खाल्डा खुल्डीले यात्राको समय त बढाएको छ नै, क्षमता भन्दा बढी यात्रु भर्दा पनि दुर्घटनाको जोखिम बढाएकै छ ।
नागरिकबाट विभिन्न बहानामा कर असुल गर्ने तर आवश्यक सेवा सुविधा नदिने, हाम्रो कस्तो राज्य हो ? समयमा सडक मर्मत नहुँदा भएको दुर्घटनाको जिम्मेबारी राज्यले लिनु पर्छ कि पर्दैन ? दैनिक जसो हुने गरेको दुर्घटनाको प्रमुख कारण राजमार्गको दूरावस्था नै हो र यसलाई सडकमा ज्यानमारा सरकार भन्नु पर्ने भएको छ । गाउँ गाउँमा सिहदरबार भन्ने तर विकास निर्माणका काम गर्नुपर्दा केन्द्र वा अन्य केहीको मुख मात्र ताक्ने हो ? स्थानीय सरकारहरुलाई पनि प्रश्न ।