
आगामी आइतबार विश्वभर र नेपालमा पनि विश्व महिला स्वास्थ्य दिवस मनाइँदैछ । हरेक वर्ष मे २८ मा मनाइने यो दिवसले महिला स्वास्थ्यको संवेदनशीलता र महत्व विश्व समुदायलाई बुझाउन प्रयत्न गर्ने तथा त्यसलाई आत्मसाथ गर्दै तदनुकूल व्यवहार गर्न अभिप्रेरित गर्नेछ ।
महिला स्वास्थ्यका बहुआयामिक असरहरु छन् । अर्थात महिला स्वास्थ्य राम्रो हुँदा र नराम्रो हुँदा त्यसले पार्ने प्रभावहरु फरक फरक ठाउँमा र फरक फरक किसिमका छन् । वर्तमान पितृ सत्तात्मका समाज संरचनाको कुरा गर्ने हो भने एउटी महिलाको स्वास्थ्य अवस्था नराम्रो हुँदा घरको दैनिकी मात्र अस्तव्यस्त हुँदैन बालबालिकाको दैनिकी, पढाई तथा परिवारका अन्य सबै सदस्यको दैनिकीमै नकारात्मक असर पर्ने हुन्छ ।
एउटी गर्भवती महिला अस्वस्थ हुँदा गर्भमा रहेको बच्चाको स्वास्थ्य र शारिरीक तथा मानसिक विकासमा नकारात्मक असर पर्छ । भनिन्छ, बच्चा साङ्ग वा अपाङ्ग कस्तो जन्मने, मानसिक स्वास्थ्य अवस्था राम्रो वा नराम्रो भएको बच्चा जन्मने भन्ने कुरा उ गर्भमा हरँदा आमाको स्वास्थ्य कस्तो थियो भन्ने कुरामा धेरै भर गर्छ । गर्भमा रहेको बच्चाको मात्र किन ? आमा अस्वस्थ हुँदा हुर्कंदै गरेको बच्चाको स्वास्थ्य र विकासमा असर पर्छ । हाम्रो जस्तो सामाजिक संरचनामा त एउटी महिला बिरामी हुँदा सम्पूर्ण घर नै अस्तव्यस्त हुन्छ । बच्चा बच्चीको खाजा र सरसफाई, घरको सरसफाई देखि खाना खाने तालिका समेत प्रभावित हुन्छ । समग्रमा महिलाको स्वास्थ्यसंग नजोडिएको देश, परिवार र समाजको कुनै पक्ष नै छैन ।
जन्मनु अघिको बच्चा देखि हुँर्कंदै गरेको बच्चाको वृद्धि र विकास तथा समग्र परिवारसंग जोडिएको महिला स्वास्थको बारेमा सबैमा सचेतना जाग्नु जरुरी छ र विश्व महिला स्वास्थ्य दिवसले यसमा महत्वपूर्ण योगदान दिनेछ ।