कोरोना संक्रमणको दर केही ओरालो लागेसंगै देशभर निशेधाज्ञा खुकुलो बनाइएको छ । तनहुँमा पनि गत शुक्रबारबाट निशेधाज्ञा केही खुकुलो भएको छ र सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन हुन थालेका छन् । तर सञ्चालनमा आएका यातायातका साधनमा स्वास्थ्य सावधानी कति अपनाइएको छ र यसको प्रभाव कोरोना संक्रमणमा कस्तो परेको छ भन्ने विषयमा शायद सोधीखोजी भएको छैन ।
एकछिन्, जोरविजोर प्रणालीमा सञ्चालित सार्वजनिक सवारीको अवस्थाबारे चर्चा गरौं । दमौली– पोखरा खण्डमा यात्रा गर्ने यात्रु छ भने लगभग पोखरा पुगेर फर्कंदा संक्रमणको शिकार भएर फर्कने अवस्था छ । दमौलीबाट हिडेको वसमा थर्पु वा अकला तिर पुग्दा खुट्टा टेक्ने ठाउँ हुँदैन । मास्क लगाएका वा नलगाएका यात्रुले ठेलमठेल बसमा कुनै यात्रुले स्वास्थ्य मापदण्ड र यात्रुको कोचाकोचको अवस्थाबारे सहचालक या चालकसंग प्रश्न गर्नुपर्छ, उतबाट कर्कश ध्वनीमा जवाफ आउँछ “तपाईँलाई जान मन नलागे झर्नु । हामीले कर गरेका छैनौं ।” कुनै यात्रुले अवस्थाबारे बताउँदै प्रहरीको सहयोग माग्यो भनेपनि प्रहरीले केही गर्ने अवस्था छैन । भाडामा मनपरी छ । भाडा किन धेरै भनेर प्रश्न खस्न पाएको हुँदैन सहचालक उल्टै प्रश्न गर्छ, “तेलको मूल्य कहाँ पुग्यो थाहा छ ?” कास्की र तनहुँको सिमा कोत्रेमा लगेर दमौलीबाट गएको गाडीले सबै यात्रु झार्छ अनि उही कोचाकोचबीच अर्काे गाडीमा पोखरा जानु पर्ने हुन्छ ।
गाडीहरुमा स्वास्थ्य सावधानी त छैन नै जोर विजोर प्रणाली भनेर थोरै संख्यामा गाडी चल्न दिँदा कोचाकोच गरेर क्षमताभन्दा बढी यात्रु राखेर सवारी सञ्चालनमा छन् । यसले दुइवटा समस्या निम्तिने प्रष्ट छ, पहिलो हो कोरोना संक्रमण ह्वात्तै बढ्ने र दोस्रो क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनाको सम्भावना ।
यी पक्षहरुलाई हेर्ने हो भने कोरोना संक्रमणको नियन्त्रणको लागि अपनाइएको जोर विजोर प्रणालीमा पुर्नविचार गर्नुपर्ने हो कि भन्ने देखिएको छ । कतै कोरोना संक्रमण नियन्त्रण गर्ने भन्दै हामीले कोरोना संक्रमण बढ्ने वातावरण बनाईरहेका त छैनौं । यस तर्फ सम्बन्धित सबैको ध्यान जाओस् । सोधीखोजी होस् ।
संक्रमण बढाउने जोर विजोर
previous post