मितिः साउन ५, २०७९

मेरी प्यारी श्रीमती,
धेरै धेरै मायाँ ।
प्रविधिको विकासले चरम उत्कर्ष लिएको यो युगमा श्रीमानले आफ्नो नाममा पत्र लेखेको देख्दा, त्यो पनि पत्रिकाको सहारा लिएर, तिमिलाई अचम्म लाग्दो हो । अचम्म लाग्नु पनि स्वभाभिक हो किनभने आजको त के कुरा वर्षौ पहिले जतिबेला तिमी र मेरो बीचमा प्रेमको मुना भर्खरै पलाउँदै थियो, प्रेमपत्रको युग त त्यतिबेलै हराईसकेको थियो भने आजको मितिमा म तिमिलाई प्रेमपत्र लेख्दैछु भने यो निश्चयनै आश्चर्य लाग्ने कुरा नै भयो । फेरी अर्को कुरा हामी भौतिक रुपले त्यति टाढा पनि छैनौं । प्रत्येक सप्ताहान्तमा त हाम्रो भेट भई नै हाल्छ । फोनमा कुरा त प्रायः दिनहुँ जसो नै हुन्छ । यो पत्र पढिसकेपछि तिमिलाई लाग्न सक्छ यति कुरा त सिधै मलाई भनेको भए पनि भईहाल्थ्यो, नभए फोनमा भन्दा पनि हुन्थ्यो । लेखिनैहाल्नु पथ्र्यो र ? तिम्रो सोचाइ आफ्नो ठाउँमा ठिक छ तर खै किन हो किन मलाई यो कुरा पत्र मार्फत् नै भन्न मन लाग्यो । सायद तिम्रो सामुन्ने उभिएर तिम्रो आँखामा आँखा जुधाएर यो कुरा भन्न सकेको भए अझ राम्रो हुन्थ्यो होला तर मैले पत्रलाई नै माध्यम बनाउन उचित ठानें । तिम्रो सामुन्ने नभनेर पत्र लेख्नु मेरो गल्ती हो भने माफ गर है प्रिय ।
प्यारी काली, बेशक तिमी एउटा असल श्रीमती हौं । तिमी मेरो असल श्रीमती मात्र होइनौं, मेरो घरको लागि संस्कारी बुहारी पनि हौ । अनि तिम्रो माईतीको लागि गुणी छोरी पनि । एउटी श्रीमतीले श्रीमान प्रति निभाउनु पर्ने धर्म, एउटी बुहारीले घरमा गर्नुपर्ने कर्म, अनि एउटी छोरीले बुझिदिनु पर्ने माईतिको मर्म हरेक भुमिकामा तिमी निपुर्ण छौं । मैले देखेको, जानेको र बुझेको तिमीमा खोट लगाउनुपर्ने ठाउँ कहि पनि देख्दिन म । खोज्दै जाने हो भने त जुनमा पनि दाग भेटिन्छ भन्छन् । तिमीमा दाग खोज्ने नियति र मेरो नियत कहिल्यै नआओस् । कमसेकम आजको मितिसम्म मेरो आँखाले हेर्दा तिमी पूर्ण रुपले उपयुक्त स्त्री हौं ।
एउटा उपयुक्त श्रीमती, उपयुक्त बुहारी अनि उपयुक्त छोरी । तर प्रिय म तिमी भित्र एउटा श्रीमती, बुहारी र छोरी हुन चाहिने गुणले भरीपूर्ण स्त्री मात्र देख्दिनः म तिमिमा । यी कुराको अलावा एउटा स्वाभिमानी नारीको स्वरुप
देख्छु । हो प्रिय तिमि आफैमा एउटा सक्षम र स्वाभिमानी नारी हौ । त्यसकारण म कहिल्यै पनि तिमी माथि यसो गर त्यसो नगर भनेर श्रीमान हुनुको हकदावी गर्ने कुचेष्टा गर्न चाहन्न । बरु मलाई आवश्यकता महशुस भयो भने म आफैं तिमिसँग माग्नेछु । आज यो पत्र पनि तिमिसँग केहि कुराहरु माग्न र केहि बिन्तिहरु बिसाउनकै लागि लेखेको हुँ ।
मेरी प्यारी श्रीमती मैले तिमिलाई मख्ख पार्नको लागि मात्र तिमि सक्षम र स्वाभिमानी छौ भनेको होइन यो मैले हृदयदेखिनै स्वीकारेको कुरा हो । तिमि जत्तिको शिक्षित नारीलाई के गर्नुहुन्छ के गर्नुहुन्न भनेर सिकाउन खोज्नु तिम्रो संस्कार प्रतिको अवमुल्यन हुनेछ । के गर्ने के नगर्ने भन्ने कुराको स्वविवेकले निर्णय गर्न तिमि आफै सक्छौं । त्यसैले मैले यो पत्रमा मागेको कुराहरुलाई श्रीमानको आदेश होइन अनुरोध सम्झनु है प्रिय ।
मेरो प्यारी, कालि जिन्दगीमा मेरो लागि भनेर कहिल्यै ब्रत नबस्नु है । मेरो उन्नति, प्रगति होस्ः मेरो आयु लामो होस् भनेर भोक भोकै बसेर भगवानको पुजा कहिल्यै नगर्नु है । यदि तिमिले मेरो नाममा ब्रत नबस्दा, मेरो लागि भनेर भोक भोकै बसी पुजा नगर्दा भगवान रिसाउँछन् भने पनि रिसाउन देऊ । किनभने मलाई भगवानसँग पनि चित्त बुझेको छैन । भगवानले मेरो लागि तिमिले ब्रत बस्नु पर्ने तिथि, मिति र समय त तोकिदिनुभयो तर मैले तिम्रो खुशीको लागि तिम्रो दिर्घायुको लागि, तिम्रो उन्नति प्रगती होस् भन्नको लागि ब्रत बस्ने तिथि, मिति र समय किन नतोकिदिएको । आफैले सृष्टि गरेको सन्तानसँग पनि विभेद गर्ने भगवान् रिसाउँछन् भने पनि रिसाउन देऊ ।
प्यारी कालि साउनको महिना चलिराछ । प्रत्येक साउने सोमबार आफ्नो श्रीमानको, आफ्नो घरपरिवारको राम्रो राम्रो होस् भनेर ब्रत बस्ने, पुजा गर्ने चलन छ । तर यो चलन तिमिले मान्नै पर्छ भन्ने छैन । तिम्रो अन्तरआत्माले पुजा गर भन्छ भने गर अन्यथा नगर । मसँग त तिमिलाई पुजासम्म त गर भन्ने नैतिक आधार पनि छैन । मेरै दिर्घायु र प्रगतीको लागि तिमिले भोकै बसेर पुजा गर्ने साउने सोमबारको दिन म आफै भने साँझमा साथिहरुसँग सोमरस र सुकुटिमा रमाईरहेको हुन्छु । अनि कसरी भन्नु मैले तिमिलाई पुजासम्म त गर न भनेर पनि ।
प्रिय, विवाहित महिलाले साउनको महिना भरी हातमा हरियो चुरा लगाउनु भन्छन् । त्यसो गरे घरपरिवारको, श्रीमानको राम्रो हुन्छ रे । तर तिमिले चाहिँ हरियो चुरा आफुलाई सुहाउँछ भने मात्र लगाउनु है । मेरो लागि भनेर परिवारको लागि भनेर लगाई राख्नु पर्दैन । मैले तिम्रो लागि, तिम्रो खुशीको लागि भनेर आजसम्म एक टुक्रो शरीरमा केहि बाँधेको छैन भने तिमि मात्रै मेरो लागि कत्ति गछ्र्यौ ?
साउने सक्रान्तिमा अरुले जस्तै तिमिले पनि हातैभरी मेहेन्दि लगाएर हात सजाएछौं । आफ्नो नामसँग मेरो नाम जोडेर पनि लेखिछौं । खुशी लाग्यो । तर कालि मेहेन्दीको रङ गाढा बसेन भनेर चिन्ता नमान है । म तिमिलाई आज पनि तेत्तिनै माया गर्छु जति हिजो गर्थे । मेहेन्दीको रङ गाढा बस्ने र नबस्ने कुरा त त्यहाँ प्रयोग गरेको केमिकल र कति समय राख्ने भन्ने कुरामा भर पर्छ भनेर तिमिलाई थाहै छ । मानिसहरुले हल्ला फिजाए जस्तो श्रीमानले माया गरे रङ गाढा बस्ने नगरे फिक्का हुने अन्धविश्वासको पछाडि लाग्दैनौं भन्ने आशा छ ।
काली, साउन सकिनासाथ भदौ लाग्छ । भदौं झन तीजको महिना । तीज त नारीहरुको महान पर्व । तीजलाई धुमधामसंग मनाउने योजना बनाउनु । मेरो लागि भनेर भोक भोकै वर्त नबस्नु नि । मेरो लागि भनेर व्रत बस्ने पनि तिमी अनि गोडाको पानी पनि तिमीले खानु पर्ने ? मेरो लागि तिमीले ब्रत बसिदिएपछि त, कृतज्ञ भएर मैले तिम्रो गोडा ढोग्नु पर्ने, तिम्रो गोडाको पानी त मैले खानु पर्ने । अनि बल्ल पो समानता हुन्थ्यो । हरेक कुरामा नारी नै झुक्नु पर्ने, नारीले नै त्याग गर्नुपर्ने परम्परालाई पछ्याई राख्नु पर्ने जरुरत म देख्दिन । बाँकी तिम्रो इच्छा ।
प्रिय तिमी घरको काम, अफिसको काम सकेर पनि मेरो लागि प्रसस्त समय निकाल्छौं । तर म तिम्रो भागको समय पनि काटेर साथिभाईसंग विताउँछु । यसको लागि मलाई माफ गर है । तर मैले तिमीलाई मायाँ नगर्ने भएर वा घटेर तिम्रो भागको समय काटेको होइन । श्रीमति छोड्न नसक्ने लाछि भनेर साथिहरुले उडाउने खिल्लीबाट बच्नका लागि मात्रै हो । तिमीलाई थाहै छ, म कहिले काही साथि भाईसंग बाहिर निस्के भने, अक्सर फर्कन ढिलो हुन्छ । म छिटो जाउँ भन्छु, साथिहरु जिस्क्याउन थाल्छन् । हेर बुढीसंग डराएको भनेर । अनि म भित्रको पितृसत्तात्मक पुराषार्थ जाग्छ र फर्कन ढिलो हुन्छ । तिम्रो अफिसको कामले आधाघण्टा ढिलो हुँदा कहाँ छ्यौ कति बेला आउने हो भनेर दश पटक फोन गर्ने म बुढा आउला र संगै खाना खाउँला भनेर श्रीमतिले पर्खेको दुई घण्टा बढी भईसक्यो भन्ने कुरा पनि सजिलै विर्सिदिन्छु । तपाईको कुन कुन लुगा धुनु छ निकाल्नुस् भनेर सोधि सोधी लुगा धोइदिने, तिम्रो लुगा कहिले काहि धुँदा पनि मान्छेले देखि पो हाल्छन् कि, फलानोले त स्वास्नीको लुगा धोएर बस्दो रहेछ भनेर खिज्याउँछन् कि भनेर डराउँछु । हेर त मेरो लाचारी । मायाँ, स्नेह, सद्भाव, प्रेमको खानी पनि तिमी नारी
नै । पराईको घरमा आएर पराईलाई आफ्नो ठानेर घरलाई स्वर्ग बनाई दिने पनि तिमी नारी नै । श्रीमानको, सासु ससुराको, बाँकी घर परिवारको हरेक इच्छा पु¥याई दिनु पर्ने, हेरविचार गरिदिनु पर्ने पनि तिमीले नै । अनि धर्म, कर्म, त्याग तपस्या, ब्रत पनि तिमीहरुले बसिदिनु
पर्ने । यो समाजले पनि कस्तो चलन चलाएको । कुनै कुनै त्याग तपस्या त श्रीमानले पनि गर्नुपर्ने भए के नै विग्रन्थ्यो होला र ? श्रीमतिले जस्तै श्रीमानले पनि श्रीमतिको खुशीको लागि बर्षमा एउटा मात्रै भएपनि ब्रत बस्नु पर्ने नियम बनाएको भए आकाशै त खस्दैनथ्यो होला ?
त्यसैले मेरी प्यारी श्रीमति, मेरो खुशीको लागि, हाम्रो परिवारको समृद्धिको लागि जुन लगन र समर्पणको साथ तिमी कर्म गरिरहेकी छौ, त्यो कुनै ब्रत भन्दा कम छैन । सायद भगवान पनि यसैमा खुशी हुनुहुन्छ होला ।
त्यसका कारण प्रिय केबल, मेरो लागि भनेर आफ्नो शरीर मारेर भोक भोकै कहिल्यै ब्रत नबस्नु है । बस्ने नै हो भने तिमी मेरो लागि ब्रत बस । म तिम्रो लागि ब्रत बस्छु ।
उहि तिम्रो मायाँ गर्ने
श्रीमान।।।।