शौचालय मानवका मल र मूत्रको समुचित व्यवस्थापनका लागि अपरिहार्य सुविधा हो । शरीरबाट उत्सर्जन हुने ठोस र तरल पदार्थको विसर्जनका लागि यो जरुरी छ, जसरी खाना खानु र पानी पिउनु आवश्यक छ । खुल्ला ठाउँमा दिसा गर्नाले दुषित पानीका कारण लाग्ने झाडापखाला, आऊँ, हैजा, टाइफाइड जस्ता सरुवा रोगहरू फैलन्छन् ।
विगतमा शौचालयको प्रयोग नहुँदा यी रोगहरूले गाउँबस्ती नै रित्तै भएका अनुभवहरू बुढापाकाहरुसँग अझै बाँकी छन् । यी रोगहरूबाट बच्ने एक मात्र उपाय शौचालय निर्माण र यसको उचित प्रयोग हो ।
शौचालय निर्माणका लागि सुरुमा सामाजिक सुरक्षा भत्ता रोक्ने, नागरिकता सिफारिस रोक्ने जस्ता स्थानीय निकायका बाध्यकारी निर्णयहरू लिनुपरेको थियो । बाध्यताले बनेका शौचालयहरू पनि कतिपयले बाख्रा बाँध्ने वा पराल/घाँस थुपार्ने गरी प्रयोगविहीन बनाएका थिए, जसले मलमुत्र व्यवस्थापन प्रतिको अज्ञानता र उपेक्षालाई दर्शाउँछ ।
२०७६ असोज १३ गते नेपालले आफूलाई दक्षिण एशियामा खुल्ला दिसा मुक्त हुने पहिलो देश घोषणा ग¥यो । यो अभियानले लाखौं शौचालय निर्माण गरी स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ र झाडापखाला, आऊँ जस्ता सरुवा रोगहरूको संक्रमण ह्वात्तै घटाएको छ । खुल्ला दिसा मुक्त घोषणा भएको ६ वर्षपछि पनि कतिपय घरमा शौचालय बन्न नसकेको वा बनेका शौचालय पनि प्रयोगमा नआएको अवस्था छ ।
सार्वजनिक, सरकारी कार्यालय, स्वास्थ्य संस्था र विद्यालयका शौचालयहरूको सरसफाइको अवस्था अत्यन्त दयनीय छ । शौचालय कता छ भनेर सोध्नै पर्दैन । कार्यालयको मूल ढोकाबाट छिर्नासाथ नाकमा ठोकिन आउने दिसा–पिसाबको दुर्गन्धले आफै बताउँछ र यसले स्वास्थ्य र सरसफाइप्रतिको आम बेवास्तालाई झल्काउँछ ।
शौचालयलाई साँच्चिकै ’आराम कक्ष’ बनाउनका लागि निर्माण, प्रयोग र सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता छ । नोभेम्बर १९ मा मनाइने विश्व शौचालय दिवस को सन्दर्भमा, खुल्ला शौच पूर्ण रूपमा त्यागेर शौचालयको प्रयोगमार्फत सभ्य बन्ने, आफू र समाजलाई स्वस्थ बनाउँदै समृद्धिको मार्गमा अगाडि बढ्न हाम्रो अनुरोध ।
शौचालय र समृद्धिका कुरा-सम्पादकीय
previous post
