शिव सरस्वती मावि तनहुँले निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिरहेको छ । यो विद्यालय दक्षिण तनहुँको नमूना विद्यालयको रुपमा समेत परिचित छ । २०३२ सालमा स्थापना भएको यो विद्यालयले आगामी माघ २५ मा स्वर्ण महोत्सव समारोह आयाजना गर्दैछ । सोही सन्दर्भमा तनहुँ आवाज साप्ताहिकले विद्यालयका प्रधानाध्यापक लिलकुमार श्रेष्ठसंग गरेको कुराकानीको सम्पादित अंश ।
विद्यालय स्थापनाको ५० वर्ष भएको छ । यो अवसरमा पूर्व विव्यस पदाधिकारी, सदस्य तथा प्रधानाध्यापकहरुलाई कसरी सम्झनु हुन्छ ?
२०३२ सालमा यो विद्यालयको स्थापना भएको हो । २०३४ सालमा म कक्षा ४ मा विद्यार्थीको रुपमा यहाँ आएको हुँ । पहिले सुरथप्रसाद विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । त्यसपछि गोविन्दराज जोशी प्रधानाध्यापक हुनु भयो । विद्यालयको भौतिक र शैक्षिक विकासमा उहाँ दुबैको महत्वपूर्ण योगदान रह्यो । त्यसपछि ज्ञानराज थापा सर आउनु भयो । दुइवर्ष सम्म एसएलसीको नतिजा सून्य भएर विद्यालय नै बन्द हुने अवस्थाबाट राम्रो नतिजा आउने अवस्थामा ल्याउन ज्ञानराज सरको महत्वपूर्ण भूमिका रह्यो । त्यसपछि पनि धेरैजना प्रधानाध्यापकको रुपमा रहेर काम गर्नु भयो । उहाँहरु सबैको सकारात्मक प्रयास र योगदानका कारण विद्यालय अहिलेको अवस्सथामा आएको हो । विद्यालय व्यवस्थापन समितिको कुरा गर्दा मनिलाल श्रेष्ठ, पूर्णमान श्रेष्ठ, गोपालकृष्ण श्रेष्ठ, गुमानध्वज थापा तथा सन्तमान श्रेष्ठ लगाएतको महत्वपूर्ण योगदान रहेको हामीले सुनेका र पढेका छौं ।
पूर्व प्रअ जसको नामबाट विद्यालयको नामाकरण भएको थियो, शिवराज चन्द उहाँलाई कसरी सम्झनु हुन्छ ?
तत्कालिन अरुण माविलाई स्थायीत्व दिनु पर्छ । ऋषिङ्गेहरुलाई शिक्षाको ज्योती प्रदान गर्नु पर्छ भनेर अरोरात्र खट्ने उहाँलाई सम्मान पूर्वक सम्झन चाहन्छु । आफ्नो तलब समेत निजी श्रोतका शिक्षक पाल्न खर्चर समग्र ऋषिङलाई अगाडि बढाउन लागि पर्ने उहाँको योगदानको कदर गर्दै स्थानीयले विद्यालयको नाम नै उहाँको नामबाट नामाकरण गरेका हुन् । उहाँको पदचाप पछ्याउँदै हामी पनि ऋषिङ र शिवसरस्वती माविलाई दक्षिण तनहुँको शैक्षिक केन्द्र बनाउने प्रयत्नमा छौं ।
शिव माविबाट अहिले शिवसरस्वती मावि भएको छ । तत्कालिन अध्यक्ष सरस्वतीकृष्ण श्रेष्ठ र पछिल्ला अध्यक्षहरुलाई कसरी सम्झनु हुन्छ ?
अन्य पूर्व अध्यक्षहरुको जस्तै सरस्वती कृष्ण श्रेष्ठको पनि विद्यालयको शैक्षिक र भौतिक विकासमा महत्वपूर्ण योगदान छ । उहाँ समग्र ऋषिङको मुहार फेर्ने काममा निरन्तर लागि परिरहने मान्छे हो । उहाँको देहावसान पछि उहाँको परिवारले सरकारले तोके बामोजिमको सर्त पूरा गर्नु भएपछि विद्यालयको नाममा उहाँको नाम जोडिन गएको हो । बिचमा अन्य अध्यक्षहरु पनि आउनु भयो । संविधान सभा सदस्य स्व. झुलबहादुर आलेको विद्यालय निर्माण र विकासमा महत्वपूर्ण योगदान छ ।
वर्तमान अध्यक्ष जो युवा हुनुहुन्छ । उहाँको सोच, जाँगर, काम गर्ने नयाँ तरिकाले विद्यालयले शैक्षिक र भौतिक प्रगति गर्ने कुरामा मलाई विश्वास छ ।
विद्यार्थी, शिक्षक र अहिले प्रधानाध्यापकको रुपमा यहाँले साढे चार दशक यो विद्यालयमा विताउनु भयो । यो अवधिका आरोह–अवरोहलाई फर्केर हेर्दा के पाउनु हुन्छ ?
यो अवधिलाई फर्केर हेर्दा अति उत्साही हुने अवस्था नभए पनि भौतिक र शैक्षिक हिसाबले सन्तोष गर्ने ठाउँ छ । हजारौं विद्यार्थीले यो विद्यालयबाट एसएलसी तथा एसईई उत्तिर्ण गरेका छन् । पहिले जस्ता पूर्वाधारको अभाव तथा शिक्षकको अभाव अहिले छैन । योग्य शिक्षकबाट विद्यार्थीहरुले शिक्षा आर्जन गर्ने मौका पाएका छन् । वर्तमान अवस्थाको कुरा गर्ने हो भने पुस्तकालय तथा इ– पुस्तकालय, छात्रावास लगाएको सुविधा छ भने आर्थिक आत्मनिर्भरताका लागि व्यवसायिक भवन पनि हामीले बनाएका छौं । छात्राहरुका लागि छात्रावास निर्माण भइरहेको छ । भेटेरिनरी जेटिए तर्फको पढाई निःशुल्क प्रदान गरेका छौं । कक्षा ११ र १२ मा शिक्षा विषयमा कक्षाहरु सञ्चालनमा छन् । देशव्यापि नतिजाको तुलना गर्दा १०८ औं तथा गण्डकी प्रदेशमा उत्कृष्ठ १६ औं नम्बरमा परेको गौरवशाली इतिहास पनि छ ।
झण्डै ६ महिना हुन लाग्यो यहाँ प्रधानाध्यापक हुनु भएको । कस्तो अनुभव गरिरहनु भएको छ ?
सामान्य शिक्षकको रुपमा काम गर्दा र पदिय जिम्मेबारी पछिको अनुभव त फरक हुने नै भयो । विद्यालयको समग्र विकासमा अलिक धेरै ध्यान समय दिनु परेको छ । सबै पक्ष र क्षेत्रको सम्पर्कमा रहेर काम गर्नु पर्दा सोचाईको दायरा पनि फराकिलो भएको छ । चुनौतिहरुको सामना गर्ने बानीको विकास पनि भइरहेको छ । समग्रमा म सन्तुष्ट छु ।
स्थानीय सरकार विद्यालयको शैक्षिक र भौतिक विकासमा कत्तिको सहयोगी पाउनु भएको छ ?
घर दैलोको सरकार भएकोले होला काम गर्न केही सहज भएको अुनभव गरेको छु । हाम्रो हकमा स्थानीय सरकार सहयोगी नै छ । प्राविधिक शिक्षा सञ्चालन गर्न तीनवटा दरवन्दी प्रदान गर्ने , व्यवसायिक भवन निर्माणमा सहयोग गर्ने तथा अन्य थुप्रै सहयोग स्थानीय सरकार मार्फत हामीले पाएका छौं ।
अबको केही दिनमा विद्यालयको स्वर्ण महोत्सव समारोह हुँदैछ । के कस्ता तयारीहरु गर्नु भएको छ ?
विद्यालयको स्वर्ण महोत्सव सम्पन्न गर्न मूल समारोह समिति बनेको छ भने विभिन्न उपसमिति हुन पनि बनेका छन् । प्रचारप्रसार, मञ्च व्यवस्थापन, अर्थ संकलन, अतिथी सत्कार, स्मारिका प्रकाशन, स्वयम सेवक परिचालन, पुरस्कार तथा सम्मान व्यवस्थापन, खाजा व्यवस्थापना लगाएतका उप समितिहरु बनिसकेका छन् । समग्र ऋषिङले अपनत्व महसुस गरोस् भन्नका लागि पालिका भित्रका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने खालका कार्यक्रमहरुपनि गर्दैछौं । यस्ता कार्यक्रम साता भरी चल्नेछन् । मेरो र मेरो परिवारको तर्फबाट विद्यालयको स्वर्ण मञ्च निर्माणको घोषणा भएर काम समेत प्रारम्भ भएको छ ।
विद्यालय जीवनमा योगदान गरेका स्थानीय अभिभावक तथा सरोकारवालाहरुलाई स्वर्ण महोत्सवको कसरी सम्झनु हुन्छ ?
२०५६ सालमा रजत महोत्सवको कार्यक्रम गर्दा हामीलाई धेरैले आर्थिक सहयोग गर्नुभएको छ । त्यस अघि हामीलाई सहयोग गर्नुहुनेहरु विवरण अद्यावधिक गरिसकेका छौं । त्यस पछिपनि धेरै दाताहरुले हामीलाई आर्थिक सहयोग गर्नु भएको छ । धेरै अभिभावकको नैतिक सहयोग र समर्थन रहेको छ । सबैको शुभेच्छा र सहयोगले विद्यालय अहिलेको अवस्थामा छ । भर्खरै स्वर्ण महोत्सव मनाउने प्रयोजनका लागि ऋषिङ गाउँ पालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको खबर पाएका छौं । म विगतदेखि वर्तमानसम्म हामीलाई सहयोग गर्नु हुने सदभाव राख्नुहुने सबैका प्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।