ऋषिङ/ऋषिङ स्थित शिवसरस्वती मावि भोलि स्थापनाको पचासौं वर्ष प्रवेश गर्दैछ ।
स्थापनाको पचासौं वर्ष प्रवेश(स्वर्ण महोत्सव) को अवसर पारेर विद्यालयले माघ २१ देखि विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका सूचना अधिकारी गणेशकुमार श्रेष्ठका अनुसार ऋषिङ गापा शिक्षा शाखाकी प्राविधिक सहायक मञ्जु पौडेलको प्रमुख आतिथ्यमा लोक नृत्य तथा भजनकिर्तनको कार्यक्रम सम्पन्न गरेको छ । यसैगरी २२ गते ऋषिङ गापा अन्तर्गतको अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता तथा अन्तर विद्यालय मिनी म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । ७ किमी लामो मिनी म्याराथनमा शान्ति मावि, ऋषिङ्ग– ३ दुबुङका हेमकुमार थापा प्रथम, शिव सरस्वती माविका होमबहादुर थापा द्वितीय र नरबहादुर राना तृतीय भए । प्रतियोगितामा शिव सरस्वती माविकै उज्ज्वल बिक र सुजल विकले सान्त्वना स्थान हासिल गरेका थिए । सोही अवसरमा आयोजित अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगितामा बाल शिक्षा निकेतन माविले सान्त्वना, श्रृङ्ग मा.वि तृतीय र शिव सरस्वती मा.वि.प्रथम र द्वितीय स्थान हासिल गरेका थिए ।
![](https://tanahunawaj.com.np/wp-content/uploads/2025/02/2023-01-15.jpg)
स्वर्ण महोत्सवकै कार्यक्रम अन्तर्गत आज गायन प्रतियोगिता तथा आधारभूत र मावि तहको छुट्टा छुट्टै वक्तृत्वकला प्रतियोगित सम्पन्न हुँदैछ । गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आजको कार्यक्रममा हुन लागेको हो ।
स्वर्ण महोत्सव समारोहको अन्तिम दिनको कार्यक्रमको प्रमुख अतिथी पूर्वमन्त्री एवं तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारी रहने छन् । भण्डारीले स्वर्ण महोत्सव समारोह तथा स्वर्ण मञ्चको उद्घाट्न गर्ने छन् भने स्वर्ण स्मारिकाको विमोचन समेत गर्नेछन् । विद्यालयका प्रधानाध्यापक लिलकुमार श्रेष्ठका अनुसार पूर्व विव्यस अध्यक्ष, विद्यालयका पूर्व प्रधानाध्यापकहरु, उत्कृष्ट वर्ष शिक्षक, जग्गादाता, जनप्रतिनिधि बन्न सफल पूर्व विद्यार्थी, उच्च ओहोदामा पुगेका पूर्व विद्यार्थी , राष्ट्रिय ख्याति कमाएका पूर्व विद्यार्थी लगाएतलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यसका साथै नेवार समुदायको लाखे नाच, कौरा नाच तथा मारुनी नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा लोक कलाकार रेनु पुलामी, मधु थापा तथा अनुराज थापाको प्रस्तुती रहने छ ।