यतिबेला देशभरका अधिकांश सामुदायिक विद्यालय हरुमा वार्षिकोत्सव मनाउने माहोल छ । अझ भनौं हिउँद वार्षिकोत्सवमय बन्ने गर्दछ । अधिकांश विद्यालयहरुको वार्षिकोत्सव यो समयमा पर्नुका मुलतः दुइ कारण छन् । पहिलो कारण हो,जब आम नागरिकले शिक्षाको महत्व आत्मसाथ गरे र छोरा–छोरीलाई पढाउनु पर्छ भन्ने बुझे अनि आफु पढ्न नपाएका कारण आर्थिक, समाजिक रुपमा पछि परको थाहा पाए त्यति बेला देश भर धमाधम विद्यालय खुल्न थाले । विद्यालय खुल्ने एक खालको बाढी नै आएको त्यो बेला शैक्षिक शत्र पुषमा सुरु हुन्थ्यो । शैक्षिक शत्र प्रारम्भ हुने बेला विद्यालयहरु स्थापना हुने वा पढाई प्रारम्भ गर्ने कुरा स्वाभाविक भयो ।
अर्काे कारण हो, श्रीपञ्चमी धेरै जसो माघ महिनामा पर्नु र श्रीपञ्चमीका दिन पारेर बालबालिकाको अक्षरारम्भ गर्नु शुभ हुने विश्वास । हिन्दु सभ्यताका अुनयायीहरु श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भन्दछन् र यो दिन विद्याकी देवी भनेर पुकारिने सरस्वतीको पुजा आराधना गर्ने चलन छ । सोही दिन अक्षरारम्भ गर्दा बालबालिका तेज दिमागका हुने विश्वास हुनु पनि स्वाभाविक नै भयो । दशै तिहार जस्ता चाडहरु मनाइसकेपछि फुर्सदको समय पनि हुने, विद्यालय भवन नबनेको अवस्थामा खुल्ला अकाशमा पनि केही समयका लागि कक्षा सञ्चालन गर्न सकिने र वर्षा हुने समय आउँदासम्ममा चिमले बारेको स्याउलाको झुपडी बनाउन सकिने विश्वासले पनि यो समयमा अधिकांश गाउँमा विद्यालय स्थापना भएका हुन् । यद्यपि अहिलेका पुस्तालाई खुल्ला अकाशमा पढ्ने वा स्याउलाको छाप्रोमा पढ्ने कुरा एकादेशको कथा लाग्न सक्छ । तर यो यथार्थ हो । आफैले घरबाट बोकेर गएको चकटी ओछ्याएर वस्ने, सानो काठको पाटीमा धुलो राखेर अक्षरको आकृति बनाउँदै अक्षर लेख्न सिक्ने कुरा साँच्चै अब एकादेशको कथा बनेको छ । अहिले प्रौढ हुँदैै गएको पुस्ताको विद्यालयको वास्तविकता जे थियो, अहिले फरक छ । विद्यालयहरु भौतिक रुपमा धनी भएका छन् । कटुसको स्याउलाले छाएको र चिमको भित्ता भएको विद्यालय भवनलाई क्रमषः जस्ताको छानो भएको र अहिले आएर आरसिसी भवनले विस्थापित गरिसकेको छ । अब कुनै पनि विद्यार्थीले आफु बस्नका लागि घरबाट चकटी बोकेर आउनु पर्दैन । विद्यालयमा धुले पार्टीको सट्टा ह्वाइट बोर्ड र कतै स्मार्ट बोर्ड आइसकेका छन् । शैक्षिक सामग्री, विज्ञान प्रयोगशाला, खेलकुद मैदान, पुस्तकालय, प्रत्येक कक्षामा बुक कर्नर, योग्यता प्राप्त र तालिम प्राप्त शिक्षक छन् भने सहरी लगाएत अधिकांश ग्रामिण क्षेत्रका विद्यालयमा इन्टरनेट सुविधा समेत पुगिसकेको छ । भौतिक रुपमा सम्पन्न बन्दै गएका सामुदायिक विद्यालय मध्ये केही बाहेक अधिकांश विद्यालय विद्यार्थी संख्या र शैक्षिक गुणस्तरका हिसाबले भने गरिब बन्दै गएका छन् । विद्यालयको खेल मैदान त फराकिलो बनाइएको छ तर त्यहाँ खेलेर रमाउने बालबालिकाको संख्या भने दिनानुदिन घट्दै गएको छ । आम अभिभावकको विश्वास गुमाएर तन्नम हुँदै गएका छन्, सामुदायिक विद्यालयहरु । दलको नेताको फेरसमातेर नेता बनेको कोहीलाई प्रमुख अतिथी बनाएर अनि आफुलाई अङ्क,अक्षर चिनाउने तीन–चार दशक विद्यालयमा सेवा गरेको शिक्षकलाई मर्यादाक्रमको पुछारमा राखेर वार्षिकोत्सव मनाउँदै गर्दा देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले अब चाहिँ केही सोच्नु पर्ने भएको छ । आफैलाई प्रश्न गर्नु पर्ने बेला आएको छ । आखिर हामीले आफैलाई अपमान गर्न कहिलेबाट छाड्ने हो ? दलको नेता भनि टोपल्ने समाजसेवाको नाम नजानेको व्यक्ति प्रमुख अतिथी हुने तर आफुलाई अक्षर चिनाउने गुरु स्वयम् मर्यादाक्रमको पुछारमा हुने कहिलेसम्म ? अनि हामीले राज्यले हामीलाई सम्मान गरेन, मर्यादा क्रममा राखेन, आम मानिसहरु पनि शिक्षकको मर्यादा गर्दैनन् भनेर दुःखी हुन वा गुनासो गर्न सुहाउँछ ? जब हामी आफुले आफैलाई इज्जत गर्न जान्दैनौं तबसम्म अरुले इज्जत गरेन भनेर भन्ने अवस्था रहन्छ र ? अधिकांश सामुदायिक विद्यालयहरु सडक छेउमा छन् । ति सडक हुँदै निजी विद्यालयका बसहरुले कोचाकोच गरेर विद्यार्थी ओसारेका दृश्य एकातिर छ भने अर्काेतिर त्यही सडक छउको सामुदायिक विद्यालयका कक्षा कोठा खाली छन् । निःशुल्क पढ्न पाईन्छ । निःशुल्क पाठ्य पुस्तक पाईन्छ । विभिन्न खाले छात्रवृत्तिहरुको व्यवस्था छ । योग्यता र तालिम प्राप्त शिक्षक छन् । कक्षा ५ सम्म्का बालबालिकाले विद्यालयमै स्वस्थकर खाजा खान पाउँछन् । तर किन आम अभिभावक सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउन चाहँदैनन् ? केले हो निजी विद्यालय तर्फ विद्यार्थी र अभिभावकलाई आकर्षित गरेको ? घर छेउको विद्यालय छोडेर किन गाडी चढेर कुनै विद्यार्थी परको निजी विद्यालयमा पढ्न चाहन्छ ? वा अभिभावक आफ्नो बच्चा त्यहाँ पढाउन चाहन्छ ? शिक्षाका सन्दर्भमा असंवेदनशिल व्यक्तिहरु जम्मा पारेर तामझामका साथ विद्यालयको वार्षिकोत्सव मनाउँदै गर्दा सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले सोच्नु पर्ने भएको छ ।
सोच्नुपर्ने प्रधानाध्यापक र शिक्षकहरुले मात्र होइन्, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैले हो । आफुले व्यवस्थापनको नेतृत्व सम्हालेको वा व्यवस्थापन जिम्मा लिएको विद्यालय अगाडिबाट निजी विद्यालयले विद्यार्थी ओसार्दा र आफ्नो विद्यालयको कक्षा कोठा खाली हुँदै गर्दा त्यसको कारण खोजी गर्ने र निराकरणको उपाय खोजी गर्ने काम समितिका अध्यक्ष तथा सदस्यहरुको पनि
हो । शिक्षकहरु तिर औंला ठड्याएर वा उनीहरुलाई दोषी देखाएर आफु चोखिन खोजेर मात्र पुग्दैन । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँदा गृहकार्य देखि उनीहरुको खाजा, सरसपफाई, विद्यालयमा नियमित उपस्थिति, पाठ्यपुस्तक तथा कापी–कलम जस्ता विषयमा ध्यान दिने तिनै अभिभावक छोरा छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरकै दिनबाट ति सबै विषयमा बेखबर जस्तै
देखिन्छन् ।
आफ्नो विद्यालयको वार्षिकोत्सव बनाउँदै गर्दा सबैभन्दा धेरै सोच्नुपर्ने भनेको शिक्षकले हो । के हामीले साना भाई बहिनीलाई कक्षामा बसौं बसौं लाग्ने वातवरण बनाउन सकेका छौं ? कतै राज्यले आफुलाई गरेको अपमानको बदला हामीले भविष्यका कर्णधार ति बालबालिकासंग लिइरहेका त छैनौं ? यस्तो धेरै कुराहरु छन् वार्षिकोत्सवका बेला शिक्षक, प्रधानाध्यापक र अभिभावक तथा सम्बन्धित पक्षहरुले सोच्नु पर्ने ति विषयमा फेरी अर्काे अंकमा छलफल गरौंला । अहिलेलाई कुराको बीट मारौं ।