– केही दिन अगाडि ऋषिङ गाउँ पालिकाको एक अधारभूत विद्यालय विद्यार्थी अभावमा समायोजनमा प–यो । नजिकको विद्यालयमा सरुवा गरिएका उक्त विद्यालयका एक शिक्षकले नयाँ विद्यालयमा पुगेर भने–हप्तामा एक दुइ दिन विद्यालय आएर हुने भए म विद्यालय आउँछु न भए आउँदिन । उनका कुरा धैयैता पूर्वक सुनेका अन्य शिक्षकले जब त्यसो गर्न नपाइने बताए तब उनको माग थियो – त्यसो भए मलाई ढिलो आयो र चाँडै गयो भन्न पाईने छैन ।
– जेठ पहिलो साता कक्षा १२ को वार्षिक परीक्षा चल्दै थियो, परीक्षा अनुगमनका लागि शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सदरमुकाम दमौली छेउको परीक्षा केन्द्रमा पुगे । परीक्षा चलिरहँदा केन्द्राध्यक्ष भने केन्द्रमा भेटिएनन् । सोधपुछ गर्दा थाहा भयो, केन्द्राध्यक्ष त व्यक्तिगत काममा विद्यालय बाहिर गएका पो रहेछन् ।
– एसईई परीक्षा २०७५ को कापी परिक्षण तथा सम्परिक्षण हुँदै थियो, कापी परिक्षणमा सहकर्मीबाट भएको त्रुटीलाई लिएर परिक्षण केन्द्रका कर्मचारीसंग सम्परिक्षणमा संलग्न एक शिक्षकले आक्रोष पोखे अर्को वर्षपनि फलानो शिक्षकलाई कपि परिक्षण गर्न दिने हो भने म कपि परिक्षण तथा सम्परिक्षणमा आउँदिन ।
खासगरी सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको प्रतिष्ठा डाँडापारीको जून बन्नुका कारणहरुको केही उदाहरुण हुन माथि प्रस्तुत। दृष्य एकका शिक्षकको माग पूरा भयो ् भएन , उनी विद्यालय आउँदै छन् या माग पूरा नभएका कारण विद्यालय आउनै पो छाडे ? त्यो थाहा भएन । तर हप्तामा एक वा दुइ दिन विद्यालय आएर पढाउने शिक्षकका प्रति वा विहान ढिलो आउने अनि छुट्टीहुने बेला चाँडै जाने शिक्षकका प्रति आम अभिभावक र विद्यार्थीको मनमा कसरी श्रद्धाभाव उत्पन्न हुन्छ ? भन्ने प्रश्नले भने मलाई छाडेको छैन। गाउँ समाजमा भएको पढेलेखेको र अगुवा भनिने मानिसको व्यवहार नै गैर जिम्मेबार भएपछि कसरी प्रतिष्ठा आर्जन हुन्छ ? बालबालिकामा ज्ञानको भोक जगाउने र उसको भोक शान्त गर्नुपर्ने दायित्व लिएको मान्छे त्यही जिम्मेबारीबाट च्यूत भएर विद्यालयका प्रधानाध्यापक र विव्यससंग हप्तामा दुइ वा तीन दिन विद्यालय आएर जागिर खान पाउनु पर्ने वा ढिलो आउन र चाँडो जान पाउनु पार्ने सर्त राख्छ, अनि शिक्षकको सामाजिक प्रतिष्ठा कहाँ पुग्छ ? आफ्ना छोराछोरीको भाविष्य रेखा कोर्ने जिम्मा लिएको व्यक्तिको व्यवहार ठिक उल्टो पाए पछि कुन चाहिँ अभिभावकले त्यो शिक्षकको सम्मान गर्ला ?
परीक्षा सञ्चालन भै रहेको समयमा केन्द्राध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी लिएको व्यक्तिलाई परीक्षाकेन्द्र नै छाडेरबाहिर जा पर्ने कस्तो बाध्यता आईप–यो अरुले बुझ्ने कुरा भएन । तर एक जना शिक्षकको त्यो व्यवहार थाहा पाउने आम मानिसले सामान्यिकरण गरेर शिक्षकहरु गैर जिम्मेवार हुन्छन् भन्ने बुझ्छन् वा भनौं यस्तो अर्थ लागाईदिन्छन् । हुनपनि आफ्ना सहकर्मी , विद्यार्थी र समुदाय समेतलाई कर्तव्य निर्वाहमा इमान्दार हुन प्रेरित गर्नु पर्ने व्यक्ति नै कर्तव्य निर्वाहमा पछि परेपछि अरुलाई कसरी प्रेरित गर्ने ? अनि आम अभिभावकले हामीलाई आदर गर्दैनन् भनेर गुनासो गर्नुको के अर्थ रहन्छ ?
अब तस्रो दृश्य तर्फ लागौं । मलाई लाग्छ, शिक्षककालाई अन्य कोहीले अनादर गर्ने वातावरण यस्ता घटनाले धेरै बनाउने गर्दछन् । जुन ढंगले आफ्ना सहकर्मी साथीको त्रुटीलाई मानविय कमजोरी हो नभनेर तिललाई पहाड बनाउँदै नामै तोकेर फलानो शिक्षकलाई कपि परिक्षण गर्न दिने भए म आउँदिन भन्दै बदनाम गर्ने काम ति शिक्षकले गरे यसले आम शिक्षकका प्रतिको सम्मानमा चोट लाग्ने काम भएको छ । शिक्षकहरु नै भन्छन्, हामीलाई कार्यालयका सहयोगी समेत आदर गर्दैनन् । आफ्नै सहकर्मी जो योग्यता र दक्षताका हिसाबले समान छ, उसलाई केही जान्दैन झैं गरेर निचा देखाउने शिक्षकलाई अरु कसैले किन आदर गरोस् ।
कसैका प्रति आदरभाव जबरजस्त आउने होइन बरु अरुले आदर गर्ने वातावरण व्यक्ति स्वयमले निर्माण गर्ने हो, आफ्ना असल कर्र्मले । आफ्नो कर्तव्यबाट च्यूत हुँदा सम्मान र आदरको भागिदार हुने कुरै भएन । अरुको सम्मान नगर्ने ्गर्न नजान्ने तर आफुले सम्मान पाउने आशा गर्नु विष रोपेर अमृत प्राप्त गर्ने अभिलाषा राख्नु जस्तै हो । आफ्नो प्रतिष्ठा जोगाउन आफै लागि पर्ने हो, तिम्रो प्रतिष्ठा गिर्न लाग्यो म जोगाई दिन्छु भनेर कोही आउनेवाला छैन ।